सुत्केरीलाई सहज : धादिङको थाक्रेका महिला समूहले किने एम्बुलेन्स

सरिता श्रेष्ठ/धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसी बजारमा रहेको उज्यालो भविष्य महिला समूहले एम्बुलेन्स किनेर गाउँलेलाई सेवा दिएका छन् ।

समूह संचालन मार्फत संकलन रकम र महोत्सव संचालनबाट उठेको रकमले एम्बुलेन्स किनेका हुन् । साढे ११ लाखको लागतमा किनेको एम्बुलेन्स थाक्रे गाउँपालिकाभरीका स्थानीयलाई सर्वसूलभ तथा केही छुटमा सेवा प्रदान गरिने उज्यालो भविष्य महिला समूहका अध्यक्ष गगा लामाले बताइन् । गाउँका मान्छे विरामी हुदा एम्बुलेन्स अभावमा अकालमा नै ज्यान गुमाउन परेको घटना सम्झदै लामाले महिला दिदीबहिनीको स्वास्थ्यलाई ध्यान राख्दै सेवा प्रदान गरिएको बताइन् ।

घरमा प्रसुति गराउन नसकेको र अस्पतालसम्म लैजानका लागि गाउँमा युवावर्ग नहुदाँ धेरै गर्भवती महिलाहरुले ज्यान गुमाउनु परेको समूहका अध्यक्ष गगा लामाले बताइन् । ‘प्रसुति पीडाबाट धेरै महिलाहरु पीडित हुनु भएको हामी कहिल्यै बिर्सन सक्दैनौँ’ लामाले भनिन् ‘समूहमा आबद्ध महिलाहरु मिलेर एम्बुलेन्स सेवा संचालन गरेका छौँ ।’ समूहले एम्बुलेन्स किनेपछि महिलाहरुलाई मात्र होइन गाउँपालिका भरीका स्थानीयलाई सहज हुने लामाले बताइन् । एम्बुलेन्स किन्नका लागि तिहारमा भलौ, मेला, महोत्सव तथा सदस्यहरुबाट पनि संकलन गरिएको थियो ।

वर्षौदेखि गाउँमा एम्बुलेन्स कुदाउने सपना देखेका महिलाहरुको सपना पूरा भएको छ । एम्बुलेन्स आएपछि विपद्को साथी भन्दै आकस्मिक उपचारका लागि अस्पताल जान सजिलो हुने भएपछि स्थानीय खुसी भएका छन् । गाउँमै एम्बुलेन्स सेवा भएपछि गम्भीर किसिमको उपचार गर्नका लागि काठमाडौँ, भरतपुर लगायतका ठाउँमा रहेका अस्पतालमा पुग्न सजिलो भएको छ । ‘गाउँकै एम्बुलेन्स सेवा भएपछि गाउँका बिरामीलाई छिट्टै अस्पताल पु¥याउन सजिलो हुने भएको छ ।’ लामाले भनिन् ‘अब महिलाहरु सुत्केरी हुदाँ र गाउँका कोही बिरामी पर्दा धेरै सजिलो भएको छ ।’

दुई वर्ष अघिबाट सुरु गरिएको समूहमा अहिले चार सय जना महिलाहरु आबद्ध छन् । सामान्य लेखपढ समेत गर्न नजान्ने महिलाहरु अहिले जन्मदर्ता, नागरिकता बनाउने लगायतका विषयमा पोख्त भइसकेका छन् । गाउँका विकास निर्माणका कार्य तथा जनचेतना जोगाउने कार्यमा सधै अगाडि छन् । एम्बुलेन्समा अक्सिजनसहितको सिलिण्डर, विभिन्न प्रकारका औषधीहरु रहेको एम्बुलेन्सका चालक रामशरण थापाले बताए ।पाविल न्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!