फेरी च्यातियो भरतपुरमा मतपत्र

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणास्थल सिल गरिएको छ । अब के हुन्छ भन्ने आम चासो रहेको छ ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ । प्रहरीले माओवादीको २ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माओवादीका मधु न्यौपाने र द्रोण सिवाकोटी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘मतपत्र च्यातेर मतगणनास्थल रणभूमि बनाइयो,’ उनले संवाददाताहरुसित भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’

पानेले घटनाबारे निर्वाचन आयोगलाई प्रतिवेदन दिएपछि आगामी कारबाही अगाडि बढ्ने जानकारी दिए । उनले मतपत्र च्यात्ने र पक्राउ परेका प्रतिनिधि कुन दलका हुन् भनेर खुलाउन चाहेनन् ।

आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको न्यौपानेले बताए ।

एमाले उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दु:ख व्यक्त गरे । ‘भावनात्मक र मनोगत लाखका विषय उठाएर मतपत्र च्यात्नेसम्मको काम भयो,’ उनले संवादादताहरुसित राति भने । उनका अनुसार सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले सुरुको वडादेखि नै पुन: मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गढबढी भएकोलगायतका विषय उठाएर गणना भइरहेको मतपत्र च्यातेको बताए ।

वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!