किन कमजोर छन् नेपाली सिनेमा ? खोइ ओस्कार अवार्ड !

काठमाडौं, माघ १३ – पछिल्लो समय नेपाली चलचित्रको संख्या र गुणस्तर दुबै वृद्धि भएको छ । मौलिक कथावस्तु, उत्कृष्ट अभिनयलगायत धेरै कुराले नेपाली चलचित्रप्रति दर्शकको ध्यान तान्न नेपाली चलचित्र जगत सफल हुँदै गएको छ ।

पशुपतिप्रसाद, कालो पोथी, कबड्डी कबड्डी जस्ता सिनेमालाई नेपाली दर्शकले मात्रै होइन विभिन्न देशका दर्शकले पनि रुचाए र तारिफ गरेका छन् । आमा चलचित्रबाट अहिले सम्मको लगभग ६६ वर्षे इतिहास हेर्ने हो भने नेपाली चलचित्र जगतमा धेरै परिवर्तन आएको छ । तर ओस्कार अवार्ड अहिलेसम्म कुनै सिनेमाले पाउन सकेका छैनन्।

चलचित्रको उत्कृष्टता मापक त होइन नै तरपनि चलचित्र जगतको सर्वाधिक ठूलो र प्रतिष्ठित पुरस्कारका रुपमा ओस्कार अवार्डका लागि संसारभरका सिनेमा जगतले प्रयत्न गर्छन् र धेरैले प्राप्त गरिसकेका पनि छन् । यो मामिलामा पश्चिमा सिनेमाले बढी सफलता पाएको देखिन्छ ।

भर्खरै यस वर्षको ओस्कार अवार्डका लागि लाला ल्याण्ड नामको एउटै सिनेमा १४ विधामा मनोनित हुँदा एउटा नेपाली सिनेमा एउटा विधामा पनि मनोनयनमा परेको छैन । यो दुःखद कुरा हो । यस वर्ष प्रदर्शनमा आएको कालो पोथीले निकै नै प्रशंसा र केही अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्यो ।

त्यस्तै सेतो सूर्यले पनि तुलनात्मक रुपमा प्रशंसा र केही पुरस्कार पायो । धेरैले रुचाएको पशुपतिप्रसाद, कबड्डी कबड्डी जस्ता चलचित्रले पनि ओस्कार अवार्डमा कुनै स्थान पाएनन् । वर्षै पिच्छे नेपालबाट ओस्कारका लागि मनोनयन गरेर पठाएका प्राय सबै सिनेमा कहाँ पुग्छन् थाहै हुन्न । ती सिनेमाको नाम समेत उच्चारण गरिएको पाइँदैन।

आखिर कहाँ कमजोर छन् नेपाली सिनेमा ? कथाको हिसावमा वा प्राविधिक हिसावमा या अभिनयको हिसावमा ? यदि कमी कमाजोरी छन् भने किन सुधार गरेर एउटा पनि ओस्कार अवार्ड दिलाउन सकेका छैनन् नेपाली सिनेमाले ? यस बारे नेपालमा हुने दर्जनौँ अवार्ड कार्यक्रममा एउटै सिनेमाले दर्जनौँ अवार्ड बोकेर लगेका सिनेमाका निर्माता निर्देशकले के सोचेका होलान् ? रोएर या जुरीलाई मिलाएर अवार्ड पोल्टामा पार्नेहरुले एक पटक अन्तर्राष्ट्रिय स्तरको ओस्कार अवार्ड नेपाली सिनेमालाई दिलाएर स्याबास्सी खाने की ! अनि चलचित्र क्षेत्रको विकास र हितको लागि भनेर बसेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि लागि पर्ने की राजनीति मात्रै गरेर बस्ने ?

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!