त्रिशुली दुर्घटना (अपडेट) : ६ जना मृतकको सनाखत

अर्घाखाँची, मंसिर १३– बुधबार त्रीशुली नदीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका सात जना मध्य छ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ८ किमडाँडाकी ४३ वर्षकी लक्ष्मी पौडेल, अर्घाखाँची हंसपुरका ५२ वर्षका नुदराज अधिकारी, कपिलवस्तुका ओमबहादुर सिंजापती, रुपन्देहीका दिपक पाण्डे, नवलपरासीका ५२ बर्षे कृष्ण ढकाल र दैलेखका अम्मर बहादुर शाही रहेको प्रहरीले जनाएको छ । एक जनाको भने शव क्षत विक्षत अवस्थामा रहेकाले सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको बस त्रिशुली नदीमा खस्दा ७ जनाको  मृत्यु भएको थियो । दुर्घटनामा २४  जना घाइते भएका छन् ।

नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार विहान साढे ९ बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशुली नदीमा खसेको थियो ।

सशस्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका छन् ।पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाहा हुन सकेको छैन । चितवनबाट आएको बा ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर बस नदीमा खसेको जनाइएको छ ।

गम्भीर घाइते ५ जनालाई उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुर लगिएको छ ।  बालाजु बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । –प्रेमनारायण आचार्य/उज्यालो । 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!