टुहुराको सहारा टुहुरै : मन मिल्यो, माया बस्यो , बिहे भयो !

रौतहट — गरुडा–४ स्थित बंशिराम जैसवाल अनाथालयका २३ वर्षीया गायत्री देवीलाई आफ्नो थर के हो भन्ने थाहा छैन । घरको समेत अत्तोपत्तो छैन । बुवाआमा कहाँ छन् थाहा छैन ।

रौतहटको गरुडा नगरपालिका– ४ स्थित बंशिलाल जैसवाल अनाथालयमा हृदय र गायत्री आफ्ना सन्तानको साथमा । तस्बिर : शिव/कान्तिपुर

तर उनले सहारा पाएका छिन् । अनाथालयकै २६ वर्षीय हृदयलाल कुशवाहसित उनको विवाह भएको छ । हृदय पनि टुहुरा हुन् ।

दुई वर्षको उमेरमै आमाले गायत्रीलाई अनाथालयमा ल्याएर छाडेकी थिइन् । त्यहाँ हृदय पनि थिए । ‘मन मिल्यो । माया बस्यो । बिहे भयो,’ गायत्रीले भनिन्, ‘सहारा मिलेको छ । यो भगवानको गिफ्ट हो ।’ गायत्रीलाई आफ्नो थर समेत थाहा छैन । आमाको नाम के हो भन्नै सक्दिनन् ।

उनलाई अनाथालयमा ल्याउँदा आमाको शरीरभरि घाउ थियो । ‘गाउँलेले बोक्सीको आरोप लगाएर भालाले शरीरमा घोपेको रहेछ,’ गायत्रीका श्रीमान् हृदयले भने, ‘शरीरको घाउबाट पछि क्यान्सर लागेर मृत्यु भयो ।’ गायत्रीको गाउँ कहाँ हो भन्ने कसैलाई थाहा छैन । सानैदेखि टुहुरा भए पनि अहिले सहारा पाएकोमा उनी मख्ख छिन् ।

यता हृदयको पनि आमा सावित्री र बुवा महन्थ कुशवाहको मृत्युपछि उनी टुहुरा भए । सर्लाहीको बरथहवा घर भएका उनलाई टुहुरा भएपछि गाउँकै पण्डित ध्रुवनारायणले अनाथालयमा ल्याएर छाडेका थिए । उनी अनाथालयमा १२ वर्षको उमेर देखि आश्रय लिई बसेका थिए । हृदय र गायत्रीको २०७१ सालमा अनाथालयमै विवाह भएको थियो ।

उनीहरूका दुई सन्तान छन् । गायत्री १० कक्षा पास गरेकी छन् । हृदयले भारतको देहरादुनबाट सन् २००९ मा पोली इन्जिनियर गरेका छन् । त्यहाँ ४० हजार महिनाको जागिर छाडेर उनी अनाथालय फर्केका हुन् । अनाथालयका संस्थापक बंशिलाल जैसवालको स्वास्थ्य अवस्था ठीक नभएपछि उनलाई बोलाइएको हो ।

राम्रो जागिर छाडेर आएको उनले सुनाए । त्यहाँबाट आएपछि उनले गायत्रीसित विवाह गरेका हुन् । गायत्रीको थर के हो भन्ने पनि मलाई थाहा छैन, हृदय भन्छन्, ‘म आफैं टुहुरो हँु । मैले टुहुरालाई साथ दिएको हुँ । हाम्रो जीवन अनाथालयमै बित्छ ।’ २०५२ सालमा अनाथालयको स्थापना भएको हो ।

घर परिवार, करोडौंको सम्पत्ति त्यागेर स्थानीय समाजसेवी ८१ वर्षीय जैसवालले अनाथालय खोलेका हुन् । उनी निकै बृद्ध भएपछि हृदयले रेखदेख सुरु गरेका छन् । यहाँ २४ बालक र ६ बालिका छन् । अनाथालयभित्र २०५७ सालदेखि सामुदायिक विद्यालय सञ्चालनमा छ । यही विद्यालयमा उनीहरूलाई शिक्षा दिइन्छ । हृदय र गायत्रीले यहीं पढेका थिए ।

१ देखि ५ कक्षासम्म पढाइ हुन्छ । त्यसपछि बालबालिकाहरू नजिकको माविमा पढ्न जान्छन् । २ कठ्ठा ५ धुरमा अनाथालयको भवन, विद्यालय र मन्दिर छ । अहिले भित्रको.सबै रेखदेख हृदय आफैंले गर्छन् ।

बिहान अनाथालयका बालबालिकालाई गायत्री पाठका लागि उनले तयारी गर्छन् । विद्यालयमा अनुशासन सिकाइन्छ । त्यसैले पनि त्यहाँ आश्रय लिइरहेका टुहुराहरू निकै ज्ञानी छन् ।

स्थानीय समाजसेवी कृष्ण चौधरीले हृदय र गायत्रीको विवाह उदाहरण बनेको बताए । ‘एउटा टुहुराले सहारा पाएको छ । त्यो पनि टुहुरा नै,’ उनले भने, ‘यसले समाजमा राम्रो सन्देश जान्छ ।’ घर, थर, ठेगाना थाहा नभएको मानिससित विवाह गरेर हृदयले सबैको मन जितेको चौधरीले सुनाए ।

उनको व्यवहार देखेर वरपरका व्यापारीले समेत अनाथालयमा सहयोग गर्न थालेका छन् । अहिले अनाथालयका बालबालिकालाई गायत्रीले खाना पकाइदिन्छिन् । बिहान खाजा र चियाको समेत जिम्मा उनलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!