के के हुन्छ त ठमेल बजारभित्र ?

२७ चैत, चितवन । सौराहा पुग्ने हरेक पर्यटकको चाहना हुन्छ, शान्त प्राकृतिक वातावरणमा रमाऔं । हुन पनि चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहा पर्यापर्यटनका लागि नामी छ, जहाँ मनोरम प्राकृतिक वातावरणमा एकाकार हुन सकिन्छ ।

तर, सौराहामा पर्यटक र प्रकतिबीचको तादात्म्य पहिलेजस्तै छ त ? अनुभवीहरुको उत्तर छ– ‘अहँ, छैन । प्राकृतिक–सांस्कृतिक वातावरणमा कृत्रिम सहरी प्रभाव हावी हुँदै गएको छ, जसले सौराहाको भविश्यलाई अप्ठ्यारो पार्न सक्छ ।

‘ब्रान्डिङ’ ध्वस्त हुने चिन्ता

काठमाडौं र पोखरापछि नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य हो, सौराहा । नेपाल आउने कुल विदेशी पर्यटकमध्ये २० देखि २२ प्रतिशत सौराहसहित चितवनका पर्यटकीय क्षेत्रमा पुग्छन् । पर्यटक आगमनको यो दरले व्यवसायीहरुमा उत्साह थपेको छ । सँगसँगै सौरहाको मौलिकता हराउँदै जाँदा चिन्ता पनि बढेको छ ।

पूर्वपश्चिम राममार्गमा बनेको सहर रत्ननगरको चोकबाट मोटरबाट करिब २० मिनेटमा पुगिने सौराहा पहिले जस्तो शान्त छैन । सौराहालाई पनि ‘विकास’ले लपेटिसकेको छ ।

प्राकृतिक सौन्दर्य र थारु संस्कृतिबाट ‘ब्राण्डिङ’ भएको सौराहामा अहिले त आन्तरिक पर्यटकको चाप बढेको छ । बजार वाह्य र आन्तरिक पर्यटकले बिहानैबाट भरिभराउ हुन्छ । होटल–रेस्टुरेन्टदेखि चिया बेच्ने ब्यापार व्यवसाय मौलाएको छ । योसँगै आधुनिक भौतिक संरचना निर्माण र पश्चिमा शैली ‘डिस्प्ले’ बढेको छ ।

व्यवसायिक नजरले हेर्दा सौराहा निश्चय नै प्रगति पथमा लम्किरहेको देखिन्छ । दिनानुदिन आर्थिक उन्नति गरिरहेको यो सहरले पर्यटकको मन जित्ने गरी सेवा पनि दिएको देखिन्छ ।

तर, सौराहाको विश्वभर भएको ‘ब्राण्डिङ’ अनुसारको मौलिकता भने ध्वस्त हुन लागेको छ ।

‘सौराह बजार छेउमा न मयुर, न गैँडा’

सातवर्षपछि सौराहा आएका बुटवलका नीलमणि भट्टराईलाई यहाँको रौनकले झस्कायो । ‘म सातवर्षअघिको ‘इम्प्रेसन’ लिएर सौरहा आएको हुँ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘तर, झन्डैझण्डै काठमाडौंको ठमेल गएजस्तो पो हुन लागेछ ।’

यसपटक उनलाई प्रकृतिको सुरम्य काँखमा नभई कुनै नयाँ व्यापारिक सहर पसेजस्तो लाग्यो ।

हुनपनि अहिले राप्ती नदी छेउसम्मै अनेक प्रकार रंगीबिरंगी पसल र होटलहरु बनेका छन् । ‘पहिले मैले यही किनारमा गैंडा मात्र हैन, मयुरको नाच पनि हेरेको थिएँ’, भट्टराई भन्छन्, ‘यसपटक दुई घण्टा नियाल्दा न गैंडा देखियो, न एउटा मयुर ।’

उनका साथी रमेश गिरीले सौराहा अब ‘मास टुरिजम’तिर लागेको विश्लेषण सुनाए । मान्छे प्रकृति हेर्न आउँछन्, तर सौराहा कृत्रिम बनेको टिप्पणी उनले गरे । ‘जंगल सफारी मात्रले सौराहाको विशेषता जोगाउँदैन’, उनी भन्छन्, ‘राप्तीको शालिनता, किनारमै आएर नाच्ने मयुर, गैँडा, गोहीको पर्यावरण बचाउनुपर्छ ।’

सौराहाका थारुहरुको रहनसहनको मौलिकता पनि जोगाउनैपर्नेमा गिरीले जोड दिए । ‘यही ताल हो भने सौराहा पनि गोवाको सुमन्द्र तटजस्तो कोलाहलपूर्ण बन्छ,’ उनले भने, ‘त्यो बेला मानिसहरु राप्ती किनार किन आउलान् र ।’

स्थानीयलाई कति बोध छ ?

सौराहाका साना किराना व्यवसायी संघका पूर्वअध्यक्ष पूर्ण रिजाल पर्यापर्यटनको केन्द्र सौराहामा त्यस प्रतिकुलका गतिविधिलाई पुर्णतः निरुत्साहित पार्नुपर्ने बताउँछन् । सौराहामा अहिले जे भइरहेको छ, त्यसले सुखद् प्रतिफल नदिने उनले देखेका छन् ।

जल, जमीन, जंगल, वन्यजन्तु र स्थानीय संस्कतिको संरक्षण नभए सौराहाको साख नरहने उनको चिन्ता छ ।

नदी किनारमा वन्यजन्तुलाई असर पार्ने गतिविधि घटाउन थालिहाल्नु पर्ने उनले बताए । ‘राप्ती नदी र वनतिर फर्काएर बालिने ठुल्ठुला लाइटहरु थपिएको थपियै छन्’, रिजाल भन्छन्, ‘अब बडेमाका स्पिकर धन्काउने, लाइभ म्युजिक शो गर्ने र डान्सबार चलाउने तरीकाबारे नयाँ तरिकाले सोच्नु पर्‍यो, नत्र सौराहाको भविष्य नरहला ।’

उनले केही वर्षअघिसम्म गैंडाहरु राप्ती तरेर सौराहा बजार आउने गरेको सम्झिए । अहिले कृतिम हल्लाखल्लासहित मानव भीड बढेर गैंडाहरु देखिन छाडेको छ । ‘सबभन्दा चिन्ताको कुरा, यो बिषयमा संवेदनशील भएर सोच्ने जमात सौराहामा सानो हुँदै गएको छ’ उनी भन्छन् ।

बरु पर्यटकहरु यसमा बढी चिन्तित भएर सुझाव दिने गरेको उनले बताए । अहिले सौराहा जे बेच्न उद्धत छ, त्यसले चाँडै नै डुबाउने चिन्ता उनले प्रकट गरे । रिजाल भन्छन्, ‘कति पर्यटक आए भन्नेमा होइन, कस्तो महसुश गरेर फर्किए, फेरि आउने अठोट लिए कि लिएनन् भन्नेमा गम्भिर ध्यान जानु ढिलो भइसकेको छ ।’

बढ्दो भीडभाड र हल्ला

सौराहामा अहिले राप्ती किनारसम्मै कालोपत्रे सडक छ । थरिथरिका गाडी र मोटरसाइकल निर्धक्क हर्न बजाउँदै गुड्छन्, नदी किनारमै पार्किङ गर्छन् ।

किराना व्यवसायी संघका पूर्वअध्यक्ष रिजाल भने सौराहा बजारलाई ‘वाकिङ स्ट्रिट’का रुपमा विकास गर्नुपर्ने बताउँछन् । बजार बाहिर कुनै स्थानमा सवारी पार्किङ बनाएर बजारसम्म गोरु गाढा, टाँगा, साइकल वा पैदल आउने व्यवस्था गर्नुपर्ने उनको मत छ ।

तर, होटल व्यवसायीहरु यसमा पूर्ण सहमत छैनन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे होटलका गाडीहरुलाई न्यनतम् गतिमा आउन दिनेगरी ‘वाकिङ स्ट्रिट’ विकास गर्न सकिने बताउँछन् ।

सामुदायिक वनका अध्यक्षदेखि वडाध्यक्षसम्म संचालक रहेका होटलहरुको व्यवस्थापन न वातावरण सुहाउँदो छ न वन्यजन्तुमैत्री । होटलहरुले लाउड स्पीकरमा गीत बजाइरहेका हुन्छन् । सौराहामा हल्लाखल्लाप्रति प्रेम कति देखिन्छ भने ठेलामा ब्यापार गर्नेहरुले पनि साउण्ड सिस्टम घन्काइरहेका हुन्छन् । साँझ परेपछि होटलदेखि ठेलासम्मले झिलीमली बत्ती बालेर आफुलाई उत्कृष्ट देखाउँछन् ।

सौराहालाई व्यवस्थित गर्ने मापदण्ड बनेको छैन । होटल, बैंक, व्यवसायिक संस्था, पसल सबैले जभाभावी होडिङ र साईनबोर्ड झुण्डाएका छन् । मानौं, पर्यापर्यटनको केन्द्र होडिङ बोर्ड प्रतिस्पर्धामा छ ।

स्वदेशी पाहुनाको चापसँगै हर्न, होहल्ला र सरसफाई समस्या बढेको कतिपय होटल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार, धेरैजसो नेपाली पर्यटक चर्को आवाजको ‘म्युजिक’ मन पराउँछन् ।

रेष्टुरेन्ट तथा बार एसोसियन, नेपाल सौराहाका अध्यक्ष गोकर्ण गिरी ग्राहकको माग अनुरुप सेवा दिँदा आलोचना हुने अवस्था आएको बताउँछन् । ‘घुम्न आएका पाहुनाहरुले अतिरिक्त मनोरञ्जन खोज्दा थोरै प्रतिकुल गतिविधि बढेको मान्नुपर्छ’, उनी भन्छन्, ‘यसलाई व्यवस्थित गरेरै अगाडि बढ्ने हो ।’

लाइटहरु नराख्दा पाहुना नछिर्ने भएपछि होटलहरुले लाइटिङका साथै लाइभ म्युजिक र डान्स लगायतका सेवाहरुमा लगानी गरेको गिरी बताउँछन् ।

एकजना होटल व्यवसायी नेपाली पर्यटकको संस्कार र होटेलबीचको अस्वस्थ प्रतिस्पर्धाले यो अवस्था आएको बताए । ‘नेपालीहरु बढी हल्ला मन पराउँछन्, फोहोर गर्छन्,’ नाम उल्लेख गर्न नचाहने ती व्यवसायी भन्छन्, ‘नेपाली युवा सिधै भन्छन्– ठमेल जस्तो सेवा दिन पर्‍यो ।’

यसबाट हाललाई फाइदा भए पनि लामो समय यसरी नचल्ने उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे यो क्षेत्रलाई व्यवस्थित गर्न विभिन्न प्रयास भइरेको बताउँछन् । ‘सबै घरको रङमा एकरुपता ल्याउन छलफलमा छौं,’ उनले भने, ‘स्वागतद्वार बनाउँदछौं, व्यवस्थित बसपार्क बनाउन पहल गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!