पहिलो विश्वयुद्धको समापन भएको सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरियो

हिजो ११ नोभेम्बरमा विश्वभर र खासगरी युरोपमा पहिलो विश्वयुद्धको समापन भएको सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरिए । युरोपेली साम्राज्यवादी शक्ति र पछि थपिएका जापान र संयुक्त राज्य अमेरिका यस युद्धका मुख्य सहभागी थिए । विश्वलाई जित्नेहरूले भागबन्डा गरेर सकिएको सो विश्वयुद्ध सन् १९१४ को जुलाई २८ मा सुरु भएर झन्डै साढे चार वर्ष चलेको थियो ।

युद्ध जित्नेहरूले थोपरेका सर्तले मर्माहत भएको जर्मन राष्ट्रवादको पुनः जगजगी सुरु भयो र सन् १९३९ मा दोस्रो विश्वयुद्ध आरम्भ भयो । यसरी पहिलो विश्वयुद्ध आफैँमा दोस्रो विश्वयुद्धको कारण बनेर सकिएको थियो । करोडौँ मानिस प्रभावित भएको सो महासंग्राम सकिएको सय वर्ष पुगेको सन्दर्भमा पेरिसमा आयोजित स्मृतिसभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केललगायत नेता जम्मा भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फ्रेन्च राष्ट्रपति म्याक्रोंले युद्ध सकिएको सय वर्ष पुगे पनि यतिवेला युद्ध पक्षधर तत्वहरू सल्बलाइरहेको भन्दै सबैलाई सतर्क रहन आह्वान गरेका थिए । उनको भनाइ डोनाल्ड ट्रम्पदेखि युरोपेली लोकप्रियतावादी दक्षिणपन्थी पार्टीप्रति लक्षित थियो । प्रथम साम्राज्यवादी महासंग्राम उपनिवेशको बाँडफाँड र विश्व बजार कब्जा गर्ने उद्देश्यले पुँजीवादी घरानाबीच भएको नरसंहारकारी युद्ध थियो ।

प्रथम साम्राज्यवादी महासंग्राम उपनिवेशको बाँडफाँड र विश्व बजार कब्जा गर्ने उद्देश्यले पुँजीवादी घरानाबीच भएको नरसंहारकारी युद्ध थियो

विश्वका मुख्य सबै शक्तिराष्ट्र सामेल भएको सो युद्धपछि विश्वमा भएको भयानक आर्थिक मन्दीले विश्वबाट लेसेज फेयर पुँजीवादले झन्डै बिदा लियो र पुँजीवादी बजारलाई राज्यले नियमन गर्ने तथा कल्याणकारी कार्यक्रममार्फत प्रभावकारी मागको अवस्था कायम राख्ने विचारले पुँजीवादी देशलाई नयाँ दिशा दियो । उता त्यही युद्धका कारण कमजोर भएको रसियाली सत्तालाई प्रहार गरेर बोल्सेभिकले सत्ता हातमा लिए र सोभियत समाजवादी गणतन्त्र स्थापना गरे ।

सोभियत समाजवाद विश्वमा साम्यवादी राज्यप्रणालीको विस्तार र साम्यवादी क्रान्तिको जननी मानिन्छ, जसले सिंगो बीसौँ शताब्दीलाई साम्यवादी र गैरसाम्यवादी खेमामा विभाजित गर्‍यो ।
प्रथम विश्वयुद्धको समयमा नेपालमा श्री ३ महाराज चन्द्रशमशेर प्रधानमन्त्री थिए । नेपाल प्रत्यक्ष युद्धमा सामेल भएको पनि थिएन र कुनै गठबन्धनमा पनि थिएन । तर, चन्द्रशमशेरले विश्वयुद्धलाई अंग्रेजलाई खुसी पार्ने अवसरका रूपमा लिए । उनले ब्रिटिस गोर्खा रेजिमेन्ट्समा गोर्खाको रिक्रुटमेन्ट्सको संख्या बढाउन अंग्रेजलाई प्रोत्साहित गरे ।

नेपाली सेनालाई पनि ब्रिटिस इन्डियालाई सहयोग गर्न सामेल गराए तथा आर्थिक तथा लजिस्टिक सहयोगसमेत उपलब्ध गराए । यसले त्यतिवेलाको नेपालका खासगरी मगर, गुरुङ, क्षेत्री, राई र लिम्बूको जनसख्ंयाको ठूलो हिस्सालाई युद्धमा सामेल गरायो । झन्डै दुई लाखको संख्यामा गोर्खाले मध्यपूर्व र युरोपका मोर्चामा लडेका थिए । कतिसम्म भने युद्धका कारण नेपालको जनसंख्या पनि घटेको थियो । युद्धपछिका वर्षमा राणा प्रधानमन्त्रीले वार्षिक १० लाख पाउन्ड आर्थिक सलामी पाउन थालेका थिए । युद्धमा सामेल भएका गोर्खाले ल्याएको विप्रेषणले नेपालको अर्थतन्त्रलाई पुँजीवादीकरण गर्न उल्लेख्य योगदान गरेको थियो ।

सँगै सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिपछि पहिलोपटक बेलायतले नेपाललाई सार्वभौमसत्ता सम्पन्न देशका रूपमा मान्यता दिएको थियो । यसैगरी विश्वयुद्धको खैलाबैलाबीच व्यापक बनेको उपनिवेशविरोधी स्वतन्त्रता आन्दोलनको प्रभाव नेपालमा पनि प्रजातान्त्रिक आन्दोलनको सन्देश लिएर प्रवेश गरेको थियो, जसले आधुनिक नेपालको राजनीतिक जग निर्माण गरेको थियो । जे कारणले भएको होस्, या समाप्त भएको होस् अब त्यस्तो नरसंहारकारी युद्ध कहिल्यै नहोस् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!