च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ ।

 घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो । पहिलो मिनेटमा नै डेम्बेलेको गोलबाट सेल्टिकले अग्रता लिएको थियो ।

तर त्यसपछि भने पिएसजीले गोलको वर्षा नै गर्‍यो । पिएसजीका लागि नवौं मिनेटमा बराबरी गोल फर्काएका नेइमारले २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दिलाए ।

२८ औं मिनेटमा एडिसन काभानी तथा ३५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफमा पिएसजीले थप तीन गोल गर्‍यो ।

७५ औं मिनेटमा भेर्राट्टीले गोल गरे भने ७९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरे । ८० औं मिनेटमा डानी एल्वेसले गोल गरेपछि पिएसजी ७–१ ले विजयी भयो ।

यो जित च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जित हो । समूह ‘बी’ बाट अन्तिम १६ मा छनौट भएको पिएसजीको १५ अंक भएको छ ।

यस्तै राति नै भएको खेलमा एन्डरलेक्टलाई २–१ ले हराएको जर्मन क्लब बार्यन म्युनिखको १२ अंक भएको छ र उ पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । Source: Ujyaalo Online

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!