‘नाति जर्नेल’लाई भोट माग्दै रेखा थापा– ‘अरु सिंहदरबार जान भोट माग्दैछन्, उहाँ त सिंहदरबारमै जन्मेको मान्छे’

सिन्धुपाल्चोक– अभिनेत्री रेखा थापा पशुपति शमशेर राणालाई भोट माग्न यतिबेला सिन्धुपाल्चोकका विभिन्न ठाउँमा घुमिरहेकी छिन्।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाका लागि भोट मागिरहँदा उनी सर्वसाधारणलाई भन्छिन्, ‘अरु सिंहदरबार जानका लागि भोट माग्दैछन्, तर उहाँ त सिंहदरबारमै जन्मेको मान्छे हो। तपाईंहरुको ठाउँको विकास गर्न आउनुभएको हो।’

सिन्धुपाल्चोकको धेरै ठाउँ पुगेपछि उनलाई राणाको जित पक्का जस्तो लागेको छ। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘उहाँले यो ठाउँका लागि धेरै काम गर्नुभएको रहेछ। जतासुकै उहाँकै पक्षमा माहौल देख्छु।’

उमेरले ७६ लागिसकेका राणाको जोशबाट पनि रेखा उत्तिकै प्रभावित छिन्। आफूलाई गाह्रो लाग्ने उकालीओरालीमा हिँडिरहेका राणाको विषयमा उनले भनिन्, ‘जनतासँग घुलमिल हुने र सबै कुरा सुन्ने उहाँको रुचि छ। त्यसैले यस्तो उमेरमा पनि सिन्धुपाल्चोकका डाँडाकाँडा घुमिरहनुभएको छ।’

राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!