हाम्रा पितापूर्खाले अस्पताल धाएनन तर लामो आयु बाँचे ! अब हामीले के सिक्ने त ?

तपाईंको पेट खराब भयो । टाउको दुख्यो । हनहनी ज्वरो आयो । आँखा चिलायो । छाती पोल्यो । सास फेर्न असहज भयो । के गर्नुहुन्छ ? निसन्देहः हतार हतार दबाई किन्नुहुन्छ र चपाउनुहुन्छ ।

अझ हाँच्छ्यु आयो । कोखी लागे जस्तै भयो । शरीर कताकता बिसञ्चो भए जस्तै भयो । तपाई खुरुरु कुदेर औषधी पसल पुग्नुहुन्छ । डिकोल्ड, सिटामोल किनेर खाइहाल्नुहुन्छ ।

तपाईंको परिवारमा यस्ता सदस्य छन्, जो दबाई खाँदैनन् । जवाफ नकारात्मक आउन सक्छ । किनभने अहिले हामीले दबाईलाई भोजन, वायु, पानी जस्तै अनिवार्य खुराकको रुपमा लिन थालेका छौं । हामीलाई लाग्छ, दबाई खाएपछि ठिक हुन्छ ।

दबाई कसरी बन्छ ? दबाईले शरीरभित्र कसरी काम गर्छ ? शरीरभित्र दबाईले कुन अंगमा कस्तो असर पुर्‍याउँछ ? हामीलाई हेक्का छैन । यसबारे हामीले सोचेका पनि छैनौ । हामीलाई लाग्छ, दबाई भनेको यस्तो चिज हो, जसले कुनैपनि शारीरिक समस्या छुमन्तर गरिदिन्छ । वा क्षणभरमा हटाइदिन्छ ।

तर, दबाई सम्पूर्ण उपचार होइन । यो रोकथाम हो । कतिपय अवस्थामा दबाईले रोग निको पार्न काम गर्छ । तर, सबै अवस्थामा दबाई उपयुक्त खुराक होइन । भनाई नै छ, दबाईले केवल दबाउने काम गर्छ । तपाईंलाई रुँघा लागेको छ, डिकोल्ड चपाउनुहुन्छ । त्यसले तपाईंको रुँघा दबाउँछ ।

तर, रुँघा आफैमा रोग होइन । यो संकेत हो, ज्यानमा चिसो बढेको । यसका लागि सर्वोत्तम विकल्प त तातो पानी पिउने हो, तात्तातो सुप पिउने हो । शरीरलाई न्यानो बनाउने हो ।

अतः हामीले कुनैपनि रोगबाट उम्कन वा मुक्त हुनका लागि जसरी दबाईलाई भरपर्दो खुराक ठान्छौ, त्यो सही होइन । वास्तवमा दबाई नखाई अरु नै प्राकृतिक विधी अपनाउनु राम्रो हो । अझ त्यो भन्दा राम्रो त , दबाई खाने अवस्था आउनै नदिनु हो । तर, कसरी ? के दबाई सेवन नगरी हामी निरोगी हुन सक्छौ ?

हाम्रा पितापूर्खाले दबाई खाएनन् । अस्पताल धाएनन् । उपचार गराएनन् । शल्यक्रिया गरेनन् । यद्यपी उनीहरु निरोगी थिए । लामो आयु बाँचे । बलियो थिए । अहिलेपनि गाउँघरतिर सुनिन्छ, कति बुढापाकाले कहिल्यै दबाई खाएनन् । अस्पतालको आँगन कहिल्यै टेकेनन् । डाक्टरलाई कहिल्यै भेटेनन् ।

हुन त त्यो जमना पनि फरक थियो । अहिले जस्तो प्रदूषण, विषादी, कृतिमता थिएन । पर्यावरण शुद्ध थियो । खानेकुरा शुद्ध थिए । साथसाथै जीवनशैली एवं रहनसहन पनि प्राकृतिक थियो । कृतिमता थिएन । उनीहरुले चाउचाउ वा प्याकेटबन्द खानेकुराले भोक टारेनन् । मःमः चाउमिन, पिज्जा, बर्गरले पेट भरेनन् । मोजमस्ती, ऐशआरममा जीवन कटाएनन् । हरवखत शारीरिक श्रम गरे । आफ्नै हातले उब्जानी गरेका खाए । आफैले पकाएर खाए । त्यही कारण उनीहरुले जीवन शान्तसाथ विताए । ऐयाअत्था गर्नुपरेन ।

अतः हामीले पनि उनीहरुबाट केही सिक्न सक्छौ । किनभने स्वास्थ्य रहने एवं निरोगी रहने उपाय भनेको दबाई खानु होइन् । अस्पतालको भर पर्नु होइन । बरु, आफ्नै दिनचर्या सन्तुलित र सही राख्नु हो ।

दिनचर्या बदलौ

तपाईं कतिबजे उठ्नुहुन्छ ?

६, ७ वा ८ बजे । अर्थात झलमल्ल घाम लागिसकेपछि । वा घाम छिप्पिदै गर्दा ।

उठ्नसाथ के गर्नुहुन्छ ? शौच क्रिया ? सरसफाई ? व्यायाम ? योग वा ध्यान ? संभवत तपाईंले ‘त्यस्तो केही गरिदैन’ भन्ने भावमा टाउको हल्लाउनुहुन्छ । बरु उठेर चिया पिउनुहुन्छ । चुरोट सल्काउनुहुन्छ । कुर्सीमा उपरखुट्टी लगाएर पत्रिका पढ्नुहुन्छ । वा फेसबुक चलाउनुहुन्छ ।

खाना कतिबेला खानुहुन्छ ? खाना कस्तो हुन्छ ?

यसमा पनि तपाईंको जवाफ फटाफट नआउन सक्छ । किनभने कामको व्यस्तता, हतारोले तपाईंलाई खाने फुर्सद नहुँदो हो । खाने टुंगो नहुँदो हो ।

साँझ कतिबेला घर र्फकनुहुन्छ ? कतिबेला सुत्नुहुन्छ ?

सायद राती अबेर घर र्फकनुहुन्छ । त्यसको पनि निश्चित टुंगो नहुन सक्छ । साथीभाईसँग जमघट गर्न सकिन्छ । कतै भेटघाट रमाइलो गर्न सकिन्छ । सुत्ने कुरा त निश्चित हुने नै भएन ।

हो, यस किसिमको अस्तव्यस्त दिनचर्याले हो, हामीलाई दबाई खानुपर्ने अवस्थामा पुर्‍याएको । हाम्रा दैनिकी सन्तुलित छैनन् । हाम्रा दिनचर्या अनुशासित छैनन् । हामी शरीरको आवश्यक्ता अनुसार न काम गर्छौं, न खान्छौं, न विश्राम गर्छौं ।

शरीरलाई भन्दा आफ्नो मर्जीलाई सर्वोपरी ठान्छौ । यसैले त हामीलाई शरीरले धोका दिन्छ । शरीरले दुःख दिन्छ ।

बिहान सूर्योदयअघि उठ्ने । शौच क्रिया गर्ने । सरसफाई गर्ने । प|mेस हुने । योग, ध्यान, व्यायाम गर्ने । ताजा वा पोषिलो नास्ता खाने । दिनभर सक्रिय रहने । सकारात्मक रहने । खुसी रहने । पर्याप्त पानी पिउने । राती सही समयमा घर र्फकने । सही समयमा ओछ्यानमा पुग्ने । विश्राम गर्ने । बस् । यति गरेपछि दबाई खानुपर्ने अवस्था नै आउँदैन । तर, एउटा दिन पनि हामी यति सन्तुलित र अनुशासित ढंगले किन विताउन सक्दैनौ ?

अनलाइनखब

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!