आजसम्म नागरिकता पाइन्, म मरेपछि मेरो लास सेतीमा जलाइदिनू :पुतली बाजे

बिकाश मगर – सेतो छाला। सेतै फुलेका कपाल र दाह्री। सेतै पाइन्ट तर कहीँकतै च्यातिएको र टालिएको, मैलो जमेको। खैरो कुना भएको पारदर्शी चस्मा। कुना भएको पार नीलो पुरानो जस्तो देखिने टिसर्ट। शिरमा नेपाली ढाका टोपी। अंग्रेज लवजमा प्रस्ट नेपाली बोली। हातमा बुढेसकालको साथी लाठी।

यही हो भेट हुँदाको उनको खास हुलिया। उनी अर्थात् बेलायती नागरिक कोलिन स्मिथ (८२)।

उनी नेपालको भदौरे झरीमा ५३ पटक भिजे। यहीँको वसन्त गुराँसे पाखामा ५३औं पटक रमाए। यहीँका चराचुरुंगीका आवाज सुनेरै जवानी बिताए। उनी नेपालकै पुतलीसँग परिचित रहे र उनैको किताब लेखे। ठाउँठाउँमा पुतली संग्रहालयसमेत खोल्न अहोरात्र खटिए। नेपाली राजनीति र शिक्षा क्षेत्रका मुर्धन्य व्यक्तिको सफलतामा खुड्किलो बनेर उभिए।

स्मिथलाई नेपालमा कमैले चिन्छन्। ‘पुतली बाजे’ नामले भने धेरैले। उनले पढाएका एकाध विद्यार्थी र केही पत्रकारले मात्रै वास्तविक नामले चिन्लान्। पुतलीको जाति तथा प्रजातिको खोज अनुसन्धान गर्दागर्दै ‘पुतली बाजे’ उपनाम पाए। धेरैले चिन्ने र सम्झिने नाम पनि यही रह्यो।

आजभन्दा ५३ वर्षअघि नेपालको माटो टेकेका थिए उनले शिक्षकका रुपमा। पोखरा लामाचौरमा रहेको नेपाली आदर्श विद्यालयमा पढाउन बेलायत छोडेर नेपाल आए। ‘त्यतिबेला मेरो प्रिन्सिपल मार्था मुखिया थिइन्, म शिक्षक थिएँ,’ उनी पोखरामा शिक्षक भएर आएपछिका ती पुराना दिन सम्झन्छन्, ‘त्यहाँ मैले दुई वर्ष गणित र विज्ञान पढाएँ।’

लामो समय नेपालमा बसेपछि बाजेलाई यतैको हावा मिठो लाग्यो। यतैको भाषामा रमाए। यतैको गाउँघर प्रिय लाग्यो र प्रिय लागे यतैका फूलफूलमा उडिहिँड्ने पुतली। ‘२०२२ सालमा नेपाल आएपछि बीचबीचमा बेलायत गएँ। तर, यतै (नेपाल) को माया लागेर फर्किएँ,’ उनी भन्छन्।

नेपाली प्रस्ट बुझ्छन् र बोल्छन् पनि। अंग्रेजीमै सोधेको प्रश्नका उत्तर समेत नेपालीमै दिन्छन्।

‘पुतली बाजे’ले गण्डकी (तत्कालीन नेपाली आदर्श विद्यालय) मा पढाउँदापढाउँदै बेलायत फर्काइयो। कारण, उनलाई ‘नेपालमा धर्मको प्रचार गर्नू’ भन्ने आदेश थियो। मानेनन्।

बेलायत गए पनि पछि स्मिथलाई फेरी नेपाल झिकाइयो। त्यसबेला पोखरामा नभएर गोरखा उनको कार्यक्षेत्र तोकियो। त्यहाँ गए उनी अमरज्योति मावि (लुइँटेल) मा शिक्षक भएर। त्यसबेला कक्षाका मेधावी विद्यार्थी थिए, तत्कालीन माओवादी पार्टी तथा हालका नयाँ शक्ति पार्टीका नेता डा बाबुराम भट्टराई। अर्का विद्यार्थी थिए, नेपालमै प्रख्यात चिकित्सक डा उपेन्द्र देवकोटा। दुवैलाई पढाउने मौका पनि पाए उनले। ‘त्यहाँ मैले दुवैलाई कक्षा ९ मा पढाएको थिएँ,’ उनी सम्झन्छन्।

सारा जीवन नेपालको शिक्षा विकासमा अतुलनीय योगदान दिए पनि उत्तरार्धमा उनको साथी एक्लोपना भइदियो। अचेल एकान्त कुनामा बसेर जिन्दगीको जोडघटाउ गरिरहेका छन्। उनले पढाएका ‘ठूला व्यक्ति’ पनि काम विशेषले मात्रै उनलाई भेट्न आउँछन्। त्यतै हुँदा एकाध आएका छन् उनलाई भेट्न डा भट्टराई र डा देवकोटा।

पछिल्लो समय पोखराको सराङकोट क्षेत्रमा उनले सानो झुप्रो बनाएका छन्।

गोरखाबाट फेरि पोखरा नै फर्किए। नेपालको सबैभन्दा ठूलो सरकारी क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसमा पनि पढाए। पिएनमा उनले साइन्स फिजिक्स विषय पढाएको बताउँछन्। भन्छन्, ‘पढाउन त पढाएँ तर, ‘त्यतिबेला प्रिन्सिपल को थियो अहिले उति याद छैन।’

बाजेले त्रिभुवन विश्वविद्यालय काठमाडौंमा पनि पढाए। त्यता रहँदा पनि उनले प्रकृतिकै बारे सोधखोजमा अग्रसर रहे। त्रिविमा पढाउदा पनि उनको मन पुतलीभन्दा टाढा गएन। प्रकृतिसँग नजिक भइरह्यो। काठमाडौंको स्वयम्भूमा उनले बनाउन सहयोग गरेको प्राकृतिक विज्ञान संग्रहालय अझै पनि देख्न सकिन्छ।

पोखरामा रहँदै पुतली बाजेको शरीरलाई क्यान्सरले समायो। अग्लो र डलाग्दो उनको शरीर पातलिएर गयो। भर्ना भए मणिपाल अस्पतालमा। मणिपालले काठमाडौं पठायो। काठमाडौंमा उनको डाक्टर बने उनकै विद्यार्थी उपेन्द्र देवकोटा। निको भए। तर पछि उनले पढाउन तिर लागेनन्, पुतलीकै खोजमा लागे।

पुतलीप्रतिको मोह
सानोमा काका पुतलीको खोज र अनुसन्धानमा लागेको देखेका थिए उनले। त्यसैबाट प्रभावित भएर नै पुतलीप्रति मोहित भएको स्मिथ बताउँछन्। खासमा उनलाई पुतली बाजे भनिनु पनि उनको पुतलीप्रतिको मोह भएर नै हो।

नेपालमा बसेको ५३औं वर्षमा ४० भन्दा बढी जिल्ला घुमे। ‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छोडेँ र लगाएर पुतली खोज्नतिर लागें,’ उनी भन्छन्।

फोटो खिच्न सौखिन उनले २५ हजारभन्दा बढी पुतली संकलन गरिसकेका छन्। जसको प्रमाण पिएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू, काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा देख्न सकिन्छ। ‘पुतलीप्रति मेरो औधी रुचि छ, मैले पुतलीकै जातिप्रजाति बारे किताब पनि लेखेको छु,’ उनी सुनाउँछन्।

बाजेको ३० वटाभन्दा बढी किताब प्रकाशित छन्। ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन्। ‘पुतलीबारे प्राय: नेपालमै अनुसन्धान गरेर लेखेँ, मैले लेखेका किताब नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै बिक्री हुन्छ,’ उनी सुनाउँछन्। पहिलो पटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो। सो किताब उनले सन् १९८९ मा लेखेका थिए।

नेपालमा पाइने ६ सय ६० प्रजातिबारे नेपालीभन्दा उनी नै बढी जानकार छन्। लोपोन्मुख अवस्थामा रहेका विभिन्न जातिप्रजातिका पुतली तथा झ्याउँकिरीबारे अध्ययन गर्नै उनले जीवन लगाए। त्यसैको पुस्तक लेखे, फोटो खिचे।

नेपाली हुन पाऊँ
नेपालमै रहँदा स्मिथका बाबु र आमा पनि बिते। त्यसपछि भने उनलाई झनै स्वदेश पर्किने रहर नै छैन। पहिलेदेखि नै नेपाली हुने इच्छा थियो। पटकपटक पोखराबाट सिफारिस भइसकेको नसुनेका पनि होइनन्, तर, गुमनाम हरायो त्यो खबर।

उनले पहिलो पटक सन् १९९० मा नागरिकताका लागि निवेदन दिएका थिए। तर के भयो त्यो निवेदन उनलाई थाहा छैन। उनलाई मात्रै होइन, प्रशासन र मन्त्रालयका कर्मचारीलाई समेत थाहा छैन।

नागरिकताका लागि निवेदन दिँदा एक पटक जिल्ला प्रशासनका कर्मचारीले १ लाख घुस मागेका रहेछन्। ‘नागरिकता देऊ भनेर एप्लिकेसन दिँदा पनि पैसा दिनुस् न मिलाइदिन्छौं भने कस्ता मान्छे?’ उनी प्रश्न गर्छन्। सबै कागजपत्र मिलाउँदा पनि बाजे आफूले नागरिकता नपाएको गुनासो गर्छन्। पछिल्लो समयको भेटमा पनि उनी प्रशासन कास्कीको कार्यालयमै भेटिए, कारण उही थियो– नागरिकताको निवेदन।

बाजेले यसरी कार्यालयको कोठाकोठा र प्रशासन धाएको पनि ३०औं वर्ष भइसक्यो। प्रत्येक पटक आश्वासन पाउँछन् तर, नतिजा भने शून्य।

जीवनभर नेपालका लागि काम गरे। तर, जब उनलाई नेपालको आवश्यक पर्यो न सान्त्वना दिएको छ न त सहयोग नै। ‘बूढो भयो ज्यान राति निद्रा लाग्दैन। पटक पटक पिसाब फेर्न जानुपर्छ। राम्रोसँग हिड्न सकिँदैन,’ उनी दुखेसो पोख्छन्।

बाजेले बिहे पनि नेपाली ‘बज्यै’लाई नै गरे, २०६५ सालमा। तर, सँगै बस्दैनन्। बिहे दर्ता पनि छ। तर, कागजी बिहेमात्रै भएको हो। सारा जीवन नेपाली माटोको सुगन्धमा बिताएका उनै ‘कुइरे’ बाजेको अब एउटै रहर छ ‘नेपाली हुन पाऊँ’।

‘नेपाली भएर मर्ने मन छ,’ स्मिथ भावुक हुँदै भन्छन्, ‘म क्रिस्चियन हुँ तर पनि म मरेपछि मेरो लास सेतीमा जलाइदिनू।’

नेपाललाइभबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!