१०२ बर्ष पुगेका राष्ट्रकविको टिप्स : कसरी रहने स्वस्थ ?

केही वर्षअघि एउटा हल्ला व्यापक फैलिएको थियो, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन ।’ यो खबर फैलिएसँगै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जलि’ दिनेहरुको ताँती लाग्यो । हल्ला मत्थर भएकै थिएन, अनलाइनखबरकर्मी लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरमा पुग्दा ।

रातभर फैलिएको हल्लाले उनी कति विचलित भए होलान् ? आफ्नै मृत्युको खबरले उनको मनोदशा कस्तो भयो होला ? हल्ला फैलाउनेहरूसँग उनलाई कति झोंक चलिरहेको होला ?

हाम्रा यी अनुमान विपरीत कविवर हार्दिकताका साथ हाँसे, ‘कस्तो आश्चर्य भो । आफैँ मरेको खबर सुन्न पाइयो ।’

उनमा न रिस थियो, न राग, न ग्लानी थियो, न क्रोध । शान्त, सौम्य र सकारात्मक थिए । सम्भवत मनोविकारबाट मुक्त भएकाले नै पो उनी यत्तिका तन्दुरुस्त र निरोगी भएका हुन् कि ?

किनभने मृत्युको खबर फैलिइरहँदा उनी सामान्य बिरामी समेत परेका थिएनन् । सबैकुरा ठिकठाक थियो । ज्यानलाई सञ्चो थियो । नेपालीको औसत आयु ७२ वर्ष । यो औसत आयु पार गरेर उनले अर्को वैशालु उमेर पनि पार गरे । अघिल्लो वर्ष मात्र राष्ट्रकवि घिमिरेले १ सय १ वर्षको जन्मदिन मनाए । नेपाली समाज मात्र होइन, विश्व मानव समाजकै लागि इर्ष्यालाग्दो उमेर-अवधि हो यो । सय वर्षभन्दा बढी बाँच्न पाउनु आफैँमा दुर्लभ सौभाग्य हो ।

यो सौभाग्य मिल्नुमा उनको सकरात्मक र सक्रिय चिन्तनले काम गरेको होला ? वा सन्तुलित र सौहार्दयुक्त जीवनशैलीले ? शंका गर्नै पर्दैन, यी दुवै कुराको समायोजनले राष्ट्रकवि घिमिरेलाई दीर्घजीवन दिएको हो ।

राष्ट्रकविको टिप्स : कसरी रहने स्वस्थ ?

सधैं सक्रिय रहनुहोस्

स्वस्थ्य जीवन बाँच्नका लागि सधैं सक्रिय हुनुहोस् । सक्रिय भएपछि शरीरमा स्फूर्ति आउँछ ।

सिर्जनशील हुनुहोस्

लामो आयु बाँच्न खुसी हुनुपर्छ । खुसी हुनका लागि सिर्जनशील हुनुपर्छ । आफूलाई कुनै न कुनै रचनात्मक काममा लगाउनुहोस् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा लेख्नैपर्छ भन्ने होइन । तपाईं जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ।

सकारात्मक सोच्नुहोस्

मेरो मृत्युको खबर फैलियो, तर म रिसाइन । मलाई नराम्रो पनि लागेन । किन रिसाउने ? किन आक्रमक हुने ? यसले त आफैलाई नष्ट गर्छ । शान्त रहनुपर्छ । अरूको नराम्रो कुरा नगरौं । हामीले अर्काको बारे नराम्रो सोचेर, नराम्रो काम गरेर कसलाई घाटा ? हामी आफैँलाई । मैले यो उमेरसम्म कसैलाई बिझाउने काम गरिन । बरु चुप लाग्छु ।

योग–व्यायाम गर्नुहोस्

म योग, व्यायाम, प्रणायाम सबै गर्छु । उहिले किशोर उमेरमै म झन्डै जोगी पनि भएँ । त्यहीबेला योग गर्न सिकेँ । अहिले पनि त्यही आसन गर्छु । हुन त भारतमा अहिले योग गुरुहरूले योग सिकाउन थालेका छन् । रामदेवले पनि योग सिकाइरहेका छन् । साह्रै राम्रो कुरा । योग गरियो भने शरीर निरोगी हुन्छ । दिमाग पनि राम्रो हुन्छ । म लेख्न बस्दा पनि बेलाबखत योग गर्छु । अलि अल्छी लाग्यो, जिउ सञ्चो नहोला जस्तो भयो भने योग गर्छु, ठिक हुन्छ ।

थोरै खानुहोस्

म एकैचोटी धेरै खाँदिन । थोरै थोरै खान्छु । तर, भोको पेट बस्दिन, खाइरहन्छु । मलाई दुध अनिवार्य चाहिन्छ । सागपात पनि मनपर्छ । मदिरापान गर्ने, रातभर बस्ने, मोजमस्ती गर्ने बानी नगर्नुहोस् । त्यसरी यो शरीरले कहिलेसम्म थेग्छ ?

मस्त सुत्नुहोस्

लेख्न बसेको बेला कहिलेकाहीँ अलि ढिलो हुन्छ, नभए म राति अबेरसम्म बस्दिन । बिहान ६ बजेतिर उठ्छु । ७ घण्टा त मस्त सुत्नैपर्छ । लेख्नुपर्ने छ भने म अलि धेरैसमय सुत्छु ।

प्रकृतिसँग रमाउनुहोस्

मनमा दिक्क लाग्यो, औडाह भयो भने बगैंचामा घुम्नुहोस् । रुखहरू हेर्नुहोस्, फूलहरू हेर्नुहोस्, चराचुरुङ्गी हेर्नुहोस्, आकाश हेर्नुहोस् । आहा ! प्रकृतिले कति राम्रो कुरा दिएको छ हामीलाई । मन प्रफुल्ल हुन्छ । कहिलेकाहीँ घुम्न पनि जानुहोस् ।

सफा हुनुहोस्

महँगो लुगा होइन, सादा लुगा लगाउनुहोस् । तर सफा हुनुपर्छ । सरसफाइमा ख्याल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!