साथीको नजरमा प्रकाश दाहालः पढेनन्, तर प्रविधिमा सधैं अब्बल

आइतबार बिहानै अनलाइनखबरमा प्रकाश दाहालको निधनको खबर सुन्दाखेरि सुरुमा त पत्याउनै सकिनँ । त्यसपछि मेरो दिमागमा उनीसँग बिताएका पुराना दिनहरु एकाएक ‘फ्ल्यास ब्याक’ का रुपमा आउन थाले । र, ‘पुराना दिन अब सम्झनामा मात्र हुने भए’ भनेर फेसबुकमा स्टाटस लेखें ।

मैले फेसबुकमा पोष्ट गरेको माथिको तस्वीर शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंमा खिचिएको हो, जसमा मभन्दा एकाध वर्षले दाजु प्रकाश दाहालले मलाई बोकेका छन् ।

दिल्लीका ती दिनहरु

प्रकाश दाहालसँग मेरो भेट ०६० सालतिर भारतको नयाँ दिल्लीमा भूमिगत बसाइका बेलामा भएको हो । म त्यसबेला डा. बाबुराम भट्टराईसँग थिएँ, उनी प्रचण्डसँग हेडक्वार्टरमा थिए ।

भारतमा हुँदा हामी दुईजना बेलाबेलामा सँगै फिल्म हेर्न हलमा जान्थ्यौं । नोयडामा हाम्रो बसाई नजिक–नजिकै थियो ।

कहिलेकाहिँ हामी नेपालीको ठेला अगाडि ममः खान भेला हुन्थ्यौं । सुरक्षाका कारण लुकेर मम खाने गथ्र्यौं । र, पैसा पनि आफू–आफू नै तिथ्र्यौं ।

प्रकाशबारे बाहिर जेजस्ता प्रचारहरु भएका छन्, भित्रीरुपमा उनी निकै मज्जाका रमाइला मान्छे थिए । साथीहरुसँग पनि राम्रोसँग घुलमिल हुने र रामाइलो गर्ने उनको बानी थियो ।

पढेनन्, तर प्रविधिमा सधैं अब्बल थिए

प्रकाशले औपचारिक रुपमा कलेजको अध्ययन गरेनन् । गर्न पाएनन् । बुबाआमा नै राजनीतिमा लागेर भूमिगत भएपछि चितवनको घरमा बस्ने अवस्था रहेन । कहिले काठमाडौं, कहिले दिल्ली त कहिले कहाँ गइरहनुपर्ने भएकाले एकै ठाउँ बसेर स्कुल कलेज जाने वातावरण नै पाएनन् उनले ।

तर, प्रकाश दाहाल प्राविधिक क्षेत्रमा भने अति नै रुचि राख्थे र जानकारी पनि राख्थे । सुरुमा पार्टीको हेक्वार्टरमा उनले कम्युटरसम्बन्धी काममा प्रचण्डलाई ठूलो साथ दिए । मैले पनि प्रकाशबाटै कम्युटर चलाउन सिकेको हुँ ।

मलाई हतियार चलाउन पनि प्रकाशले नै सिकाए हुन् । नयाँ नयाँ अत्याधुनिक हतियारहरु देखेपछि त्यो सिकिहाल्नुपर्ने उनको स्वभाव थियो । हरेक प्राविधिक विषयहरु उनी जान्न चाहन्थे र चाँडै सिकिहाल्थे ।

भूमिगत कालमा माओवादी नेताहरुले स्याटेलाइट फोन बोक्ने गरेका थिए । प्रकाशले नै मलाई त्यो फोन चलाउन सिकाएका हुन् ।

शान्ति प्रक्रियामा आएपछि र अहिलेसम्म आइपुग्दा प्रकाशले प्राविधिक ज्ञानमा आफ्नो रुची र दक्षता दुबै देखाए । प्रचण्डले कुनै कार्यक्रममा गरेको भाषण लाइभ गर्नलाई होस् या सामाजिक सञ्जालमार्फत् तत्काल मिडियासम्म त्यस्ता समाग्रीहरु पुर्‍याउन होस्, प्रकाश निकै स्मार्ट थिए ।

उनले गर्ने फेसबुक लाइभ धेरै पत्रकारहरुको सूचनाको स्रोत बन्ने गरेको थियो । यस्ता कुराहरु प्रकाशलाई अरुले सिकाउनै पर्दैनथ्यो, उनी आफैं सिक्थे ।

मेरो विचारमा प्रकाशको निधनले अब माओवादी अध्यक्ष प्रचण्डलाई, अनि माओवादी पार्टीलाई निकै ठूलो क्षति पुगेको छ । यो क्षति अपुरणनीय छ जस्तो लाग्छ । प्रकाशको अनुपस्थिति अब निकै खड्किनेछ ।

बाबुराम र प्रचण्डलाई मिलाउने चाहना

माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर भूमिगत कालमा पनि बढ्ने गथ्र्यो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा हामी दुबैजनाले सल्लाह गर्ने गर्थौं । हुन त हामी ठूला नेता हैनौं, तर हामी दुबैलाई मिलाउनुपर्छ भन्ने धारणा राख्थौं र मिलापको वातावरण बनाउने भनेर सल्लाह गथ्र्यौं ।

पछिल्लो समय बाबुराम र प्रचण्डवीचको अन्तरविरोध चुलिँदै गएपछि स्वाभाविकरुपमा हामीवीचमा पनि केही दुरी अवश्यै बढ्यो । तर, फेसबुकमा, च्याटमा हामीवीच कुरा हुँदा हामीले फेरि पनि दुईजनालाई मिलाउनुपर्छ है बन्ने गरेका थियौं ।

बाबुराम र प्रचण्ड एकै ठाउँमा रहनुपर्छ भन्ने हामी दुबैजनाको समान बुझाइ थियो ।

‘सोझा थिए, अरुले फसाए’

शान्ति प्रक्रियामा आएपछि बाहिरीरुपमा प्रकाश कतिपय विवादमा तानिए । तर, मैले उनलाई भित्रबाट चिन्दाखेरि उनी खराब मानिस थिएनन् । उनको मन सफा थियो । बरु उनी सोझा थिए ।

त्यही सोझोपनका कारण उनलाई बरबर बस्नेहरु बिगारेका मात्रै हुन् । तर, प्रकाश इमान्दार थिए भन्ने लाग्छ ।

प्रकाशको वैबाहिक जीवनमा उतार–चढाव आउनु दुःखद पक्ष थियो, तर खै कसरी त्यस्तो हुन गयो ? मेरो विचारमा उनी त्यस्ता खराब व्यक्ति थिएनन् । मलाई उनको मनपेट राम्रोसँग थाहा थियो ।

पछिल्लो समयमा प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालले निकै परिपक्व भूमिका खेलेको मैले महसुस गरेको छु । मलाई के लाग्थ्यो भने उनी निकै परिपक्व र पाको देखिन थालेका थिए ।

मेरा बुबा (तत्कालीन सभासद भक्तिप्रसाद पाण्डे) को निधन हुनुअघि उहाँको उपचारका बेलामा प्रकाश दाहालले हृदयदेखि नै सहयोग पुर्‍याएका थिए, म उनको त्यो गुण कहिल्यै भुल्न सक्दिनँ ।

अल विदा प्रकाश ।

(पाण्डे डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!