निर्मला हत्या प्रकरण: यसरी चुक्यो प्रहरी र सरकार !

कैलाली, १६ भदौ । निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको पीडाले केबल कञ्चनपुरलाई मात्र पोलेन , यो सिंगो मुलुकका लागि पीडाको घटना बन्यो । यस्ले कञ्चनपुर भित्रमात्र आक्रोश फैलाएन सिंगो मुलुक आक्रोशको आगोमा लपेटियो । सम्बन्धित क्षेत्रको भएको नाताले पनि प्रदेश सातको प्रदेश सभामा पनि यो बहसकै विषय बन्यो । तर वहस बहसमा मात्र सीमित भयो ।

निर्मला हत्या प्रकरणमा प्रहरी र सरकार चुकेको भन्दै सांसदहरुले प्रदेश सरकारको कडा आलोचना गरेका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाको अनुसन्धानमा प्रहरी चुकेको भन्दै प्रदेशसभा सदस्यले आक्रोश पोखेका छन् । प्रदेशसभा बैठकमा विशेष समयमा बोल्ने अधिकाश सांसदले निर्मला हत्या प्रकरणबारे प्रहरी र प्रदेश सरकारको कडा आलोचना गरेका छन् ।

उनीहरुले अनुसन्धानमा लापरवाही हुँदा प्रदर्शन चर्कदै गएको र त्यसैमा प्रहरीले दमन गर्दा एक बालकको मृत्यु भएको भन्दै त्यसको पनि निष्पक्ष छानविना हुनुपर्ने माग गरेका छन । राष्ट्रिय जनता पार्टीका सांसद कृष्णकुमार चौधरीले प्रहरी र प्रदेश सरकारले चासो नदेखाउँदा एक महिनासम्म पनि निर्मलाको हत्यामा सग्लन अपराधि पक्राउ पर्न नसकेको बताउनु भयो ।

निर्मला हत्या प्रकरणलाइ राजनीतिकरण गर्न नहुने भन्दै सांसदहरुले अनुसन्धानमा ढिलाई गर्ने र शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरी अधिकारीमाथि पनि कारवाही गर्न माग गरेका छन । सार्वजनिक पद र ओहदामा बसेर घटनालाई मोड्न खोज्ने र पदको दुरुपयोग गर्नेलाई कडा कारवाही हुनुपर्ने प्रदेश सभा सदस्य महेशदत्त जोशीले माग गर्नु भयो ।

घटनाको सत्यतथ्य छानविन गरि पीडितलाई न्याय र दोषीलाई कारवाही गर्नुपर्ने दायित्व बोकेका प्रहरी अधिकारीहरुले नै घटनामा सग्लनलाई उन्मुक्ति दिनका लागि निर्दोष व्यक्तिलाई अपराधि बनाउनु खोज्नु दुःखद भएको काग्रेसका ससदीय दलका नेता डा. रणबहादुर रावलले बताए । बलात्कारपछि हत्या गरिएका घटनामा संग्लनलाई कडा कारवाही हुनुपर्ने उहाँको माग छ ।

प्रदेश सभामा बिशेष समय तथा शून्य समयमा उठेका महत्वपूर्ण बिषयहरुमा जवाफ दिदै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले दुई महिनाअघि बलात्कारपछि हत्या गरिएकी गौरिगंगा नगरपालिका कि माया बिकको परिवारलाई पाँच लाख रुपैया राहत दिने निर्णय भएको जानकारी दिनुभयो । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको परिवार र उक्त हत्या प्रकरणमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले ५÷५ लाख दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।

बलात्कार पछि हत्या जस्तो जघन्य अपराधका विषयमा प्रदेश सरकार नवोलेको भन्ने आरोप उनै सरकार मातहतकाले लगाईरहेका छन् । आफ्ना जनता पीडामा भएको बेला सरकार बोल्नु पर्ने हो तर प्रदेश सरकार ‘बास्ना हराएको फुल’ जस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!