राष्ट्रपतिलाई ढाकाको पोशाकमा च्याँट्ट बनाउने पाँचथरकी कल्पना लिम्बु

झापा । चाडबाड होस् या कुनै औपचारिक कार्यक्रम, राष्ट्रपति विद्यादेवी भण्डारी ढाकाको पोशाकमा सजिएकै हुन्छिन् । ढाकाको ‘फेसनेवल’ साडी र मजेत्रोले राष्ट्रपतिको मोहक र प्रभावशाली व्यक्तित्वलाई उजिल्याउन भरपुर सहयोग गरिरहेको देख्न सकिन्छ ।

यसको पछाडि एउटा सिर्जनशील मस्तिष्क कल्पना लिम्बुको प्रभावकारी भूमिका रहेको छ । राष्ट्रपतिलाई ढाकाको पोशाकमा चिरिच्याँट्ट बनाउने पाँचथरकी कल्पना लिम्बु हुन्, जसको ‘कल्पना ढाका बुटिक’ ले ढाकाको आधुनिकीकरण र त्यसले विस्तार गर्दै लगिरहेको बजार अर्थतन्त्रको कथा पनि सँगैसँगै उद्घाटित हुन्छ ।

परम्परा र आधुनिकताको फुजन
सानो छँदा घरमा आमा र दिदीहरुले बुनेको तानमा खेल्दाखेल्दै हुर्किएकी कल्पनालाई पारिवारिक त्यही इलमले आजको उचाइ दिएको हो । ढाका बुन्ने तानसँग लिम्बु जातिको गहिरो सम्बन्ध रहेको ठानिन्छ । जन्मदेखि मृत्युसम्मका हरेक कर्ममा तानबाट बनाइएका ढाकाका पोशाक आवश्यक पर्ने हुनाले लिम्बु जातिका सबैका घरमा तान हुन्थे ।

कल्पनाको परिवारमा चाहिँ इस्टदेउता र मुन्धुमसँग पवित्र सम्बन्ध रहेको ठानिने तानबाट परम्परा धान्ने काम मात्र गरिँदैनथ्यो, तानबाट उत्पादित ढाकाका पोशाक बेचेर जीविकोपार्जन पनि गरिन्थ्यो । यसको प्रभाव कल्पनाको बाल मस्तिष्कमा जमेर बसेको थियो ।
‘आमा र दिदीहरु तान बुन्नुहुन्थ्यो, म पनि तान बुन्न खोज्थेँ तर बुन्न नआउँदा धेरै तान चुडाउँथेँ’, ढाकासँगको सामीप्यता खोल्दै पाँचथरकी ५० वर्षीया कल्पना भन्छिन्, ‘त्यही कारण धेरैपटक चुटाई पनि खाएँ, तर तानसँग खेल्न छाडिनँ ।’ तन्नेरी हुँदै गएकी कल्पनाले आमा र दिदीले तानबाट गरेको अर्थोपार्जनलाई कसरी व्यावसायिक रुपमा फैलाउन सकिन्छ भन्ने सोच्न थालिन् ।

२०६२ सालमा सहकारीबाट १५ हजार ऋण लिएर एउटा तान किनेर व्यवसाय सुरु गरेकी कल्पनाले २०६४ मा काठमाडौँको गोकर्णमा ‘दि हिलिएन आर्ट’ संस्था दर्ता गरिन् । त्यतिन्जेल उनले तीनवटा तान जोड्न सकेकी थिइन् । यो समय उनका लागि चुनौतीका दिन थिए ।
बजारमा ढाकाबाट बनेका परम्परागत शैलीका साडी, सल र टोपीहरु थिए । त्यो प्रतिस्पर्धामा भिड्नुभन्दा उनले केही नयाँ गर्ने सोचिन् । ‘ढाकालाई कसरी ग्ल्यामराइज गरी बजारमा आफो स्थान बनाउन सकिन्छ भन्ने सोच पलायोे’, त्यसबखत दिमागमा फुरेको आइडिया स्मरण गर्दै कल्पना भन्छिन्, ‘त्यही सोचलाई साकार पार्न टेक्सटाइल इन्जिनियरिङ कलेजमा फेसन डिजाइन कोर्समा भर्ना भएँ ।’
करिब पाँच वर्ष फेसन डिजाइनमा घोत्लिएपछि उनले युवा वर्गलाई लक्षित गरी फेसनेवल ढाकाका पोशाक बनाउन थालिन् । त्यसले बिस्तारै मान्छेको ध्यान तान्न थाल्यो । ढाका भन्नासाथ ‘बुढापाकाले लगाउने पोशाक’ भनी नाक खुम्च्याउने युवा जमातले समेत उनको डिजाइनमा आँखा लगाउन थाले ।

तीन करोडको लगानीमा कल्पनाको उद्योगमा १०० भन्दा बढी तानबाट ढाकाका पोशाक उत्पादन हुन्छन् । ती तानमा २०० भन्दा बढी कामदारका हातहरु चल्छन् । हिजो तानबाट आफो गुजारा गर्न हम्मे पर्ने कल्पनाले आज दुई सय कर्मचारीलाई १० देखि ५० हजारसम्म मासिक तलबमा श्रम गराइरहेकी छन् ।

कामदारलाई मासिक ३० लाखभन्दा बढी तलब बाँडिरहेकी कल्पनाको यो सफलतासँग मेहनतको साइनो नभएको होइन । तर, यसमा उनको आइडियाले खास रोल खेलेको देखिन्छ ।

३३ राष्ट्रमा ढाका यात्रा
१२ वर्षदेखि ढाका उद्योगमा खटिरहेकी कल्पनाको ढाका डिजाइनले राष्ट्रपति भण्डारीलाई आकर्षित गरेको उनी रक्षामन्त्री छँदादेखि नै हो । जतिबेला उनलाई मन्त्रीको हैसियतमा विभिन्न देशको यात्रादेखि औपचारिक जमघटहरूमा जानुपर्थ्यो ।

सम्भवत: भण्डारीलाई राष्ट्रपति भएपछि आफै देशमा उत्पादन भएका र नेपालीपन झल्किने पोशाक आवश्यक पनि र्पयो । र, पहिलेदेखि प्रयोग गर्दै आएको ढाकालाई निरन्तरता दिइन् । अहिलेसम्म कल्पनाले डिजाइन गरेका १५ वटाजति साडी राष्ट्रपतिले लगाइसकेकी छन् ।
‘राष्ट्रपतिज्यूले उहाँकै कार्यकक्षमा बोलाएर आफे लगाउने पोशाकको डिजाइनमाथि छलफल गर्नुहुन्छ, मैले त्यहीबमोजिम तयार पारिदिन्छु’, कल्पना भन्छिन्, ‘उहाँले रक्षामन्त्री हुँदादेखि नै मैले डिजाइन गरेको ढाकाको साडी लगाउँदै आउनुभएको छ ।’ राष्ट्रपति मात्र होइन, मिस नेपाल सुबिन लिम्बु, गायिका अन्जु पन्त, गायक राजेशपायल राई, विल्सनविक्रम राई जस्ता चर्चित सेलिब्रेटीहरुले कल्पनाले डिजाइन गरेको ढाकाको पोशाकमा ठाँट्टिएर परफर्मेन्स दिएका छन् । यो अवस्थासम्म आउन कल्पनाले लामो यात्रा तय गरेकी छिन् ।

विश्वका ३३ देशमा पुगेर ढाका प्रबर्द्धन गरेकी कल्पनाले देश विदेशका २२ वटा ठाउँमा फेसन शो नै आयोजना गरिन् । कुनै ठाउँमा ‘ढाकाको कपडा’ भनेर फालिदिएको तितो अनुभव समेत बोकेकी कल्पना त्यस्तो उपेक्षाका बाबजुद संघर्षको मैदानबाट पछाडि फर्किनन् ।

‘ढाका फैलाउन सेलिब्रेटीहरुलाई ढाकाको फेसनेवल पोशाक बनाएर दिएँ’, ढाका प्रबर्द्धनबारे कल्पना भन्छिन्, ‘म्युजिक भिडियोमा प्रयोग गर्न ५० जोर पोशाक डिजाइन गरेर राखिदिएको छु, जुन प्रयोग गरेबापत कुनै शुल्क तिर्नु पर्दैन ।’ अनलाइन मार्फत् पनि व्यवसाय गरिरहेकी कल्पना ढाकाका पोशाक हातैले बनाउनु पर्ने हुनाले समय र पैसा दुवै बढी पर्ने बताउँछिन् ।

अहिले कल्पनाले डिजाइन गरेका ढाकाका पोशाक अमेरिका, बेलायत लगायत एसियाका विभिन्न देशहरुमा निर्यात हुने गरेको छ । ‘नेपालीको बसोबास रहेका देशहरुमा माग यति बढेको छ कि सप्लाई गर्नै सकिरहेका छैनौँ’, आफो व्यस्तताबारे कल्पना भन्छिन्, ‘एउटै साडी बनाउन एकजना कामदारलाई चार दिन लाग्ने हुनाले माग पूरा गर्न कठिन भएको हो ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!