हाच्छिउँ झार –पिनासदेखि प्यारालाइसिस सम्मलाई फाइदा

लोचन आचार्य

परिचय
तराई–मधेसका बासिन्दाको लागी हाच्छिउँ झार नौलो वनस्पति होइन । नदी किनाराको चिसो ठाउँमा यो वर्षभरी नै फल्छ र फुल्छ । यो एउटा जमिनमा फैलिने सानो झार हो । यसको पात ०.३–०.७ इन्च लामो र हेर्दा दाँतझैं दन्तुर भइ निस्केको हुन्छ । यसको फूल छोटो प्रायः गोलाकार, ०.१–०.१२ इन्चको हुन्छ।

वैज्ञानिक तथा अन्य नाम

हाच्छिउँ झारको नामबाट Centipeda minima(Linn.) A. Br. & Aschers को ग्रहण गर्नु पर्छ । यसलाई संस्कृतमा क्षवक, छिक्किका, तीक्ष्णा, घ्राण दुःखदा भनिन्छ भने भारतमा नकछिकनी भन्ने प्रचलन छ । अंग्रेजीमा यसलाई Sneeze-wort भनिन्छ ।

आयुर्वेदमा हाच्छिउँ झार

यो झारको विषयमा आयुर्वेदका प्रमुख ३ ग्रन्थ चरक संहिता, सुश्रुत संहिता तथा अष्टाङ्गहृदय (जसलाई बृहतत्रयी पनि भनिन्छ) मा प्रशस्त मात्रमा उल्लेख गरिएको छ । यस बाहेक आयुर्वेदका अन्य थुप्रै ऐतिहासिक ग्रन्थ–कोशहरूमा समेत यो झारको यथेष्टउल्लेख गरिएको छ ।

अर्का प्रकाश (ई.पू. २६००), सौश्रुतनिघण्टु (ई.सं. ५ औं शताब्दी), अष्टाङ्गनिघण्टु (ई.सं. ८ औं शताब्दी), सिद्धसार निघण्टु (ई.सं. ९ औं शताब्दी), ई.सं. १० औं शताब्दीमा रचित मदना दिनिघण्टु र धन्वन्तरिनिघण्टु, ई.सं. ११ औं शताब्दीमा रचित चन्द्रनिघण्टु र चक्रदत्त, सोढलनिघण्टु (ई.सं. १२ औं शताब्दी), ई.सं. १३ औं शताब्दीमा रचित अभिधान रत्नमाला, हृदय दीपकनिघण्टु, मदनपालनिघण्टु, ई.सं. १५ औं शताब्दीमा रचित कैयादेव निघण्टु, राज–निघण्टु, ई.सं. १६ औं शताब्दीमा रचित भावप्रकाश निघण्टु, शिवकोष तथा ई.सं. १९ औं शताब्दीमा रचित अभिनवनिघण्टु, शङ्करनिघण्टु, अभिधानमञ्जरी, शालिग्रामनिघण्टु र नेपालीनिघण्टुमा समेत हाच्छिउँझारको बारेमा व्याख्या गरिएको पाईन्छ।

यसको प्रयोग

मुख्यतः यसलाई सुँघ्दा हाच्छिउँको उत्पत्ति हुन्छ । आयुर्वेदका विभिन्न संहिताहरूको अध्ययन पश्चात् यो झारलाई प्रमुखतः निम्न रोगहरूमा प्रयोग गर्न सकिने बताईएको पाईन्छ।

१. पिनास

२. शिरःशूल (टाउको दुखाई)

३. दन्तशूल (दाँतको दुखाई)

४. दाद लगायत छालाको रोग

५. वातरक्त (गठियावात)

६. पक्षाघात (प्यारालाइसिस)

७. अरुचि

८. प्लिहावृद्धि (स्पलीनोमेगाली)

९. कुष्ठरोग

१०. कृमी रोग (जीवाणुजन्य रोगहरू)

प्रयोग विधि

यसको प्रयोज्य अंग बिउ हो र यसलाई रोग हेरेर लेप, काढा वा धुलो बनाई १–३ ग्रामसम्म प्रयोग गर्न सकिन्छ । यसलाई धेरै समयसम्म सुँघ्यो भने नाक भित्रशोथ उत्पन्न गराउन सक्छ। आयुर्वेद चिकित्सकको सल्लाह बिनाप्रयोग गर्नु हुँदैन ।

 

लोचन आचार्य 
लोचन आचार्य

अनुसन्धानहरू

झन्डै ३ हजार पुरानो आयुर्वेदका ग्रन्थहरूमा बताईएको हाच्छिउँझारको वैज्ञानिक अध्ययन भने सन् १९९० को दशकदेखि मात्र हुन थालिएको देखिन्छ । विभिन्न अध्ययनहरूले आयुर्वेदमा पुर्वोक्त बताईएका फाईदाहरू माथि थप वैज्ञानिक आधारको निर्धारण गरीदिएका छन् ।

विशेषतः विभिन्न ग्रन्थहरूमा यो झारको कर्म कृमीघ्न बताईएको छ, अर्थात् यसले जीवाणुहरूलाई मार्छ । अनुसन्धानहरूले पनि यो झारले विभिन्न १० परिवारका ब्याक्टेरियाहरू, पेटमाहुने जुकाहरूलाई मार्न सक्ने क्षमताभएको पुष्टि गरेका छन् । पछिल्लो ५ वर्षमा यो जडिबुटीमाथि भएका अनुसन्धानहरूले यो झारबाट निकालिएको रासायनिक पदार्थबाट प्रोस्टेट तथा नाकका कोषहरुमा हुने कार्सीनोमा (carcinoma) समेत नष्ट गरेको दावी गरेका छन्। यद्यपि मानिस माथि यसको परिक्षण हुन बाँकी नै छ।

निस्कर्ष

हाच्छिउँ झार सजिलै प्राप्त गर्न सकिने तथा विभिन्न गुणयुक्त जडिबुटी हो। यसको क्षमता तथा फाईदाहरू बारे आयुर्वेदका ग्रन्थ मात्र नभई पश्चिमी अनुसन्धानहरूले पनि पुष्टि गर्दै आएको पाईन्छ । नेपालमा यसको प्रयोग गाउँघरमा परम्परागत किसिमले हुँदै आएता पनि आयुर्वेद चिकित्सकहरूले यसलाई कमै सिफारिस गरेको देखिन्छ । यसबाट औषधिको निर्माण तथा उत्पादन नभएको देखिन्छ, त्यसैले यो एउटा सम्भावना युक्त जडिबुटी हुन सक्छ।

आचार्य आयुर्वेद क्याम्पस कीर्तिपुरमा बी.ए.एम.एस.अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!