अमेरिकी डिभीले मोक्तानलाई यसरी पुर्‍यायो प्रहरी हिरासतमा

काठमाडौँ : अमेरिका जाने सपना बोकेर सिन्धुली तीनपाटन ४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानले अघिल्लो वर्ष डिभी चिट्ठा भरे । मोक्तानको भाग्य एकाएक चम्कियो, चिट्ठा पर्‍यो । लाखौँ आवेदनबाट छानिएका मोक्तानको खुसी एकाएक दुःखमा परिणत भयो। कम्तिमा प्लस टु उत्तीर्णले मात्र डिभी भर्न पाउने नियम छ । तर, भर्दाखेरी प्रमाणपत्र नमागिने हुनाले जसले पनि भरेका हुन सक्छन् । मोक्तानले त्यसै गरेका थिए । उनीसँग हातमा प्लस टु पासको कुनै सर्टिफिकेट थिएन ।

मोक्तानलाई भाग्यले साथ दिएपनि उनको कर्म र विद्याले भने साथ दिएको थिएन । त्यसपछि अमेरिका जाने सपनाले मोक्तानलाई गलत बाटोतर्फ डोर्यामउन थाल्यो । मोक्तानले नक्कली सर्टिफिकेट बनाउने निर्णय गरे । यसै क्रममा उनको भेट काभ्रेका ३० वर्षीय देवराज योञ्जनसँग भयो । योञ्जनले ३ लाख ५० हजार रुपैयाँ दिए प्लस टु लेभलका सबै सर्टिफिकेट बनाइदिने वचन दिए । अमेरिका जाने सपना देखिरहेका मोक्तान मागेको रकम तिर्न तयार भए ।

योञ्जनले सर्टिफिकेट बनाउने जिम्मा सेक्युरिटी लाइफ कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठले सर्टिफिकेट बनाए बापत ४५ हजार मागे । अनिलले पनि सर्टिफिकेट आफै बनाएनन् । उनले ३० हजार दिएर सत्य विनायक कम्युनिकेशनका संचालक विशालजंग शाहीलाई दिए । १८ हजार रुपैयाँ आफैसँग राखेर विशालले यो जिम्मेवारी सुरेश शाहीलाई सुम्पिएका थिए । सुरेशले ५ हजार ५ सयमा सर्टिफिकेट बनाएर रुद्रबहादुर मोक्तानलाई बुझाए ।

मोक्तानको हातमा प्लस टु सर्टिफिकेट हात पर्‍यो । उनको अमेरिका जाने सपना पूरा हुँदै थियो । उनले अमेरिकी दूतावासमा कागजपत्र बुझाए । केही समयमा उनको हातमा डिभीको सेकेन्ड लेटर समेत हात पर्‍यो । मोक्तान अमेरिका जाने सपना बुन्दै थिए। सोमबार एक्कासी उनी प्रहरीको फन्दामा परे । महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तेको अभियोगमा मोक्तानसहित ८ जनालाई पक्राउ गरेको हो ।

सरकारी कागज कीर्ते गरेको अभियोगमा गिरोहलाई नै नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएपी दिवेश लोहनीले बताए । मोक्तानसँगै अमेरिकाको डिभी परेर प्लस टुको नक्कली सर्टिफिकेट बनाएको अभियोगमा ताप्लेजुङका ३८ वर्षीय भवानीप्रसाद भट्टराई पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!