२२ बर्षको कलकहलाउदो उमेरमै मृत्युको मुखमा पुगिन सन्तु, रूदै आफूलाई बचाउन बिन्ती गरिन्

रुमानी कल्पना र शैलानी रहरहरुलाई मनभित्र सजाउँदै माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षिया एक युवती मृत्युसंग जुधिरहेकी छन् । पक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोख्रेल अस्पतालको शैयाबाट बलिन्धारा आँशु निकाल्दै आँफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसंग पुकारा गरिरहेकी छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ गौश्वाराकी २२ बर्षिया सन्तु पोख्रेल अहिले जीवन मरणको दोसाँधमा अस्पतालको शैयामा छट्पटाइ रहेकी छन् । दुई वर्ष अघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपनाहरु भताभुङ भएका छन् ।

उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुङ्गो नभएकी सन्तु अस्पतालको शैयाबाट जुम्लेहात जोडदै आफूँलाई बचाउन याचना गरिरहेकी हुन् । सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरुलाई नै धिक्कादै परोपकारी संघसंस्था र दाताहरुलाई गुहारी रहेका छन् । ४ छोरी र १ छोराको पालन पोषण,शिक्षा दिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोख्रेल अव छोरीको उपचारका लागि खर्च गर्न १ सय रुपैयाँ पनि साथमा नभएको बताउछन् ।

‘जो होंचो उसैको मुखमा घोचो’भनेझै भएको छ मलाई’ छोरीको उपचारका लागि पोखरा रहनुभएका सन्तुका बुबा सूर्यले टेलिफोनमा भने– ‘२०७० सालदेखि छोरीको उपचार गर्दै आएको छु, पहिला मुटुको अप्रेशनका लागि पनि उत्तिकै खर्च भयो,देश विदेशमा रहेका आफन्त र नेपाली दाजुभाइहरुले पनि सहयोग गर्नुभयो, भएको सम्पत्ति छोरीको उपचारमा सकियो, ५÷५ ओटा छोराछोरी छन् के गरी पाल्ने होला ?’ ‘छोरीको थप उपचारका लागि जहाजबाट काठमाण्डौं लैजानु पर्ने चिकित्सकले बताएका छन्’ सूर्यले रुन्चे स्वरमा भने ।

‘गाडीबाट लैजान सक्ने अवस्था छैन,काठमाण्डौ पु¥याउने हो भने बचाउन सकिएला’ सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्घृत गर्दै सूर्यले भने ‘साथमा १ सय रुपैयाँ पनि छैन,कहाँबाट छोरीलाई जहाजमार्फत काठमाण्डौं लैजाऊँ ।’ अहिले सन्तुलाई अस्पतालको आइसियू कक्षमा राखिएको र दैनिक १० हजार रुपैयाँ औषधी र अन्य चार्जको रुपमा खर्च हुने गरेको उनले बताए । गाउँमा बचेको अलिकति जग्गा र वास वस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिन्जेलसम्म छोरीको उपचार गराइएको बताउने सूर्यले अव उपचारका लागि आफूसंग पैसा नभएको र सहयोगी दाताहरुको खोजीमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!