घाइतेलाई हेलिकोप्टर भन्दा डेढ सय मिटर तल भिरबाट उद्धार गर्यौं -उद्धारकर्ता

धादिङ : गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका-१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

घटनास्थलमा उद्धारका लागि पुगेका थिए नेत्रावती गाउँपालिका-३ सेमजोङका स्थानीय सुकराम तामाङ। उनका अनुसार मृतकको शव छरिएको अवस्थामा भेटिएका छन्। ‘तीन शव हेलिकोप्टर भित्रै थिए। हेलिकोप्टर रुखका हाँगाले अल्झिएर झिक्नै नसक्ने अवस्था छ। एउटा शव हेलिकप्टर भन्दा १० मिटर पर भीरमा, अर्काे एउटा ५० मिटर जति पर भेटिएको छ’, टेलिफोनमा कुराकानी गर्दै तामाङले भने, ‘दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलटको शव भने आफ्नै सिटमा भेटिएको छ।’

दुर्घटनामा गम्भीर घाइते भएकी गामी डोल्मा डिक्कीलाई भने हेलिकप्टर भन्दा डेढ सय मिटर तल भीरमा लहरामा अड्केकाे अवस्थामा उद्धारकर्मीले फेला पारेको सुकरामले बताए।

धादिङ सेमजोङ घर भएका शुकरामले बिहान ११ बजेतिर खोजी तथा उद्धारको लागि सेमजोङका गाउँमा हेलिकोप्टर गएपछि दुर्घटना भएको थाहा पाएको बताए। दुर्घटनास्थल पुग्न उनको गाउँमा २ घण्टा पैदल हिड्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!