विश्व विजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौँ । युइएफए नेशन्स लिगमा विश्व विजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको छ । रुस विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि उचालेको फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले सुरु गरेको युरोपका देशहरुबिचको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिगको लिग ए अन्तर्गतको खेलमा फ्रान्सले गोल गर्न नसकेको हो । जुलाईमा क्रोएसियालाई हराएर विश्व विजेता बनेपछिको यो पहिलो खेल थियो । जर्मनीको पनि समूह चरणबाटै बाहिरिएपछिको पहिलो खेल हो ।

समूह ए वान अन्तर्गत रहेका फ्रान्स र जर्मनीले अब नेदरल्याण्डसँग खेल्ने छन् । नयाँ प्रतियोगिता नेशन्स लिगको लिग ए का लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा बाँडिएको छ ।

लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोर सम्मका समूहमा विभाजन गरिएको छ । होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरु आउँदो जुनमा हुने फाइनल चरणका लागि जाने छन् । यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ ।

नेशन्स लिगको लिग एमा बेल्जियम, आइसल्याण्ड र स्वीट्जरल्याण्ड समूह ए टू, इटाली, पोल्याण्ड र पोर्चुगल समूह ए थ्री तथा क्रोएसिया, इंग्ल्याण्ड र स्पेन समूह ए फोरमा छन् । नेशन्स लिग लिग ए देखि लिग डी सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!