अमेरिकी रास्ट्रपति परिवार र बेलायती राजकुमारीको कपडा सिलाउने नेपाली युवक

“मन लागेको थियो नि । सुन्नेबित्तिकै रातभरि सुत्न सकिएन । घरमा फोन गर्न खोज्यो फोन नै लाग्दैन । त्यसपछि फेसबुकमा हेरेर जानकारी लिएँ ।”

नेपाली ठिटो प्रबल गुरुङ अमेरिकामा फेसन उद्योगका लागि चर्चित नाम हो । उनले डिजाइन गरेका ड्रेसहरू लगाउनमा प्रथम महिला मिचेल ओबामा हुन् वा बेलायती राजकुमारी केट मिडल्टन र थुप्रै हलिउड सेलिब्रेटी र गायिकाहरू गर्व गर्छन् ।

पछिल्लो समय झन्डै दुई वर्षअघि नेपाल आउँदा मुस्ताङ ट्रेक पुगेका थिए । त्यसबेला प्रबलले त्यहाँका बुद्धमार्गी भिक्षुले लगाउने हल्का पहेंलो, गाढा रातो र सुन्तला रंगको पोसाकदेखि पाउजुको कन्सेप्टलाई टिपेर न्युयोर्क फेसन विकमा आफ्नो डिजाइनमा ढालेर पस्कँदा सनसनी मच्चाएको थियो ।

यतिबेला फेरि प्रबल नेपाल आएका छन् । तर यसपटकको उनको भ्रमणको उद्देश्य पेसाभन्दा फरक छ । पाँच वर्षअघि प्रबलले नेपालमा शिक्षा क्षेत्रको विकासका लागि भन्दै केही साथीभाइको साथमा शिक्षा फाउन्डेसन नेपाल खोलेका थिए । भूकम्पपछि उनको फाउन्डेसनले शिक्षाका अलावा भूकम्पपीडितका लागि सेल्टर निर्माणदेखि आधारभूत राहत सामग्री उपलब्ध गराउने काममा समर्पित गरायो । यतिबेला उनको भ्रमण फाउन्डेसनले गरेका कामको अवलोकनसँगै थप गर्न सक्ने क्षेत्रको अध्ययनमा केन्द्रित हुनेछ ।

अहिले स्वदेश आउनुको उद्देश्य ?

भूकम्प गएपछिको अवस्था बुझ्नको लागि पनि आएको हुँ । त्यसबाहेक वर्षको एकपटक म परिवार भेट्न स्वदेश आएकै हुन्छु । यसपटक बीचमा आउन मिलेन । गतवर्ष नै आउन लागेको बेला भूकम्प गएपछि यहाँ आउनुमा भन्दा त्यहीँ बसेर आर्थिक सहयोग जुटाउनु उपयुक्त हुन्छजस्तो लाग्यो । यहाँ मेरो फाउन्डेसनले काम गरिरहेको थियो, त्यहाँ मैले सीएनएनमा गएर हुन्छ कि अमेरिकी दूतावासमा गएर हुन्छ, देशको बारेमा अवगत गराएँ । त्यहीं बसेर फन्ड रेजिङ गर्नु फलदायी हुन्छजस्तो लागेर नै म देश आइनँ । नभए त मेरो पूरै परिवार नै यहीं, आउन त मन लागिहाल्छ नि ।

त्यसो भए भूकम्प आएलगत्तै नेपाल आउनचाहिँ मन लागेको थियो ?

मन लागेको थियो नि । सुन्नेबित्तिकै रातभरि सुत्न सकिएन । घरमा फोन गर्न खोज्यो फोन नै लाग्दैन । त्यसपछि फेसबुकमा हेरेर जानकारी लिएँ । पूरा एक दिनपछि बल्ल परिवारसँग कुरा भयो । जान्छु भनेरै बसिरहेको थिएँ, त्यो बेला फेरि हवाई टिकटको पनि समस्या भइरहेको थियो । ठयाक्कै त्यतिबेला मैले सोचें, मेरो काम त यहीं बसेरै गर्दा बढी हुन्छ । मेरो नामले गर्दा पनि होला, तुरुन्तै सीएनएनहरूले कुरा गर्न बोलायो । त्यसपछि पैसा उठाउन पनि सहज भयो । फेसन उद्योगकादेखि सबैजनाले ऐक्यबद्धता जनाउन थाले । ट्वीट गर्ने, सहयोग जुटाउने गर्न थाले । म यहाँ आएको भए बरु केही गर्नै सक्थिनँ होला जति त्यहाँ बसेर गर्न सकें ।

यहाँ रहँदाको कार्यक्रम के छ ?

आएदेखि नै फाउन्डेसनको पार्टनरहरूसँग गयौं । के कस्तो काम भइरहेको छ भन्ने रिपोर्ट लिनेदेखि अझै के–कस्ता राहतका कार्यक्रम गर्न सकिन्छ भन्नेमै छलफल भइरहेको छ । आएदेखि ननस्टप काम नै काम भइरहेको छ । त्यसबाहेक युवाहरूलाई कसरी प्रोत्साहन दिलाउने भन्नेबारेमा अभियान थालेका छौं । देशले के गर्छ भन्ने होइन कि हामीले के गर्न सक्छौं भन्ने भावना जगाउनु नै अभियानको उद्देश्य हो ।

भूकम्पलगत्तै विश्वव्यापी रूपमा आर्थिक सहयोग जसरी जुट्यो, त्यो अनुपातमा पुनर्निर्माणको काम सुस्त भएको लाग्दैन तपाईंलाई ?

हुर्केर बढेको नेपालमै भएकोले हामीलाई यहाँको सरकारको स्थिति पनि थाहा नै छ । त्यही भएर पनि हामीले के गर्न सक्छौं ? हामीले नै गर्ने हो । सरकारमा निर्भर भएर नबसौं । मेरो अनुरोधचाहिँ सक्दो छिटो राम्रो होस् भन्ने नै हो ।

यहाँका युवाले खेल्न सक्ने भूमिका के हो जस्तो लाग्छ ?

अहिलेको अवस्थामा मात्रै हैन कि जुनसुकै बेला पनि आफू र आफ्नो देशको लागि ठूलो सपना देख्नुपर्छ नै । सानै काम जसले आफूबाहेक अर्को एकजना मात्रैलाई पनि इफेक्ट गर्न सकियो भने पुग्छ । सय जनालाई पनि गर्न पर्दैन । त्यसैले सपना देख्ने आँटको सुरुआत गरौं, आफू र आफ्नो देशको लागि । मलाई कसैसँग आशा छ भने यिनै युवाहरूमै छ । गर्ने उनीहरूले नै हो ।

नेपाली फेसनबारे कत्तिको अपडेट हुनुहुन्छ ?

इन्ट्रेस्टिङ छ । यहाँ आएर पनि मैले डिजाइनर, मोडलहरूलाई भेटिसकें । मलाई मजस्तै अर्को नेपाली डिजाइनर त्यहाँ (अमेरिकामा) भेट्न पाए दंग पर्ने थिएँ ।

शुशिल पौडेल ले प्रबल गुरुङ संग लिएको अन्तरबार्ता ekantipur.com मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!