शिशुको शव भेटिएपछि २२ बर्षीय युवती स्नेहाले रोजिन आत्महत्या

चैत १७ गते भीरकोट नगरपालिका ७ खिलुङ्स्थित गम्बरबहादुर अघिकारीको बारीमा नवजात शिशुको शव भेटियो। गाउँलेहरुले वडाध्यक्ष शेषकान्त अर्यालमार्फत प्रहरीलाई यस घटनाबारे खबर गरे।नगरप्रमुख छायाराम खनालसहितको टोलीसँगै धोवादी जाँदै गर्दा कुकुरले बच्चा ल्याएको सूचना आएपछि वडाध्यक्ष अर्यालले नै प्रहरीलाई खबर गरेका थिए।

भोलिपल्ट घटनास्थल पुगेको प्रहरीको टोलिले गाउँलेको दबाबमा यस घटनाको खोजि गर्यो। प्रहरीले दिउँसो १ बजे स्थानीय बेगबहादुर अघिकारीको मलखाद नजिक गाडेको अवस्थामा सालनाल भेटायो। गाउँलेहरुले बच्चाको ‘आमा’ खोज्न दबाब दिएपछि गाउँका १७ वर्ष माथिका र ४० वर्ष ननाघेका युवतीलाई भेट्ने सूचना प्रसार गरियो।

सोहि दिन साँझ ६ बजेतिर जसको (बेगबहादुर अधिकारि) मलखाद नजिक गाडेको अवस्थामा सालनाल भेटियो, तिनकै २२ वर्षीया अविवाहित छोरी स्नेहा अधिकारिले आफ्नै घरको काठ बलोमा सलको पासो घाटीमा लगाई झुण्डिएको अवस्थामा भेटिईन। गाउँलेले पासो काटी स्वास्थ्य केन्द्र लगे तर वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले स्नेहालाई जीवित नरहेको घोषणा गरे।

नवजात शिशुको शव र आत्महत्याबीचको सम्बन्ध केलाईरहेको प्रहरी त्यतिबेला अचम्मित भयो जब आत्महत्या गरेकी आफ्नी छोरी र मृत भेटिएका शिशुको शव माग गर्दै थप अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिए।

शिशु आफ्नी छोरी स्नेहाले नै जन्माएको हुनसक्ने भन्दै बाबु बेगबहादुरले छोरी र शिशुको जिम्मा माग गर्दै प्रहरीमा थप अनुसन्धानका लागि जाहेरी दिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरी डीएनए परीक्षणको लागि नमूना संकलन गरेर दुबै शव अन्तिम संस्कारको लागि जोहेरीवाला बेगबहादुर अधिकारीको जिम्मा दिइएको जनाइएको छ।

दबाबका कारण स्नेहाले आत्महत्याको बाटो रोजेको प्रहरीको आशंका

महिना पुगेको नवजात शिशुको शव फेला परेको खबर प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीको टोलिले प्रारम्भिक अनुसन्धानबाटै गाउँलेकै कुनै महिलाबाट यस्तो घटना भएको आशंका गरेको वडा प्रहरी कार्यालय वालिङका एक अधिकारिले बिजपाटीलाई बताए।

उनकाअनुसार प्रहरीले आन्तरिक अनुसन्धान मार्फत घटनामा संलग्नलाई पक्राउ गर्ने र कानुन बमोजिम कारबाही गर्ने रणनीति अपनाएको थियो। तर गाउँका केहि भद्रभलाद्मीहरुले तत्कालै अनुसन्धान गरि यस्तो घटना घटाउनेलाई कारबाही गर्न दबाब दिए। जसकारण समाजको दबाब थेग्न नसकेपछि स्नेहाले आत्महत्याको बाटो रोज्न बाध्य भईन।

गाउँलेले दबाब नदिएको भए स्नेहाले कानुनि सजाय भोगेपनि ज्यान गुमाउनु नपर्ने प्रहरीको बुझाई छ। ‘डाक्टरले जन्मिदा जीवित नै भएको भनेको छ, घटना बाहिर आउने डरले शिशुको हत्या गरिएको देखिएको छ, सुत्केरीलाई ल्याएर राख्ने मिल्ने जेल पनि छैन, केहि समयपछि प्रहरीले कानुन बमोजिम कारबाही गर्थ्यो तर ति युवती (स्नेहा) ले बाच्न पाउने अधिकार भने गुमाउने थिइनन’ ति प्रहरी अधिकारिले बिजपाटीका सम्बाददातासंगको कुराकानीमा बताए।

खोजि कार्य जारि

स्नेहाको मृत्यु भएपनि यो घटना यहि नसकिएको प्रहरीको भनाई छ। ‘जे नहुनु थियो त्यो भईसकेको छ, तर पोस्टमार्टम रिपोर्ट आइसकेको छ, त्यसकै आधारमा थप अनुसन्धान गरिरहेका छौं, बाउ को हो भन्ने खोज्दै छौ’ ति प्रहरी अधिकारिले बताए।

प्रहरीले पोस्टमार्टम तथा डीएनए परीक्षणको रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी दिने जनाएको छ। मृत स्नेहा र शिशुको स्नेहाका बावु बेगबहादुरले मंगलबार नै अन्तिम संस्कार गरेका छन्।

मोहम्मद अज्मत अलि/बिजपाटी

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!