फोहोर राजनीतिको सफाई यसरी गर्ने कि ?

यतिबेला काठमाडौं क्षेत्र नं १ को चुनावी चर्चा उत्कर्षमा छ । निकै नै रोमान्चक बन्दैछ यो क्षेत्र । चुनावी प्रचार–प्रसारदेखि लिएर यस क्षेत्रमा उम्मेदवारले दिने गरेको मन्तव्य गफको विषय बन्ने गर्दछ । चिया पसल, आफन्तसँगको भेटघाट तथा सामाजिक सञ्जालमा समेत क्षेत्र नं १ मा उठेका उम्मेदवारहरूको निकै नै चर्चा हुने गरेको छ । कसैले खुलेरै सर्मथन गरेका छन्, खुल्न नमिल्नेहरूले अप्रत्यक्ष रूपमा आफूले चुन्ने उम्मेदवारको छनक दिन थालिसकेका छन् । त्यसैले पनि, क्षेत्र नं १ मा चुनावी भिडन्त निकै नै रोमान्चक हुने देखिएको छ ।

– निर्जला कक्षपति

नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह श्रेष्ठ, पत्रकार रविन्द्र मिश्र र बामपन्थी उम्मेदवार अनिल शर्मा प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रका उम्मेदवार हुन् । वामपन्थी र अन्य साना दलका नेताहरूको उम्मेदवारी परे पनि प्रकाशमान सिंह र रविन्द्र मिश्रकै भिडन्त हुने देखिएको छ ।

स्वर्गीय गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह क्षेत्र नं १ मा पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा अत्यधिक मतले विजयी भइसकेका नेता हुन् । बिबिसीका पत्रकारको रूपमा चर्चा कमाएका पत्रकार रविन्द्र मिश्र र अनिल शर्मा क्षेत्र नं १ को बासिन्दाको लागि नौला अनुहार हुन् । तर पत्रकार रविन्द्र मिश्रलाई नचिन्ने कमै होलान् । रेडियोमा बोलेको सुनेर पनि उनीमाथिको क्रेज बढ्दो छ । पढेलेखेको, इमानको राजनीति र देश विकासका लागि नयाँ भिजन दिन र त्यसलाई लागू गर्न पनि सक्ने खुबी देखिएका युवा नेताको रूपमा पत्रकार रविन्द्र मिश्रलाई लिइएको छ । अन्य दलबाट उठ्नेहरूको खासै चर्चा छैन । हुन त क्षेत्र नं १ मा उठ्ने यी तीनै नेता प्रकाशमानसिंह, रविन्द्र मिश्र र अनिल शर्मा यहाँका स्थानीय भने होइनन् । अझ अनिल शर्मालाई त ‘टुरिष्ट नेता’कै संज्ञा दिनेहरू कम छैनन् ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कांग्रेस नेता प्रकाशमान सिंह लौहपुरुष गणेशमान श्रेष्ठ तथा कांग्रेस नेतृ मंगलादेवी सिंहका छोरा हुन् । बाबुको लिगेसीकै कारण उनलाई यो क्षेत्रका मतदाताले भोट दिए र दुइचोटी संविधानसभाको चुनावमा जिताएर छाडे । संविधानसभा २ को चुनावमा प्रचण्डपुत्री रेणुले उनीसँग नराम्ररी हार बेहोर्नुपर्यो । सिंहले १५१३८ मत ल्याएका थिए भने रेणु दाहालले ४ हजार ६४ मत मात्र पाएकी थिइन् । त्यसैले दोस्रो संविधानसभाको चुनावको मतलाई लिएर प्रकाशमान सिंह यतिबेला विजय मेरै सुनिश्चित छ भन्दै हिंडेका छन् । दुइटा संविधानसभाको चुनाव जिताएर पठाएका जनताको लागि मैले के गरेँ भन्ने आत्मसमीक्षा उनले पटक्कै गरेका छैनन् । दोस्रो संविधानसभाको चुनावका बेला जनताको घरदैंलो पुगेका उनी फेरि नमस्कार भन्दै जनताको घरदैंलोमा पुग्दैछन् । तर, दोस्रो संविधानसभाको चुनावपछि अर्थात् उनले चुनाव जितिसकेपछि भने उनी कहिल्यै जनताको घरदैंलो पुगेनन् । कार्यकर्ताले बोलाएको ठाउँमा अवश्य पुगे होलान् तर जनताकहाँ पुगेनन् । के नेता भनेको कार्यकर्ताको मात्र हो त ?

प्रकाशमानज्यू, तपाईलाई जिताएर पठाएपछि तपाईंको कामको मूल्यांकन जनताले गरेर बसेका हुन्छन् । सबै जनताको पहुँच तपाईंसमक्ष पुग्ने हैसियतको हँुदैन । तपाईंसम्म पुग्ने हैसियत भएकाले तपार्इंलाई सुझाव दिन पनि सक्लान्, नदिन पनि सक्छन् । तर तपार्इंले जनताको सेवा गर्ने मेरो मुख्य जिम्मेवारी हो भन्ने कुरा विर्सनु हुन्न । म तपार्इंलाई प्रश्न गर्न चाहन्छु, क्षेत्र नं १ बासिन्दाको समस्याको विषयलाई लिएर यहाँका बासिन्दासँग कति चोटी भेट्नुभयो ? यहाँका समस्याहरू संसदमा जोडतोडले कतिचोटी उठाउनुभयो ? क्षेत्र नं १ मा विकासका कति काम सम्पन्न भए ? तपाईंले के–के काम गराउन कस्तो–कस्तो भूमिका खेल्नुभयो ? यसको उत्तर तपाईंले अब भोट माग्न आउँदाखेरी क्षेत्र नं १ का जनतालाई दिनैपर्छ ।

काठमाडौं क्षेत्र नं १ का बासिन्दाका तपाइसँग धेरै गुनासा रहेका छन् । विगतमा अन्य क्षेत्रजस्तै यो क्षेत्र पनि धुवाँ धुलोबाट मुक्त रहन सकेन । लामो समयदेखि यस क्षेत्रमा बाटाघाटाहरू बन्न सकेनन् हिउँदमा दिनहुँ १ पाउ धुलो खानुपर्ने बाध्यता भयो । वर्षामा यहाँको सडक हिलाम्य भएपछि पुरानो बानेश्वरका बासिन्दाले सडकमै धान रोपेर विरोध पनि जनाए । त्यतिबेला टेलिभिजनमा तपाईंले पनि त्यो दृश्य देख्नु भो होला तर त्यतिबेला तपाईंको भूमिका प्रभावकारी देखिएन ।

जहाँसम्म भाषण गर्दा तपाईंले, आफू र आफ्नो बाबुले प्रजातन्त्रको प्राप्तिको लागि गरेको योगदानको चर्चा गर्दै हुनुहुन्छ, तपाईंको प्रतिद्वन्द्वी रविन्द्र मिश्रले यसको जवाफ यहाँलाई राम्रोसँग दिइसकेका छन् । हुन पनि आफनो बाबुले गरेको योगदानको ब्याज कहिलेसम्म खाने ?

भलै राजनीतिमा, प्रकाशमान सिंह श्रेष्ठ भन्दा रविन्द्र मिश्र निकै नै पछि आएका व्यक्ति हुन् । उनले गर्ने गरेको घरदैंलो कार्यक्रममा यस क्षेत्रका जनताले उनीप्रति देखाएकोे सद्भाव विश्वास र मायालाई हेर्दा उनी बिल्कुलै राजनीतिमा नयाँ खेलाडी होइनन् जस्तो लाग्छ । इमानको राजनीति गर्छु भनेर अगाडि बढेका मिश्र विद्धान त लाग्छन् नै अनुभवी अनि साँच्चीकै जनताको सेवा गर्ने भाव पनि त्यत्तिकै देखिन्छ । उनले बोल्ने गरेका हरेक शब्दहरू तर्कपूर्ण लाग्ने गर्छन् । आफ्नो देशका नागरिक आफ्नै देशमा फर्कने वातावरण बन्नु पर्छ भन्ने उनको यो उत्कट चाहाना व्यक्त हुँदा कुन चाहिं बाबु आमाको मन फुरुङ्ग नहोला र ? फेरि उनको योग्यता हेर्दा प्रश्न गर्ने ठाउँ देखिँदैन ।

‘यत्तिको दक्ष र सुझबुझ भएका व्यक्तिलाई यसपाली जिताउँदा के पो बिग्रिएला र !’ भन्ने भावमा यहाँका जनता देखिन्छन् । फेरि विवीसी रेडियोमा उनले गर्ने गरेको तार्किक प्रश्नले उनका यति धेरै प्रंशसक छन् की त्यो भनी साध्य छैन । कत्ति महिला दिदी बहिनी त उनलाई घरमा आएको देखेर आँखाबाट तुरुक्क आँसु पनि झारेका छन् । कत्तिले रविन्द्र मिश्रले जिते भने आफना छोराछोरी विदेशबाट घर फर्कने आश राखेका छन् । यो आश चुनावी मसला र चुनाव जित्ने रणनिती मात्र नबनोस् ।

रविन्द्र मिश्रको कुरा सुन्दा लोभलालच उनीमा देखिँंदैन । सम्पत्ति कमाउनु पर्ने बाध्यता उनीमा देखिँदैन । विगतको अनुभव हेर्ने हो भने चप्पल लगाएर हिँड्ने व्यक्ति, नेता बनिसकेपछि आफू सम्पन्न हुन भ्रष्टाचार गर्ने गरेको उदाहरण हामीकहाँ नै छ । मिश्रले कम्तीमा राज्यसँग लुट्ने छैनन् भन्नेमा यहाँका जनता विश्वस्त छन् । फेरि उनले सांसद भएपछि उनलाई प्राप्त हुने तलब त्यस क्षेत्रको विकास कार्यमा लगाउँछु भन्ने बाचा समेत गरेका छन् । बिबिसीको इज्जतिलो जागिर छाडेर नेपालको राजनीति फोहोर छ भन्ने थाहा पाउँदापाउँदै सबै कुरा त्यागेर किन राजनीतिमा छिर्थे त ? त्यसैले मिश्र, युवा र वृद्ध दुबैको लागि आशा भरोसाको केन्द्रको रुपमा हेरेका छन् क्षेत्र नं १ का बासिन्दाहरूका लागि ।

बाम गठबन्धनका उमेदवार अनिल शर्माको खासै चर्चा छैन यो क्षेत्रमा । जनाद्र्धन शर्माका भाइ भए पनि उनलाई खासै यहाँका जनताले चिनेका छैनन् । नचिनेकालाई भोट हाल्लान् कसरी ? यिनलाई यहाँका जनताले टुरिष्ट उम्मेदवारकै रुपमा लिएका छन् । क्षेत्र नं १ भनेको डेमोक्र्याटहरू भएको बलियो क्षेत्र पनि हो । त्यसैले त कांग्रेसका बागी उम्मेदवारका रुपमा उठेका कांग्रेसका पूराना एवं वौद्धिक नेता हरिबोल भट्टराई, २०४३ सालमा पञ्चायती चुनावमा प्रधानपञ्च बन्दाको क्षण स्मरण गर्दै स्वर्गीय गणेशमानले भनेका कुरा सम्झिन्छन्, गणेशमानले गएर लौरो उठाएको भरमा क्षेत्र नं १ का बासिन्दाले नेपाली कांग्रेसलाई भोट दिन्छन् भनेर गणेशमानले भनेका थिए रे हुन पनि त्यतिबेला पार्टीको बलियो आधार नबनेको चर्चा चले पनि हरिबोल भटराईले चुनाव जितेरै छाडे । त्यो बेलादेखि अहिलेसम्म यो क्षेत्रमा कांग्रेस नै बलियो देखिन्छ ।

जे होस् अहिले, देशलाई चाहिने भनेको भिजन भएको र देशको निम्ति केही गर्छु भन्ने भावना भएका यूवा नेताहरू नै हुन् । रविन्द्र मिश्र, रविन्द्र अधिकारी, गगन थापा, लालबाबु पण्डित, जनाद्र्धन शर्मा, विश्वप्रकाश जस्ता युवा नेता यो देशको फोहोरी राजनीति सफा गर्न र देशलाई समृद्धितर्फ अगाडि बढाउन संसदमा पुग्नु जरुरी छ र नेपाली जनताले यो कुरामा ध्यान दिनु पनि उत्तिकै आवश्यक छ । घटना र विचार

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!