पाँचथर र इलामको सिमानामा अवस्थित राँके बजारमा भीषण आगलागी

इलाम : पाँचथर र इलामको सिमानामा अवस्थित राँके बजारमा आइतवार राति भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय ठालुमान श्रेष्ठको घरबाट आगलागी सुरु भएको हो । आगलागीपछि अहिलेसम्म भीम बस्नेत र तील विक्रमसहितको घर जलिसकेका छन् ।

बजारको बाटो भन्दा तलको लाइनमा आगलागी भइरहेको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्न खोजिए पनि दमकल अभावमा असम्भव भएको छ । राँके प्रहरी चौकीका इन्चार्ज असई लीलाध्वज ढकालका अनुसार घरमा रहेका ग्यास सिलिन्डर विस्फोट हुँदा आगोले विशाल रुप लिएको हो ।

स्थानीयबासी प्रकाश बस्नेतले पनि ग्यास पड्किरहेकाले आगलागी नियन्त्रणमा लिन समस्या भएको जानकारी दिए । राँके बजारमा लागेको आगो नियन्त्रणमा लिन इलाम सदरमुकाम र पाँचथर सदमुकामबाट दमकल हिँडिसके पनि अहिलेसम्म पुगिसकेका छैनन् ।

यसअघि २०७१ कात्तिकमा पनि यही बजारमा भीषण आगलागी हुँदा कम्ति पनि ७ घर जलेका थिए । त्यसबेला स्थानीय विष्णु सुनुवारको घरबाट सल्किएको आगोले ७ घर जलेका थिए भने अरु घर जल्न नदिन ४ घर भत्काइएको थियो ।

तयो बेला प्रेम चेम्जोङ, कर्ण गुरुङ, राजेन्द्र गौतम, आचार्य स्टोर्स, नेत्र लामिछाने र सुकबहादुर तामाङका घर जलेका थिए । आगो नियन्त्रणमा लिन राम देब राइ, मुक्ति आचार्य, देउमान तामाङ र माङ्देल तामाङका घर भत्काइएको थियो । त्यो बेला पनि इलामबाट गएको दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!