प्रहरीको टोली प्रकाण्डको घरमा कोसेली बोकेर किन पुग्यो ?

कालिकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको घरमा प्रहरीको टोली पुगेको छ । नेकपाको राजधानीका रुपमा चिनिएको कालिकोटको नरहरिनाथ गाँउपालिका–६ माल्कोटस्थित प्रकाण्डको घरमा जिल्ला प्रहरी कार्यालयय कालिकोटका प्रमूख डिएसपी विनोद शर्माको नेतृत्वको प्रहरी टोली पुगेको हो ।

माल्कोटस्थित प्रकाण्ड जन्मको घरमा बहिनी जैपुरा बिक र बुवा पहलबहादुर बिक बस्दै आएका छन् । डिएसपी शर्मासहितको प्रहरी टोलीले प्रकाण्डका बुवा र बहिनीसँग भेट गर्नुका साथै कोसेली पनि दियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शर्मासहितको प्रहरी टोली नरहरिनाथ गाँउपालिका–१ कोटवाडा हुँदै नेकपाका पोलिट्ब्युरो सदस्य एटम बिसीकी आमासँग भेट गर्दै कुमालगाँउ भएर प्रकाण्डको गाउँ माल्कोट र नेकपाका केन्द्रीयस्तरका कार्यक्रम हुने माल्कोटकै जंगलको समेत अनुगमन गरी फर्किएको छ ।

प्रहरीको टोली प्रकाण्डको घरमा कोसेलीसमेत बोकेर पुगेको हो । प्रहरीले लगेको कोसेली प्रकाण्डकी बहिनी जैपुरालाई दिइयो । परिवारका धेरै सदस्य जनयुद्धमै मारिएका तथा प्रकाण्डसमेत नबस्ने भएकाले यो घर रेखदेको जिम्मेवारी जैपुराकै काँधमा आएको छ।

‘हामीले के पायौँ ? जनयुद्ध भयो, दुई दाजुभाइ गुमायौँ । अहिले दाजु प्रकाण्डलाई पनि ठाँउ ठाँउमा पक्राउ गरी हिरासतमा राखिरहेका छन्’, प्रहरी टोलीसँग कुराकानी गर्दै प्रकाण्डकी बहिनी जैपुरा बिकले भनिन्, तपाईँहरुले दाइलाई पक्राउ नगरिदिनुस् । भेट्टाए पनि नभेटेको रिपोर्ट गर्नुस । हामी उही पीडामा छौँ । दाजुभाइ सबै भएको भए माइत बस्नुपर्ने थिएन । अहिले माइत बसेर आमा बुवाको रेखदेख गर्नुपरेको छ ।’

जनयुद्धमा आफन्त गुमाएका सहिद परिवारहरुले केही नपाएको गुनासो पनि उनले गरिन् । ‘एक दुईजना सांसद बने, मन्त्री बने । हाम्रो न जीवन फेरियो, न अवस्था नै’, ‘भाइ बहिनीको बलिदानीको सम्मानका लागि झण्डा बोकेर हिँड्न बाध्य छौँ । बरु ज्यान गए जान्छ । दुई भाइ र एक बहिनी गुमिगए, बुवाले कहिलै सुख पाएनन् ।’

माओवादीको बुवा भनेर द्वन्द्वकालमा प्रहरीबाट कुटाई खानुु परेको पनि उनले गुनासो गरिन् । ‘बुवाले कुटाइ खाँदा उनको गल्ती छैन भनेर कसैले भनेनन्’, उनले दाजुको पटक पटकको गिरफ्तारीलाई संकेत गर्दै भनिन्, ‘एकै ठाँउको हिरासतमा दाइ भएको भए भेट्न जान हुन्थ्यो । कहिले काठमाडौँ, कहिले भोजपुर, कहिले दाङ, कहाँ गइसक्ने हो ?’

जनयुद्धको समयमा प्रकाण्डका भाइ कोपिला र युद्धा लडाईमै ज्यान गुमाएका हुन् बहिनी मानुषी शान्ति भएपछि घाँस काट्न जाँदा भीरबाट लडेर ज्यान गुमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!