श्रीमान्को मृत्युमा आफन्तलाई भेट्न पाइन, सैनिकहरुले पटक पटक यातना दियो

कात्तिक २७, डोटी । कैलाली, घोडाघोडी नगरपालिका-८ दीपपुरकी शर्मिला थारु ३३ बर्षकी भइन् । आमाको गर्भमा हुँदै आफ्नो बिहेको कुरा छिनिएको उनले १४ बर्ष पुग्दामात्रै थाहा पाइन् । गर्भमा छँदै तय भएअनुसार उनले स्थानीय जीतवहादुर थारुसंग २०५६ सालमा विहे गरिन् ।

‘हाम्रो समुदायमा गर्भमै हुँदा छोराछोरीको बिहे तोकिन्छ,’ शर्मिलाले भनिन् ‘मेरो पनि त्यसैगरी बुवाले बिहे तय गरिदिनु भएको रहेछ, सोही अनुसार बिहे भयो ।’ बिहे भएको दुई बर्षमात्रै उनले आफ्नो जीवन साथीसंग जीवन बिताउन पाइन् ।

विहे हुँदा ७ कक्षामा पढ्दै थिइन् उनी । ‘म त पढ्न चाहन्थेँ, आमाले पनि स्कुल नछोड्नु भन्नुहुन्थ्यो’ शर्मिलाले भनिन् ‘तर सासु आमाले मान्नुभएन, अब पढाइ हुँदैन, घरको काम गर्नुपर्‍यो भन्नुभयो ।’

विहे भएको एक बर्षमै शर्मिलाले छोरी जन्माइन् । छोरी जन्मिए पनि सासु ससुराले माइतबाट दाइजो नल्याएको भन्दै यातना दिन थाले, त्यसपछि उनी छोरी बोकेर माइतीमा आइन् ।

उनलाई माइतमा पनि सुख भएन । सशस्त्र द्वन्द्वको समय थियो । सरकारपक्षले माओवादीको आरोप लगाउँदै मानसिक यातना दिन थाल्यो । ‘२०५८ साल माघ १ गते हामी माघी मनाइरहेका थियौं, सेना आएर आमा, म र मेरो नौ महिनाको छोरीलाई कुटपिट गर्‍यो’ त्यो दिन सम्झँदै शर्मिलाले भनिन् ।

सरकारपक्षको ज्यादती बढिरहेको थियो । २०५८ साल फागुन १९ गते उनका श्रीमान् जीतवहादुरलाई सैनिकले घरबाटै पक्राउ गरेर लगी हसुलियाको जंगलमा मार्‍यो । ‘जंगलमा लगेर मारेको खबर सुनेँ तर हामीले लास समेत हेर्न पाएनौं’ उनी भन्छिन् ‘अन्तिम पटक मुख हेर्ने धोको समेत पूरा भएन ।’

श्रीमान जीतबहादुर १० कक्षामा पढ्दैमा तत्कालीन सशस्त्र द्वन्द्वरत नेकपा माओवादीको भातृ संगठन अनेरास्वबियु (क्रान्तिकारी) मा आवद्ध भएको सरकारपक्षको आरोप थियो । श्रीमान्को मृत्युपछि पनि सैनिकहरुले शर्मिलालाई पटक पटक यातना दियो । विद्रोही माओवादीले पनि उनलाई युद्धमा हिड्न दवाव दियो । ‘मैले श्रीमान्को मृत्युको बेलासमेत आफ्नो पीडा पोख्न आफन्तलाई भेट्न पाइन’ शर्मिला भन्छिन् ‘छोरीको मायाले मलाई जीउन सिकायो ।’

द्वन्द्वको समाप्तीसंगै शर्मिलाले फेरी औपचारिक शिक्षा लिन सुरु गरिन् । ‘श्रीमान्को मृत्युपछि सासु, ससुरा र छोरीलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्यो’ उनी भन्छिन् ‘एसएलसी पास गरेपछि त कुनै न कुनै नोकरी पाइएला कि भन्ने सोचेर फेरि पढाई सुरु गरेँ ।’

उनको निर्णयमा सासुआमाले पनि साथ दिइन् । उनी थप्छिन् ‘समस्याले सबै कुरा सिकाउँदो रहेछ, मेरो पढाइ गर्ने निर्णय पनि समस्याले सिर्जना गरेको बाध्यता थियो ।’ २०६४ सालमा कक्षा ८ मा भर्ना भएकी शर्मिला अहिले ग्रामिण विकास बिषयमा स्नातकोत्तर तह प्रथम बर्षमा अध्ययनरत छिन् । उनी स्थानीय एक निजी विद्यालयमा पढाउँछिन् ।

शर्मिलाले अहिले छोरी सुजातालाई प्राविधिक शिक्षा पढाउँदैछन् ।

शर्मिला आफू र परिवारमाथि भएको हिंसाको सत्य निरुपण होस् भन्ने चाहन्छिन् । उनी प्रश्न गर्छिन् ‘न म माओवादी थिएँ, न मेरो श्रीमान् वा परिवारका अन्य कुनै सदस्य माओवादी थिए, तर पनि किन मलाई यातना दिइयो, किन मेरो श्रीमान्को हत्या गरियो ?’ उनी आफूलाई न्याय चाहिएको बताउँछिन् ।

न्यायका निम्ति उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरीसमेत दिएकी छिन् तर उनले त्यहाँबाट पनि न्याय पाउन सकेकी छैनन् । उनले न्याय पाउने आश भने मारिसकेकी छैनन् तर जति जति ढिला हुँदैछ, त्यति नै उनलाई संका भने बढ्दै गएको छ ।

उनी द्वन्द्व पीडितको नाममा नक्कली द्वन्द्व पीडितले फाइदा लिइरहेको बताउँछिन् । शर्मिला भन्छिन् ‘कतै नक्कली द्वन्द्व पीडितहरुले फाइदा लिइरहँदा हामी वास्तविक द्वन्द्व पीडितहरुको पालो आउँदैन कि भन्ने चिन्ता छ ।’ अनलाईनखबरबाट साभार

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!