खोलाले बगाउँदै गर्दा आमाले इशारा गरेकी थिइन्, ‘बाबु तँ जा!’

दमक : झापाका गाउँपालिका– २ का १७ वर्षीय राजकुमार घोर्साने गत शुक्रबार आमा र बहिनीसँग बसेर राति अबेरसम्म टीभी हेरे। त्यतिखेरसम्म उनले अाभाषासम्म पाएका थिएनन्, आमा घनमाया र बहिनी १५ वर्षीया कमलासँगै बस्ने उनको अन्तिम दिन हो। उनीहरू राति १० बजेतिर सुते।  मध्यरातमा राजकुमारलाई पिसाबले बेस्मारी च्याप्यो। बिउँझिदै गर्दा उनले पाए, अोछ्यान  त छपक्कै भिजिसकेको रहेछ। छानामा हेरे। पानी चुहिएको थिएन। उनी उठेर पिसाब फेर्न जान खोजे तरघरभित्र आहाल जमिसकेको रहेछ। पानी घुँडासम्म आइसकेको थियो। उनी हतार हतार आमा र बहिनीलाई उठाउन लागे। घरमा ६ जनाका परिवार भनएपनि बुबा भारतमा काम गर्छन्। कान्छी बहिनी र हजुरआमा त्यो दिन बढा बुबाकोमा गएका थिए। उनी सम्झिन्छन्,‘घरमा पानी जमेपछि ममीले मलाई आन्टीकोमा जाऊँ भन्नु भयो, तर मैले हाम्रो घरदेखि दुई घर तल रहेको फुपुकोमा जाउँ भने उहाँ मन्नु भएन।’

‘हात समाएको समायै मध्यरातमा अामा र बहिनीलाई खोलाले लग्यो’

त्यसपछि उनी बाहिर निक्लिए । बाहिर आउँदा छिमेकीको घरमा गाईबस्तु छोड्दिँदै रहेछन्। उनी पनि आफ्ना गाई छाड्न लागे तर उनलाई आमा घनमायाले दिइनन्। ‘ममीले नदिएपछि म एउटा हातमा बुनु र एक हातमा ममीलाई समाएर आन्टीको घर तर्फ लागेँ’, उनले भने, आन्टीको घर जान सानेमाई खोला तर्नुपर्‍थ्यो। उनले आमा र बहिनीलाई आन्टीको घरमा पुर्याएर आई गाई छोड्ने सोच बनाएका थिए। घर नजिकै रहेको पैनीमा पनि कम्मर कम्मर पानी थियो। पैनीले नै आफूहरुलाई बगाउन सुरु गरेको उनी सम्झन्छन्। ‘दुई जनालाई एक एक वटा हातमा समातेको हुनाले मलाई धेरै गाह्रो भयो, हामी पछारियौँ। ममीले मलाई थिच्नु भयो’, राजकुमारले भने, ‘करिब तीन सय मिटर बगेपछि थाहा पाएँ, हामी सानो माईखोलामा पुगिसकेछौं।’  ‘खोलामा पुगे पछि मलाई अब ममी र बुनुलाई बचाउन सक्दिन जस्तो लाग्यो।

मलाई पनि धेरै गाह्रो भइसकेको थियो’, उनले भने, ‘बहिनीले धेरै पानी खाइसकेकी थिई, केही समयपछि उसले मलाई समाएको हात चिसो भयो र हात छोडियो।’ त्यसपछि  बहिनीलाई तान्ने धेरै प्रयास गरे पनि नसकेको उनी बताउँछन्। कुराकनीको सिलसिलामा उनी केही समय भक्कानिए। ‘मैले ममीलाई समाएको हात पनि छोडियो, उहाँले हातको चालले ‘तँ जा’ भनेर दुई पटकसम्म भन्नुभयो।’ त्यसपछि उनी खोलाबाट जसोतसो निक्लिए। उनी भन्छन्, ‘सानैदेखि खोला छेउमा बसेको हुनाले खोलामा पौडिन आउँथ्यो र बाँचे।’ त्यसपछि उनले आफ्ना बढाबाकोमा आउने धेरै प्रयास गरे तर सकेनन्।  आमा र बहिनीको अवस्था बताउन झापा बजारमा रहेको प्रहरी चौकी पुगे। तर प्रहरी उद्धारमा गएकाले भेटेनन्। त्यसपछि  उनी आफू जस्तै दुःखमा परेकालाई सहयोग गर्नतर्फ लागे। रातभरि नै उद्धारमा खटिए ।

शनिबार बिहानै बढाबाकोमा पुग्दा आमाको लाश अलि तल फेला परेको थाहा पाए। उनलाई मन थाम्न धेरै मुस्किल पर्‍यो। बहिनी कमलाको शव अझै फेला परेको छैन। महिला स्वास्थ्य स्वयंसेविका घनमाया स्थानीय सानो कनकाई बाल विकास केन्द्रमा समेत पढाउँथिन्। उनका श्रीमान भीम भने अझै पनि छोरी कमलाको खोजीमा नदी किनार भौंतारिरहेका छन्। राजकुमार भन्छन्, ‘ममी र बहिनीहरूलाई खुशी राख्ने धेरै सपना थिए तर एकै रातमा चकनाचुर भयो।’ कनकाई क्याम्पस बिर्तामोडमा कक्षा ११ मा अध्ययनरत उनले अझै पनि हिम्मत हारेका छैछन्। भन्छन्,‘ कान्छी बुनु र बाबाका लागि केही गरेर ममी र बुनुको सपना पूरा गर्नुछ।’  कमला नजिकैको एक निजी विद्यालयमा कक्षा ९ मा पढ्थिन ।

उनको पढाई पनि राम्रै थियो।  ‘डाक्टर पढ्ने बुनुको ठूलो धोको थियो’, उनले भने, ‘उसको सपना सानो माईसँगै बगेर गयो।’ कान्छी बहिनीलाई डाक्टर पढाएरै छाड्ने उनको अठोट छ।  राजकुमारका ठूलाबुबा दुर्गाबहादुरले भने त्यसै दिन बिहान आमा र कान्छी छोरी रोजिकालाई लिएर गएकाले थप अप्रिय घटना हुन नपाएको बताए। उनले भने, ‘धन्न आमा र कान्छी छोरीलाई बिहानै लिएर नगएको भए अझै क्षति हुने रहेछ।’ दुर्गाबहादुरले आफूहरूलाई यत्रो दुःख पर्दा एक जना पनि जनप्रतिनिधि सान्त्वना दिन नआएको दुखेसो गरे ।
Source: Thahakhabar.com

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!