‘सम्हालिन्छ कहिले मन’का लागि पूजाले लिइन् १५ लाख पारिश्रमिक !

नेपाली चलचित्रमा नायिकाले पनि महंगो पारिश्रमिकका साथ काम गर्न थालेका छन् । केही दिनअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिका पूजा शर्माले १५ लाख लिएर फिल्ममा साइन गरेकी छन् ।

साम्राज्ञीले निर्मात्री पूनम गौतमको चलचित्रका १५ लाख पारिश्रमिक लिएकी थिइन् । यता पूजाले भने सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ का लागि सो रकम लिएकी हुन् ।

सधैं आफ्नो ब्यानरमा मात्र काम गर्ने पूजाले यसपटक भने एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका लागि १५ लाख लिएकी हुन् । माघबाट छायांकनमा जाने यस चलचित्रका लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र सुगम पोखरेलले संगीत दिएका छन् ।

यस फिल्ममा पूजाका साथमा नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ भने एक जना नायकको खोजी भइरहेको निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!