गीतसंगीतमा युट्युबबाट सेलिब्रेटी बनेकाहरू

भाग्यले नि छल्छ भन्थे, छल्दो रहेछ थाहा पाएँ’
यस गीतकी गायिका पूर्णिमा लामालाई भने यो गीतले निकै भाग्यमानी बनाएको छ । नवगायिका लामाले यस गीतलाई युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स धेरै बढेका छन् । यसरी युट्युबमा धेरैले लाइक र कमेन्ट गरेको देख्दा उनलाई निकै हौसला मिलेको छ ।

केही दोहोरी गीत गाइसकेकी पूर्णिमाको सोलो गीत भने यही पहिलो हो । यसमा शब्द उनकै दिदी मीरा लामा र संगीत गोविन्दमधुर आचार्यको रहेको छ । सामाखुसीस्थित लिंकन कलेजमा व्यवस्थापन विषयमा कक्षा १२ मा पढ्दै गरेकी पूर्णिमाले यही गीतको लोकप्रियतासँगै पाँचौं राष्ट्रिय राप्ती संगीत अवार्डसमेत हात पारिसकेकी छिन् ।

धादिङ गल्छी घर भएकी उनी एसएलसी दिएर काठमाडौं आएकी थिइन् । विद्यालय टेक्दादेखि नै गीत गाउने सौख राख्ने उनी काठमाडौं आएर गीत रेकर्ड गराएकी थिइन् । गीत एकाएक हिट भएपछि उनको अन्तर्वार्ता एक अनलाइन टेलिभिजनले लियो । यही क्रममा टेलिभिजनकर्मीले उनको स्वरलाई गायिका अञ्जु पन्तसँग पनि दाँजे । तर पूर्णिमाले भने गायिका पन्त आफूूभन्दा धेरै नै अग्रज भएकीले उनलाई गीत संगीतको अभिभावकझैं गरी आफूले सम्मान गर्ने बताइन् । उनले भनिन्, ‘उहाँसँग हामीले आफूलाई दाँज्ने होइन, उहाँलाई पछ्याएर संगीत सिक्ने हो ।’

मातृभाषी गीत

मातृभाषी गीत गाएर युट्युबमा अपलोड गर्नेहरू पनि यतिबेला लोकप्रिय हुँदै गएका छन् । जसमध्ये थारू भाषाका गायक एवं गीतकार प्रदेशी कुसुम्या ‘दर्पण’ पनि एक हुन् । उनका गीतले पनि युट्युबमा अत्यधिक चर्चा पाएका छन् । उनले थारू भाषाका करिब तीन दर्जन बढी गीत गाइसकेका छन् । जसमध्ये करिब १६ वटा जति गीत उनले युट्युबमा अपलोड गरेका छन् । उनका गीतमध्ये केहीले ७० हजारमाथि भियोर्स बटुलेको छ ।

समग्रमा भन्नुपर्दा आफ्ना गीतलाई करिब पाँच लाखभन्दा बढीले श्रवण गरेकोमा आफूलाई निकै खुसी मिलेको पनि उनले बताए । कतिपय गीतमा अरूको लगानी हुनाले गाएबापत गायक कुसुम्याले केही रकम पारि श्रमिक पनि पाउने गरेका छन् । तर केही भने आफू स्वयंले लगानी गरेकाले त्यसको भियोर्स बढेसँगै उनलाई युट्युबले दिने शुल्क पनि बढ्दै जान्छ ।

त्यसैगरी थारू भाषाका अर्का गायक विजय चौधरीले पनि आफ्ना चार÷पाँच वटा गीत युट्युबमा अपलोड गरिसकेका छन् । आफ्ना गीत हजारौं दर्शकले हेरिसकेकोमा आफूलाई नयाँ सिर्जनामा ऊर्जा मिलेको उनले बताए । गायक चौधरीको प्रस्तुति जटायुले हाल कभर सङ्गमा प्रस्तुति दिएर युट्युबमा निकै चर्चित बनेको छ ।

jatau

जटायु रेकर्डसमार्फत जटायु म्युजिकल हबमा विगत एक वर्षदेखि उनीहरूले विभिन्न गीतमा प्रस्तुति दिँदै आएका छन् । उक्त समूहमा सितार, गितार र किबोर्डमा निरन डंगोल, सारंगीमा श्यामेल गन्धर्व, तबलामा न्ह्युछे मुनिकार, बाँसुरीमा निकेश महर्जन रहेका छन् । त्यसैगरी पाल्साङ लामाको भोकल र अविन शाक्यको निर्माण रहेको यस समूहमा अमित डंगोल ब्यान्ड म्यानेजर रहेका छन् भने हेमन्त महर्जनले भायोलिन बजाउँछन् । हाल यो समूहले पश्चिमा गीतलाई तबला, सारंगी, बाँसुरीलगायतका संगीतको फ्युजन गराएर पूर्वीय शैलीमा ढालिएका गीतसंगीत बजारमा ल्याएको छ । हाल ‘सेप अफ यु’ले धेरै नै चर्चा पाएको यो समूहका अन्य गीतहरूले पनि औसतमा १२ लाख भ्युअर्स कटाउने गरेको छ ।

सात वर्षमै चर्चा

युट्युबकै कारणले सानै उमेरमा ठूलै चर्चा पाउनेमध्येमा पर्छिन् गायिका जिम्मीछोकी घिसिङ । सात वर्षकै उमेरमा उनले गाएको ‘तिमीले बाटो फेर्‍यौ अरे’ गीत श्रोता एवं दर्शकले अत्यधिक मन पराए । दर्पण राईको गीत र टंक बुढाथोकीको संगीत रहेको उक्त गीतको भ्युअर्स ४२ लाख ६० हजार नाघिसकेको छ ।

नेपालमा चल्तीका गायकगायिका अझै पनि कम छन् । पहिले गीतसंगीतमा स्थापित हुन निकै दौडधुप गर्नु पथ्र्यो । युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स बढेसँगै अहिले नयाँ गायकगायिकाहरू पनि सेलेब्रेटी हुँदै गएका छन् ।

गायक भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाउँदै घिसिङ गीतसंगीतको क्षेत्रमा लागेकी थिइन् । त्यसपछि ‘हजार सपना’, ‘बाबा परदेश नजानु है’लगायतका गीत गाएकी उनले पछि आफ्नै युट्युबमार्फत् गीत अपलोड गर्न थालिन् । युट्युबकी रानी भनेर पनि चिनिने उनले एक चलचित्रमा पनि काम गर्ने भएकी छिन् ।

आफ्नो मामाहरूबाट पाएको हौसलाका कारण सांगीतिक क्षेत्रमा लागेको बताउने घिसिङले झन्डै एक दर्जन गीत गाइसकेकी छिन् । च्यान्दु तामाङका साथ उनले गाएकी गीत ‘यो नाता’ले एक लाख ८५ हजार भ्युअर्स पाएको छ । त्यसैगरी स्मारिका लामासँग उनले गाएको ‘बाटो छेकेरै अनुहार हेर्छु भन्छ’गीत झन्डै ९३ हजार दर्शकले हेरिसकेका छन् ।

उनको पछिल्लो गीत ‘ठूलालाई आदर, सानालाई गर्छु माया’मा भने चन्द्र तामाङ ब्लोनको गीत र सुरेश अधिकारीको संगीत रहेको छ । यसलाई झन्डै ६ लाख दर्शकले युट्युबमा हेरिसकेका छन् । उनको युट्युबको च्यानलाई आठ हजार ६ सयभन्दा बढीले सब्सक्राइब गरेका छन् । तामाङ र नेपाली भाषामा मात्रै नभई हिन्दी र अंग्रेजी गीत समेत उनले गाउने गरेकी छिन् । युट्युब सेलिब्रेटी बनिसकेकी उनी स्वयम्भूस्थित अरुणोदय एकेडेमीमा कक्षा ५ मा पढ्छिन् ।

म्युजिक कम्पनीका गीत

कुन म्युजिक कम्पनीले गीतलाई बजारमा ल्यायो, त्यसको आधारमा पनि गीतले युट्युबमा चर्चा कमाउने गरेको छ । हाल चर्चामा आएका गीतहरूमा म्युजिक नेपाल, सङ्स नेपाल, एसियन म्युजिकलगायतका कम्पनीका गीतहरूलाई पनि दर्शकले मन पराएको पाइन्छ । त्यसैगरी कतिपय गीतमा म्युजिक भिडियो राम्रो भएकै कारण पनि भियोर्स बढी हुने गरेका छन् । विनोद बानियाँले गाएका गीत ‘म त बलेनिमा’को भिडियोमा पल शाह, एलिसा राई र विनोदको नृत्य र अभिनयले गीतलाई अझै लोकप्रिय बनाएको छ ।

मोडल एलिसाको म्युजिक भिडियोको कलेक्सनलाई झन्डै एक लाख ७० हजार दर्शकले हेरेको पाइन्छ । त्यसैगरी पल शाहका म्युजिक भिडियो कलेक्सनलाई भने चार लाख दर्शकले हेरिसकेका छन् । उता गोविन्द थापामगर र पूर्णकला बीसीको कसम मायाको भिडियोलाई २३ लाख दर्शकले हेरिसकेका छन् । उक्त गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

युट्युबमा नयाँ गायकगायिकाको गीत रिलिज गर्दै चर्चित बनाउने च्यानलमध्येको सङ्स नेपाल पनि हो । गत महिनामात्रै रिलिज भएको रवि वज्राचार्यको ‘तीता मीठा’ले २७ हजारभन्दा बढी भियोर्स तानिसकेको छ । रोमान्टिक लभ सङको रूपमा रहेको यस गीतमा माया गर्ने एक जोडी एक आपसबाट निकै टाढा रहेता पनि उनीहरूबीचको माया भने निकै गाढा रहेको देखाइएको छ ।

गायक बलबहादुर अर्माजा (बलदीप)को लोक पपगीत ‘नीरमाया’ले युट्युबमा गीत अपलोड गरेको ६ दिन पनि नकट्दै सात हजारभन्दा बढीले हेरिसकेका थिए । त्यसैगरी गत महिना युट्युबमा राखिएको दिल्पु मोक्तानको ‘फुल्ने फूल’लाई हालसम्म झन्डै ४९ हजार दर्शकले हेरिसकेका छन् ।

एक साता अगाडि सङ्स नेपालमार्फत् युट्युबमा राखिएको सुरज पासखलाको पपगीत ‘तिम्रै खुसी’ले २६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । गीतको शब्द, संगीत र एरेन्जमेन्ट भने टेकनन्द लामाको रहेको छ । गीत असाध्यै मिल्ने दुई साथीहरूको कथामा आधारित छ । केटाले केटीलाई असाध्यै माया गर्ने भए तापनि केटीले भने उनलाई एउटा असल साथीको रूपमा मात्रै हेरेको गीतको भिडियोमा देखाइएको छ ।

नेपालमा चल्तीका गायक, गायिका अझै पनि कम छन् । पहिले गीतसंगीतमा स्थापित हुन निकै दौडधुप गर्नुपथ्र्यो । युट्युबमा अपलोड गरेपछि गीतको भ्युअर्स बढेसँगै अहिले नयाँ गायकगायिकाहरू पनि सेलेब्रेटी हुँदै गएका छन् । विभिन्न कार्यक्रममा उनीहरूलाई पनि पारि श्रमिक दिएर आमन्त्रण गर्न थालिएको छ । – Annapurna Post

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!