विशाल भट्टराई
काठमाडौं, ५ मंसिर – ‘हेल्लो ! यो सर्वोच्च अदालत हो ?’
सर्वोच्चका कर्मचारीले जवाफ फर्काउनै पाएका थिएनन् ।
फोन गर्नेले फेरि बोले – ‘हेल्लो यो सर्वोच्च अदालत हो ? त्यहाँ झुक्किएर बम राखिएछ ।’
बल्ल सर्वोच्चका कर्मचारीले बोल्ने मौका पाए ।
‘हो यो सर्वोच्च अदालत हो ।’
मध्यान्न १२ बजेर १० मिनेटमा सर्वोच्च अदालतमा फोन गर्ने ति व्यक्तिले अलिकति विस्तारमा भने – ‘अन्तै राख्ने बम झुक्किएर सर्वोच्च अदालतमा राखिएछ । साढे १२ बजेका लागि टाइम बम फिट गरिएको छ । होस गर्नुहोला है !’
फोन गर्नेले फोन गर्नुको कारण यसरी खुलाए ।
उक्त फोन सर्वोच्चका शाखा अधिकृत नितिज राइले उठाएका थिए ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको सचिवालयमा कार्यरत राईले त्यो फोन उठाएका थिए ।
भर्खरै १२ बज्दै थियो । ११ बजेतिर सर्वोच्चले दैनिक पेशी सूची निकाल्छ । १२ बजेतिर सर्वोच्च भिडभाडमा हुन्छ । किनकी त्यहाँ भर्खरै इजलासहरु बसेका हुन्छन् । वा इजलास वस्ने तयारी गरिएको हुन्छ ।
व्यस्त समयमा यस्तो फोन आएपछि राई अतालिए । अतालिएर पनि के गर्नु ? उनले आफ्ना सिनियरलाई यो कुरा बताउन ढिला गरेनन् ।
राइले तत्कालै सर्वोच्चका रजिष्टारलाई फोन बारे खबर गरे । रजिष्टारले खबर पाउना साथ त्यो खबर प्रधान न्यायाधीशलाई रिले गरे ।
प्रधानन्यायाधीशले सम्पूर्ण इजलासहरु स्थगित गरेर प्राङगणमा झर्न सबै कर्मचारीलाई आग्रह गरे । अरु कर्मचारीलाई पनि भूइँमा आउन आग्रह गरियो ।
अहिले सर्वोच्चको प्रांगणमा कर्मचारी तथा अधिवक्ताहरु तितरबितर भएका छन् । साढे १२ बजे बम पड्किने सूचना आएको भएपनि बम चाहिँ पड्किएको छैन । रजिष्टारले उक्त कुराको जानकारी सर्वोच्चमै रहेको प्रहरीलाई गराएपछि प्रहरीले अहिले बम खोज्ने काम गरिरहेको छ ।
सर्वोच्च अदालतमा रहेको प्रहरी युनिटले सुँघेर बम पत्ता लगाउने दुईवटा कुकुर परिचालन गरी बम खोज्ने कोशिश गरिरहेको छ ।
बम अझै भेटिएको छैन । बमको बारेमा जानकारी गराउने व्यक्तिको परिचय समेत खुल्न सकेको छैन । उनले आफू विप्लव समूहको कार्यकर्ता भएको चाहिँ फोनमा बताएको सर्वोच्च अदालतले जनाएको छ ।
राइलाई फोन आउँदै गर्दा यस्तै प्रकृतिका थप दुई वटा फोन सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीलाई पनि आएका थिए ।
फोन आएपछि सर्वोच्चले सत्य तथ्य पत्ता लगाउने कोशिश गरिरहेको छ । अहिले इजलासहरु स्थगित गरिएको छ । सबै कर्मचारीहरु समेत प्रांगणमा निस्किएका छन् । Lokantar
प्रतिक्रिया दिनुहोस्