देउवाले दिएको १० लाख कार्यकर्ताले खाइदिए

आलीताल (डडेल्धुरा), ६ मंसिर– झण्डै चालीस वर्ष पहिला पञ्चायती व्यवस्थाताका समयमा सुरु भएको बुडर–जोगबुढा हुँदै कञ्चनपुरको दैजी जोड्ने सडक । सडकबाट करीव आधा घण्टाको दुरीमा रहेको बान्नेगडा गाँउ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको आलीताल गाउँपलिकामा पर्ने यो गाउँलाई चिनाउने माध्यम हो यहाँको गरिबी र पछौटेपन । मुलुकमा भएका साना–ठूला परिवर्तनमा अरुको जस्तै यो गाउँको पनि योगदान छ । तर यहाँ चुनाव मात्रै आउँछ । नारा मात्रै लाग्छन् । विकास र परिवर्तन हुँदैन ।

नेताहरुले दिने आश्वासन र भाषण सुनेर यहाँका जनताका कान पाकिसकेका छन् । तर विकासका नाममा यहाँ कसैले गोरेटो बाटो समेत खनेका छैनन् ।

आलिताल गाँउपालिका–७ मा पर्ने यो गाँउमा दुई वर्ष पहिले बिजुली आउने भनियो । केही पोल गाडियो । तार पनि तानियो । तर बिजुली बाल्ने यहाँका जनताको रहर रहरमै सीमित छ ।

आलितालको घरेलुबाट बान्नेगडा हुँदै थली गाँउ भएर परशुराम नगरपालीकाको ११ मा पर्ने सलेतागाँउ जोड्ने भनेर सडक खनिने हल्ला चल्यो । त्यसमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको संसद विकास कोषबाट १० लाख रुपैयाँ खर्च गरिएको भनियो । तर सडकको नाममा ‘एक चाल’ पनि खनिएन ।

त्यो १० लाख रुपैयाँ सबै खर्च गरियो या केही बाँकी पनि छ, जनतालाई थाहा छैन । थाहा पाउन खोज्दा जान्ने–मान्नले बताउँदैनन् । स्थानीय भन्छन् उक्त पैंसा देउवाकै कार्यकर्ताले दारु–मासु खाएर सकिदिए ।

‘स्थानीय निर्वाचनका बेला भोट तान्नका लागि दुईपटक स्काभेटर आएको थाहा छ,’ स्थानीय जयबहादुर बिष्ट भन्छन्, ‘चुनाव सकिएपछि स्काभेर फिर्ता भयो । अहिलेसम्म कोही आएको छैन ।’

आलीताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङ विजयी भए । जिल्लाका कहलिएका ठकेकेदार (निर्माण व्यवसायी) को परिचय बनाएका उनले भोट माग्दा सडक विस्तारलाई प्रमुख नारा बनाएका थिए । तर चुनाव जितेपछि भने उनी गाउँ फर्केका छैनन् ।

‘चुनावको बेला ठूला ठूला कुरा गरे । सडक खन्ने, खानीपानीको व्यवस्था गर्ने भने,’ स्थानीय रघुनाथ जोशी भन्छन्, ‘चुनाव जितेपछि भने कसैको मुख देख्न पाइएको छैन । अब आउने चुनावमा पनि यस्तै हुने त होला ।’

आलीताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्टी झिनो मतान्तरले पराजित भएका थिए । गाउँपालिकामा प्रतिपक्षको भूमिका निर्वाह गर्लान् भनेर आश गरिएका पार्की पनि अहिले कांग्रेसी भइसकेका छन् । गत आइतवार मात्रै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको हातबाट टीका लगाएर पार्कीले कांग्रेसको सदस्यता लिए ।

यसअघि जोगबुढाको काठ काण्डले चर्चा र विवादमा आएका पार्की बान्नेगडाकै बासिन्दा हुन् । तर गाउँको विकासका लागि पार्कीले अहिलेसम्म केही नगरेको उनकै सहपाठी बताउँछन् ।

यस्तो अवस्था बान्नेगडाको मात्र हैन, समग्र आलीताल गाउँपालिकाको हालत पनि यस्तै छ । बर्षातमा आउने बाढीले यहाँका जनताले वर्षेनी खेतबारी गुमाउनुपर्ने अवस्था छ ।

२०५७ सालमा आएको विनाशकारी बाढीसंगै आलीताल–७ भालुखोला गाँउ पसेपछि आधा गाँउ विस्थापित भएको थियो । अहिले पनि हरेक वर्ष भालुखोलाले घरखेत बगाउँदै लगेको छ । खोलामा तटबन्ध बनाइदिन भन्दै यहाँका जनताले पटक पटक आग्रह नगरेका होइनन् । तर उनीहरुको आग्रह सुन्ने फुर्सद नेतालाई छैन ।

चुनावका बेला जारी गरिने प्रतिबद्धता पत्रमा यहाँका सबै खोलामा तटबन्ध बनिसकेका हुन्छन् । तर चुनाव जितेपछि यहाँ फर्किन कसैको फुर्सद हुँदैन ।

डडेल्धुराको चुनावी अंकगणितमा आलीतालको मत सधैं निर्णायक हुँदै आएको छ । तर यहाँको विकासमा न त अहिलेसम्म लगातार चुनाव जित्दै आएका कांग्रेस सभापति देउवाको ध्यान गएको छ न त अरु दलका नेताको नै ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!