स्वस्तिमाले छोडिन् ‘दाल भात तरकारी’, आँचल आइन्

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने फिल्म ‘दाल भात तरकारी’मा नायिका फेरबदल भएको छ । नायिका स्वस्तिमा खड्काको ठाउँमा उनकै समकालिन नायिका आँचल शर्मा अनुबन्धित भएकी छिन् ।

निर्माता किरण केसीले स्वस्तिमाको समय नमिल्दा आँचललाई फिल्ममा भित्र्याउनु परेको बताए । ‘हाम्रो सँगै स्वस्तिमाको अर्को फिल्मको छायाँकन सुरु हुने रहेछ । सल्लाहमै स्वस्तिमाले हाम्रो फिल्म नगरेकी हुन्, निर्माता केसीले भने, ‘त्यसपछि आँचललाई लिएका हौं ।’ ‘दाल भात तरकारी’को छायाँकन मंसिर १ गते देखि सुरु हुँदैछ भने यसको १ महिना पछी मात्रै स्वस्तिमा विकास आचार्यको फिल्म ‘हजार जुनी सम्म’ मा ब्यस्त हुँदैछिन् ।

तर श्रोतका अनुसार स्वस्तिमाले ‘दाल भात तरकारी’को स्क्रिप्ट पढेकी थिइन् । त्यसपछि उनले आफ्नो भूमिका दमदार नभएको भन्दै फिल्म नखेल्ने निर्णय टिमलाई सुनाएकी हुन् । यता स्वस्तिमालाई रिप्लेस गरेकी नायिका आँचल शर्माले भने ‘दाल भात तरकारी’मा आफुले पाएको भूमिका दमदार भएको दाबी गरिन् । ‘फिल्मको लिड हिरोइन म नै हुँ । भूमिका चित्त बुझेरै म खेल्न तयार भएको हुँ’, आँचलले भनिन्, फेरी सबै टिमको रोजाइमा पनि म नै रहेछु ।

तर ‘शत्रुगते’ चलेपछि आँचलले हुलमुलमा फिल्म नेखेल्ने भनेर अभिव्यक्ती दिएकी थिइन् । फेरी आँचल किन हुलमुलमै फिल्म खेल्न तयार भइन् त ? ‘मेरो भनाइलाई गलत अर्थ लगाइयो’, आँचलले स्पष्टिकरण दिइन्, ‘तीन वटा जति सोलो फिल्म खेल्न पाए राम्रो हुन्थ्यो भनेको थिएँ । हुलमुलमा फिल्म खेल्दिनं भनेको थिइँन।’ अर्को तर्फ लक्ष्मी पूजामा निर्माता किरण केसीले फिल्म खेल्ने प्रस्ताव गर्दा आफुले नकार्न नसकेको आँचलको भनाई छ ।

सुदन केसीले निर्देशन गर्ने फिल्म ‘दाल भात तरकारी’मा मह जोडी, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत र आँचल शर्माले अभिनय गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!