परिवारसहित म्याग्दीको तातोपानी कुण्डमा पुगे प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा पुगे । भारत, सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गर्न प्रचण्डसंगै पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री राम बहादुर थापा समेत उद्घाटन कार्यक्रम सकिएलगत्तै प्रचण्डसंगै एउटै गाडीमा कुण्ड तर्फ हानिए ।

पुर्व प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बादल समेत बहिनी ज्वाई सहित आफन्तसंगै कुण्डमा पुगे ।बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित विश्वमै विभिन्न रोगको उपचार केन्द्रको रुपमा परिचित कुण्ड सर्वसाधारणजस्तै भिआइपीको पनि उपचार केन्द्र बन्दै छ । नेपालका विभिन्न जिल्लाका साथै साक र एशिलायी राष्ट्रबाट समेत स्नान गर्न आउने कुण्डमा नेपालका ठुला राजनीतिक दलका प्रमुख तथा विभिन्न पदमा रहेका नेता, निजामति सेवाका विशिष्ट कर्मचारीले समेत आफ्नो रोग पखाल्न कुण्डमा आउने गरेका छन् ।

कुण्डमा हालसम्म नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खलान, नेकपाका नेता हाल रक्षामन्त्री इश्वर पोख्रेल, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा नेता एवम् हालका शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, नेकपाका पुराना नेता भरतमोहन अधिकारी,राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे लगाएत राजनीतिक दलका माथिल्लोस्तरका नेताहरु कुण्डमा आएर स्नान गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।

‘रोगले सताएपछि भिआइपीको रोजाईमा पनि कुण्ड पर्न थालेको छ,‘उहाँहरु आउँदा थप प्रचारप्रसार भएको छ’ शाक्यले भने ।उनले सरकारमै रहेको अवस्थामा कुण्डमा स्नान गर्न आएका मन्त्री र सचिवस्तरका कर्मचारीलाई कुण्डको समस्याका बारेमा जानकारी गराउने गरेको बताए ।‘यहाँका मागमा प्रतिबद्धता जनाएपनि पुरा भएका छैनन्,‘उपचारपछि उहाँहरु खुसी भएर फर्किनुभएको छ’अध्यक्ष शाक्यले भने।

कुण्डमा तत्कालिन एकिकृत नेकपा माओवादीका नेताहरु धेरै छन् । यूद्धमा शरीरमा गोली लागेका नेताहरु समेत सुटुक्क तातोपानीमा आउँछन् । केहीले आफ्नो परिचय समेत लुकाउने गरेको भएपनि नियमित स्नानले निको भएपछि उत्साहित हुदै आर्थिक सहयोग समेत गर्ने गरेको कुण्डक कर्मचारीको भनाई छ ।माओवादीका केन्द्रियस्तरका नेताहरुले समेत नसा, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको समस्या विभिन्न अस्पतालमा पुगेर उपचार गर्दा निको नभएपछि कुण्डमा पुगेर उपचार गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिका एक सदस्यले बताए ।

‘एकहप्तासम्म कुण्डमै बसेर फर्किने गरेका छन्,‘समान्य विरामीसंगै स्नान गर्छन’ कुण्डका सचिव कृष्ण खड्काले भने ।उनले ठुला अस्पतालमा उपचार गरेका र आर्थिक अभावले उपचारबाट बन्चित भएका विरामीको रोजाईमा रहेको कुण्डमा विशिष्ट पदमा रहेका नेताहरु समेत आउन थालेपछि तातोपानीबासी उत्साहित भएका बताए । कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्ड अहिले हजारौं विरामीको उपचार केन्द्र बनेको छ ।

म्याग्दी खोलाको किनारमा अवस्थित कुण्ड बर्खाको समयमा खोलाले बगर बनाउने गरेपनि स्स्थानीयले विहान बेलुकी स्नान गृहको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ । वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारले देशभरबाट विभिन्न रोगबाट ग्रसित २० हजारको हाराहराीमा विरामी तथा १५ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् । कुण्डको आम्दानी शिक्षा, स्वास्थ्य, सामाजिक तथा विकास निर्माणमा खर्च गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!