तातोपानी नाकामा चिनियाँ अधिकारीको टोली, बन्द नाका अझै खुलेन

चौतारा : २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे-तातोपानी सडकखण्ड र झिर्पुमा निर्माणाधीन सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीले अवलोकन गरेका छन् । उनीहरुसँगै नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् ।

चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन-लिले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा विभिन्न विभागका १२ जना अधिकारी सहभागी थिए ।

त्यसैगरी खासा क्षेत्रको अवलोकन गर्न नेपाल सरकारका तर्फबाट गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि मन्त्रालय तथा भन्सार विभाग समेतका १२ जना अधिकारी सहभागी थिए ।

नेपालको बाह्रबिसे-तातोपानी सडकखण्ड र सुख्खा बन्दरगाहको चिनियाँ पक्षद्वारा अवलोकन भएको उल्लेख गर्दै सिन्धुपाल्चोकका निमित्त प्रजिअ दुर्गा बञ्जाडेले बताए ।

यो अवलोकन भ्रमण मात्र भएकाले बन्द नाका खुल्ने कुरा दुवै देशको माथिल्लो तहको कुरा भएको भएको निमित्त प्रजिअ बञ्जाडेले बताए ।

बन्द नाका खुलाउन नेपाली पक्षबाट विभिन्न प्रयास भए पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको केही महिनाअघि चीन भ्रमणका अवसरमा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन दुवै देशका सरकार प्रमुखबीच सहमति भएको थियो ।

भूकम्पबाट ध्वस्त तातोपानी नाकाको संरचना निर्माण, अस्पतालको पुनः निर्माण र दोलखाको जिरी प्राविधिक विद्यालयको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा दुई बिलियन युआन (करीब ५० अर्ब रुपैयाँ) गत चैत महिनामा दुवै देशबीच हस्ताक्षर भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!