प्रधानसेनापति फेरिएकै भोलिपल्ट भारतीय राजदूत पुगे भेट्न

काठमाडौँः नेपाली सेनामा नयाँ प्रधानसेनापतिमा नियुक्त भएकै भोलिपल्ट भारतीय राजदूत मञ्जीवसिंह पुरी भद्रकालीस्थित जंगी अड्डामा पुगेका छन् । पूर्णचन्द्र थापा प्रधान सेनापतिमा नियुक्त भएको भोलिपल्ट अर्थात् आइतवार राजदूत पुरीले जंगी अड्डामा पुगेर उनलाई भेटेका हुन् ।

भेटका क्रममा प्रधानसेनापति थापा र भारतीय राजदूत पुरीबीच द्विपक्षिय आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भारतको अगुवाइमा पुणेमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास चलिहेकै बेला पुरी जंगी अड्डामा पुगेका थिए ।

यसअघि भदौ १४ र १५ गते काठमाडौँमा भएको बिम्स्टेकको चौथो सम्मेनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सदस्य राष्ट्रका सैनिकहरुको संयुक्त अभ्यास पुनेमा हुने बताउँदे त्यसमा नेपाल पनि सहभागी हुने उल्लेख गरेका थिए ।

तर, बिम्स्टेकको लक्ष र उद्धेश्यविपरित हुन लागेको सैन्य अभ्यासले नेपालको असंलग्नताको नीतिमा दखल पुग्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाली सेनाको टोली सोमबार भएको सैन्य अभ्यासमा सहभागी भएन ।

बिम्स्टेक सदस्य राष्ट्रका सैनिकहरुको संयुक्त अभ्यासमार्फत् भारतले तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानलाई तर्साउन खोजेको निचोड सैनिक विज्ञहरुले निकालेका छन् ।

पाकिस्तानलाई अलग्याएर बनाइएको बिम्स्टेकमा बंगालको खाडी अन्तरगतका सात राष्ट्र सदस्य छन् । तर बिम्स्टेकले सैन्य गतिविधिको भने वकालत गर्दैन । त्यसको प्रावधानविपरित भारतले आफ्नो अगुवाइमा सोमबार सैन्य अभ्यास गरेको हो ।

नेपालले बिम्स्टेक राष्ट्रको सैन्य अभ्यासमा भाग नलिए पनि निकट भविष्यमा चिनियाँ सेनासँग भने संयुक्त सैन्य अभ्यास गर्ने कुरामा सहमति जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!