एक भोट पनि खसेन तिङ्लामा, मतपेटिकाको सुरक्षा के हुन्छ ?

आज बाह्रखरी समीक्षित सबै पत्रिकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो चरणअन्तर्गत ३२ जिल्लामा भएको मतदानका बारेमा समाचार प्रकाशित गरेका छन् ।

निर्वाचन आयोगले आइतबार बेलुका जनाएअनुसार ६५ प्रतिशत मतदान भएको, छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको गृह मन्त्रालयको दाबीलाई आजका सबैजसो पत्रिकाले मुख्य स्थान दिएका छन् ।

केही पत्रिकाले भने सोलुखुम्बु तिङ्लाका जनताले यसपटक पनि मतदान नगरेको समाचारसमेत प्रकाशित गरेका छन् । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङलाबासीले अहिले पनि मतदान गरेनन् । स्थानीय तहको पुनर्संरचना गरिँदा आफ्नो क्षेत्रलाई अपायक पर्ने ठाउँमा गाभिएको विरोधमा उनीहरूले निर्वाचन बहिष्कार गरेका हुन् ।

आजको नागरिक दैनिकमा सोलुखुम्बुबाट राधा ढुंगानाले लेखेको समाचारमा स्थानीय तहको निर्वाचनमा समेत उनीहरूले मतदान नगरको उल्लेख छ । जिल्ला निर्वाचन कार्यालयअनुसार तिङ्ला क्षेत्रका ५ वटा मतदान केन्द्रमा एउटा पनि मत खसेन । नागरिकले यो समाचारलाई तेस्रो पृष्ठमा प्रकाशित गरेको छ । ‘मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो’ शीर्षकमा नागरिक दैनिकले पनि पहिलो पृष्ठमा ब्यानर समाचार प्रकाशित गरेको छ ।

धादिङको बेनिघाटमा मतदान गर्दै गरेकी एक महिलाको तस्बिरसहित गोरखामा माइनस ९ डिग्रीमा ४ घण्टा हिँडेर मतदान गर्न पुगेको समाचारलाई पनि नागरिकले पहिलो पृष्ठमै स्थान दिएको छ ।

आजको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठको एक कोलममा तिङ्लावासीले मतदानमा भाग नएिको समाचार प्रकाशित गरेको छ । ‘स्थानीय निर्वाचनभन्दा कम मतदान’ भन्ने ब्यानर शीर्षक राखेर नयाँ पत्रिका दैनिकले पहिलो चरणको निर्वाचनको प्याकेज बनाएको छ । कुन जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विवरणसमेत नयाँ पत्रिका दैनिकमा दिइएको छ ।

आजको कान्तिपुर दैनिकले ‘खस्यो ६५ प्रतिशत’ शीर्षक राखेर समाचार प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले पनि पहिलो पृष्ठमा मुस्ताङमा लुगलुग काम्दै मतदान भन्ने शीर्षक राखेर पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । समाचारमा मुस्ताङबासीले शून्य डिग्री तापक्रम हुँदा पनि लाइनमा बसेर मतदान गरेको उल्लेख गरिएको छ ।

‘६५ प्रतिशत मतदान’ अन्नपूर्ण पोस्टकोे समाचारको शीर्षक छ । अन्नपूर्ण पास्टमा धादिङबाट लेखिएको समाचारमा भनिएको छ – उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका २ स्थित दोङदेङदेवी मावि मतदान केन्द्रमा प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट भएको छ ।’

त्यसैगरी आजको गोरखापत्र दैनिकमा ‘मतदान ६५ प्रतिशतभन्दा बढी’ शीर्षकमा समाचार लेखिएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा मतदान गर्न लाइनमा बसेका मतदाताको तस्बिरसहित समाचार प्रकाशित गरिएको छ ।

राजधानी दैनिकले ‘मतदान शान्तिपूर्ण र उल्लासमय’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरेको छ ।

मतपेटिकाको सुरक्षा कसरी ?

पहिलो चरणमा भएको मतदानको मतगणना पनि दोस्रो चरणको मतदान सकिएलगत्तै हुने भएको छ । त्यसबेलासम्म मतपेटिकालाई सुरक्षा दिएर राखिने भएको छ ।

मतपेटिकाको सुरक्षाका लागि लाहाछाप र ताला भने बलियो बनाइएको भन्दै राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ । निर्वाचन आयोगकाअनुसार राजनीतिक दलको रोहबरमा राखिने मतपेटिकामा दलले चाहे २४ सै घन्टा पहरा दिन सक्नेछन् ।

यो समाचार कान्तिपुर दैनिकले पनि गणना २१ गतेपछि भन्ने सबहेड राखेर प्रकाशित गरेको छ । सबै मतपेटिकालाई जिल्ला सदरमुकाममा ल्याएर राखिने समाचारमा उल्लेख गरिएको छ ।

सम्पादकीय

‘अब दोस्रो चरणमा ध्यान’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ – सरकार र निर्वाचन आयोगको लगन, राजनीतिक दलहरुको सहयोगी भूमिका र मतदाताहरूको लोकतन्त्रप्रति विश्वास बलियो भए दोस्रो चरणको निर्वाचन पनि निश्चय नै मतदान शान्त, भयरहित, निष्पक्ष र उल्लासका साथ सम्पन्न हुनेछ र संविधानको संक्रमणकालीन चरण पनि टुंगिनेछ ।’

‘मतपेटिकाको सुरक्षामा गम्भीर बन’ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छख–खसरकार, आयोग र सुरक्षा संयन्त्रको सानो लापरबाहीले पनि भोलिका दिनमा दुर्घटना निम्तिन सक्ने भएकाले मतपेटिका सुरक्षामा यी निकाय गम्भीर बन्नुपर्छ ।’

‘सहभागिताको सन्देश’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ ।

अन्नपूर्ण पोस्टले ‘सन्तोषजनक मतदान’ शीर्षक दिएर सम्पादकीय लेख्दै भनेको छ – कम्तीमा पहिलो चरणमा भएको सन्तोषजनक मतदानले दोस्रो चरणको चुनावलाई सुनिश्चित गरेको छ ।’

गोरखापत्र दैनिकले उत्साहपूर्ण मतदान शीर्षक दिएर सम्पादकीय लेखेको छ ।

नयाँ पत्रिका दैनिकले ‘निर्वाचनमा देखिएको हिंसा’ शीर्षकमा सम्पादकीय लेख्दै यसपटकको निर्वाचन अभियान सुरु भएदेखि नै एउटा राजनीतिक शक्तिले निर्वाचनलाई प्रभावित गर्ने र बिथोल्ने प्रयासस्वरूप अनेक सशस्त्र गतिविधि गरिरहेको उल्लेख गरेको छ ।  बाह्रखरी

तस्बिर रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!