घुस माग्नेहरुको नाम सार्वजनिक गरेर ‘मि टु’ अभियान

काम सजिलो हुन्छ भने २/४ पैसा खुवाउनुलाई कसैले पनि ठुलो कुरा नै मान्दैनन् हाम्रो नेपालमा । नेता र कर्मचारीहरु चाँही अमेरिका, बेलायत, जापान, कोरियाका जस्ता चाहिने अनि जनता चाँही यस्तै ?

नेता गतिलो चाहिनेले आँफु पनि गतिलो हुन जरुरी छ । यसो चिया पानी भन्दै, लाग्दै नलाग्ने दस्तुर तिर्न तयार जनताले पाउने नेता पनि, कर्मचारी पनि यस्तै हुन, यिनै हुन् । एउटा सानो बालक आफ्नो बाबु आमाले सजिलै पैसा खुवाएर छिटो छिटो काम बनाएको देखर हुर्कन्छ ।

अर्थात घुस खुवाउनु भनेको खासै ठुलो कुरो होइन । २/४ हजार दिएर सजिलै काम बन्छ भने कसले झण्झट गर्छ ? भन्ने सोचले जरा गाडेको छ भने तपाईलाई यो मुलुकमा परिर्वतन चाहिदैन, बेकारमा गफ नलगाउनुस् । १० मिनेट कुर्नुभन्दा १० हजार घुस खुवाउने तपाई जस्तै बेइमानीले गर्दा यो देश बहुत पछि परेको हो र यो पनि लेखेर राख्नुस कि जबसम्म देशका हरेक तह र तहका मानिसहरु गच्छे अनुसार करोडदेखि एक कप चियासम्म खुवाउन तयार रहन्छन् तबसम्म यो देश कुनै ओली, दाहाल, देउवाले त के थापा, शर्मा, अधिकारी, ठाकुर, यादव, सिंह, भट्राई, भुषाल, लिङदेन, मिश्रले पनि बनाउन सक्दैनन् ।

आफु बेइमानी बनेर इमान जमान भएको नेता कर्मचारी खोज्नुको के अर्थ ? आम सर्वसाधरण दर्शकहरुलाई एउटा सुझाब दिन चाहान्छु, कुनै पनि कार्यालयमा कर्मचारीले वा बिचौलियले पैसा माग्यो वा यसो चिया पानि भन्यो भने एकै पटक ठुलो स्वरमा कराइदिनुहोस् र सबैले सुन्ने गरी कसले कति पैसा केका लागि माग्यो त्यो, स्पष्ट हुने गरी भनिदिनुहोस्, त्यो पनि ठुलो ठुलो स्वरमा ।
यति गर्न सक्नु हुन्न भने यो देशमा परिर्वतन तपाइलाई भएपनि हुन्छ नभएपनि हुन्छ । जनस्तरबाट भ्रष्टाचारको विरोध र रोकथाम हुँदैन भने राजनीतिज्ञहरु बाट यो सम्भव छैन । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले आज गजवको लेख लेख्नु भएको छ ।

घुस माग्नेहरुको नाम सार्वजनिक गरेर मि टु अभियान थाले, भ्रष्ट्राचार उन्मुलनमा नयाँ प्रयास हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्कीको आईडियामा म त सय प्रतिशत सहमत छु र केही थप्न पनि चाहन्छु । जसरी मिटु अभियानले वर्षौ अघि यौन हिंसा गरेकाहरुको नाम सार्वजनिक हुँदैछ त्यस्तै वर्षौ अघिदेखि आजसम्म तपाईले को कसलाई कति कति घुस खुवाउनु प¥यो त्यसबारे लेख्न वा बोल्न सुुरु गर्नुहोस् ।

मलाई लाग्छ यो त गज्जब आइडिया हो । आउनुहोस्, एउटा इमान्दार कोशिस तपाई हामी मिलेर गरौं । अमेरिकाले शुरु गरेको अभियान जब विश्व भरबाट नेपालमा आउन सक्छ भने नेपालले चलाएको भ्रष्टाचार विरोधी अभियान विश्वमा फैलन सक्दैन भन्ने छैन ।
सामाजिक सञ्जालको प्रभाव संसार भर छ त्यसैले आउनुहोस् हामी पनि मिटु भने जस्तै ‘#म पनि’ अभियान चलाआँै । ‘#म पनि’ भनेर तपाईले कुन कार्यालयमा कसलाई कति घुस खुवाउनु परेको थियो भन्ने कुरा लेख्न सुरु गर्नुहोस् । सम्झिन सक्नु हुन्छ भने र केहि प्रमाण छन् भने सम्बन्धित कर्मचारीको नाम नै लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्नुहोस् ।

हैन भने कुन कार्यालय हो त्यो चाँही स्पष्ट पार्नुहोस् ताकी यो मुलुककको सबै भन्दा भ्रष्ट कार्यालय कुन मन्त्रालयको कुन विभाग अन्तर्गतको रहेछ भन्ने सबलाई थाहा होस् । आउनुहोस देशैभरबाट ‘#म पनि’ क्याम्पेनलाई सञ्चालन गरौँ ।

हुन त घुस दिनु पनि अपराध नै हो र घुस दिनुले हामीलाई गलत मान्छे बनाइसकेको छ । यो देश घुस लिनेहरुले मात्र हरिकंगाल बनाएका होइनन् घुस दिने तपाई हामी जस्ता सर्वसाधारणले पनि जानेर नजानेर साथ दिएका हौँ । तर घुस दिएर अपराध गरि सकेपछि कमसेकम प्रायश्चित त गरौँ ।

यदि सजाएको भागिदार हुुनु पर्छ भने सजाय भोग्न पनि तयार हौँ । घुस दिने तपाई हामी चाही असल र घुस खाने नेता कर्मचारी मात्र खराब हुनै सक्दैन । त्यसैले आउनुहोस्, खुलेर विगतमा दिएको घुसको बारेमा चर्चा गरौँ । म यसको शुरुवात आँफैबाट गर्न चाहान्छु ।
‘#म पनि’, २०५७ सालमा मैले आफ्ना नेपालीमा लेखिएका डकुमेन्टलाई अंग्रेजीमा उल्था गरी प्रमाणीत गर्न त्यतीबेला बबरमहल काठमाडौंमा रहेको किताब खानाका कर्मचारीलाई घुस खुवाएको छु । भोली पल्ट नै चाहिने अति आवश्यक ति कागजहरुको उल्था प्रमाणित गर्न कर्मचारीलले विचौलिया मार्फत घुस मागेपछि मैले बाध्य भएर पैसा दिएको थिए ।

कति पैसा म सम्झिन सक्दिन किन कि यो २०५७ सालको कुरा हो तर म बाट भएको यो अपराधका लागि म दण्ड भोग्न तयार छु । र फेरी पनि भन्छु ‘#म पनि’ । किताब खाना बबरमहलमा मसँग कर्मचारीले घुस लिए । यो मेरो स्टोरी हो, यसै गरी म तपाईहरुको स्टोरी थाहा पाउन चाहान्छु र ‘#म पनि’ क्याम्पेनलाई सफल पारिदिनु हुन अनुरोध पनि गर्दछु ।

यौन अपराधको विरुद्धमा मिटु संचालन भए जस्तै भ्रष्टाचार र घुसखोरी विरुद्ध म पनि अभियान नेपालमा चाही नम्बर एक टे«न्डीङमा आओस । राम्रो कामको नक्कल गर्न वा भनौ कपि गर्न लाज मान्नु हुँदैन । ‘#म पनि’ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!