झापामा भएको सवारी दुर्घटना :दुई जनाको मृत्यु

बिर्तामोड : बुधबार झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा झापा बिर्तामोड-३ का २७ वर्षीय मञ्जुल बराइली र झापा मेचीनगर-१० का २४ वर्षीय युवराज खत्री रहेका छन् । उनीहरु दुबै जना चालक हुन् । मेचीनगर-१२ स्थित कालीझोडामा सो सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए।

मोटरसाइकलको पछाडि सवार काठमाडौँ जडीबुटी बस्ने २८ वर्षीया सुविसा गुरुङ गम्भीर घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!