प्रीति र प्रकाशको दोहोरी ब्याटलले तहल्का मच्चायो, आयो ट्रेन्डिङमा

काठमाडौँ — एक वर्षअघि गायक प्रकाश सपूतले प्रीति आलेसँगको युगल गायनमा दोहोरी ब्याटल ल्याए । दोहोरी शैलीको उक्त ब्याटलको नौलो स्वादले धेरैको ध्यान खिच्यो । जुन भिडियो युट्युबमा पाँच लाख ९० हजार पटक हेरिसकिएको छ ।

उनै प्रकाशले पछि नारायण रायमाझी र शान्तिश्री परियारसँगै गाएको ‘बोल माया…’ बाट मर्मस्पर्शी गीत पस्किए । दोहोरी ब्याटल युट्युबमा अपलोड गरेको एक सातापछि नै आएको ‘बोल माया…’ झनै भाइरल भयो । एक करोड बढी पटक यो गीत हेरिसकिएको छ । तीनै प्रकाशले यसै साता फेरि ‘दोहोरी ब्याटल २’ लिएर आए ।

युट्युबमा भिडियो अपलोड भएको चार दिन नबित्दै यसले २६ लाख बढी भ्युज पाइसकेको छ भने मंगलबार साँझसम्म युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा जमाएको छ । प्रीति र प्रकाशकै गायन रहेको उक्त दोहोरी ब्याटलको रचना तथा संगीत पनि प्रकाशकै रहेको छ । झन्डै आठ हजार चार सय कमेन्टस् पाएको उक्त गीतलाई अधिकांशले पृथक स्वाद भएकोले रुचिकर लागेको बताएका छन् । नवीन शाही प्रतिक्रियामा लेख्छन्, ‘कुनै बेला हारजितअनुसार भागेर बिहे गरेका कुरा पनि सुन्न पाइन्थ्यो । नेपालको दोहोरीको लागि नयाँ युगको सुरुवात भएको छ ।’ त्यसो त कतिपयले मौलिकतालाई भुलेर दोहोरी ब्याटलका नाममा जे पायो त्यही गरेको आरोप पनि लगाएका छन् ।

यस वर्षको मिस नेपाल प्रतिस्पर्धी छनोटका लागि गरिएको पहिलो अडिसनबाटै चर्चामा आयो । काठमाडौं अडिसनअन्तर्गत एक सहभागीलाई मेकअपका विषयमा निर्णायकमण्डलकी एक रचना गुरुङ शर्माले सोधेको प्रश्नलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध नै भयो ।

भिडियोको एक क्लिपमा गुरुङले ललितपुरकी अस्मिता महर्जनलाई मेकअपबिना सहभागिता जनाउनुलाई ‘अनादर’ गरेको र चस्मा लगाएर आएको टिप्पणीमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भडकिएका थिए । प्याराडाइम टीभीले उक्त अडिसनको साढे २२ मिनेट लामो भिडियो बिहीबार नै युट्युबमा अपलोड गरेको थियो ।

मंगलबार उक्त भिडियो युट्युबको नेपाल ट्रेन्डिङको दोस्रो नम्बरमा परेको छ । साढे छ लाख पटक भ्युज भइसकेको मिस नेपालको काठमाडौं अडिसनको उक्त भिडियोमा दुई हजार कमेन्टस् आएको छ । जसमा अधिकांश प्रतिक्रिया प्रतिस्पर्धी महर्जन र निर्णायक गुरुङबीचको संवादलाई लिएर नै गरिएका छन् । ट्रेन्डिङको तेस्रो नम्बरमा हिन्दी भिडियो गीत ‘वासते…’ आएको छ ।

टी सिरिजको च्यानलबाट शनिबार अपलोड गरिएको उक्त गीत १ करोड ६० लाखभन्दा बढी पटक हेरिसकिएको छ भने झन्डै ३० हजार कमेन्टस् आएका छन् । ध्वनि भानुशाली र निखिल डिसुजाको युगल गायन रहेको उक्त गीतको संगीत तनिष्क बाग्ची र रचना अरफात मेहमुदको रहेको छ । राधिका राव र विनय सप्रुले निर्देशन गरेको भिडियोमा सिद्धार्थ गुप्ता र अनुज सैनीले अभिनय गरेका छन् । युट्युबमा गीतसँगै भिडियोको पनि निकै तारिफ गरिएको छ ।

चौथो स्थानमा भने चेतनभ्लग्स च्यानलमार्फत राखिएको ‘कारपुल विथ अनु’ शीर्षकको भिडियो आएको छ । भिडियोमा चेतन र अनु दुई पूर्व दम्पतीबीचको लामो कुराकानी छ । अनुले पतिलाई छोडेर अर्कै युवकसँग गएपछि पीडामा रहेका चेतनको बारम्बारको बोलाहटपछि भेट्न आएकी हुन् । चेतनले अनुलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न मौका दिएका छन् ।

अनु आफ्नो निर्णयप्रति पछुतो नभएको बताइरहेकी छन् । भिडियो हेरेर तीन दिनभित्र पाँच हजार बढीले फ्रतिक्रिया व्यत्त गरेका छन् । जसमा अधिकांशले चेतनले ठूलो मन देखाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । तर केही कमेन्टमा भने व्यक्तिगत जीवनका कुरालाई भिडियो बनाएर युट्युबमा हालिएकोमा आपत्ति पनि जनाइएको छ ।

नेपाल ट्रेन्डिङको पाँचौं स्थानमा फिल्मी नेपालले राखेको एक भिडियो अन्तरवार्ता परेको छ । जसमा फिल्म ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापा र उनले सोही फिल्मबाट नायिकामा डेब्यु गराउन लागेकी छोरी सुहानाबीचको कुराकानी राखिएको छ । ‘झरनाले छोरीसँग डाहा लाग्छ भन्दा रिसाइन् सुहाना’ शीर्षक दिइएको उक्त भिडियो अन्तरवार्तालाई ७ लाखभन्दा बढी भ्युज आइसकेको छ भने ८ सय बढीले कमेन्टस् गरेका छन् ।

कुसुम विष्ट नामक ह्यान्डलबाट एक जनाको प्रतिक्रिया छ, ‘सुहानाको समझदारी देखेर साँच्चिकै एकदम मन पर्‍यो । हरेक छोरीमा हुनुपर्ने गुण छ । हामीले सिक्न जरुरी पनि छ ।’ ‘ए मेरो हजुर’ मा आफैं नायिका रहेकी झरनाले गतवर्ष यसै फिल्मको सिक्वेलमार्फत निर्देशनमा डेब्यु गरेकी थिइन् । यस पटक भने झरनाले छोरीलाई नायिकाका रूपमा ल्याएकी हुन् ।

कान्तिपुर संवाददाता

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!