भारतलाई बराबरीमा रोकेका नेपालले म्यानमारलाई पनि रोक्यो

काठमाडौँ । महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आइतबार भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ।

म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो।

banner

यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ। नेपालका लागि खेल शुरुआती दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन्। म्यान्माको डिफेन्डर वाई वाई औङले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

त्यस्तै खेलको पहिलो हाफको १३औँ मिनेटमा नै म्यान्माकी खेलाडी खिन मो वाईले १ गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन्। यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि १–१ को बराबरी नै खेलेको थियो।

यस खेलसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ भने भारत र म्यान्माले समान ४÷४ अङ्क जोडेका छन्। बङ्गलादेश भने अङ्कविहीन रहेको छ। प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन्। ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन्। अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!