सुरक्षा गर्न खटिएकी महिला प्रहरीमाथि सईले गरे कुटपिट

सप्तरी, मंसिर ६ – शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ । अन्यायमा परेका नागरिकलाई न्याय दिलाउने, कानुनी उपचारका लागि अध्ययन–अनुसन्धान गर्ने र शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम प्रहरीले नै गर्छ ।

तर सप्तरीमा भने एउटा अनौठो घटना सार्वजनिक भएको छ । नागरिकको सुरक्षा गर्न खटिएकी एक महिला प्रहरी जवान आफ्नै हाकिमबाट असुरक्षित हुनुभएको छ । लहान स्थायी घर भई ईलाका प्रहरी कार्यालय पातोमा कार्यरत अमृता थापा (अधिकारी) लाई उहाँका हाकिम घनश्याम रायले कुटपिट गरेका छन् ।

गएको शनिबार (मंसिर २ गते) बेलुका ६–९ को ड्युटी बसेकी अधिकारीलाई एकाएक सई रायले दुर्व्यवहार गर्दै कुटपिट गरेको प्रहरी स्रोतले नै जानकारी दिएको छ । आफूमाथि हाकिमले कुटपिट गरेपछि अधिकारीले आफ्ना श्रीमान दुर्योधन अधिकारीलाई बोलाउनुभयो तर श्रीमानकै अगाडि पनि रायले उहाँलाई दुर्व्यवहार गर्न नछोडेको श्रोतले जनाएको छ । दुर्योधन पनि ईलाका प्रहरी कार्यालय पातोमै कार्यरत छन् ।

अधिकारी अहिले सांगठनिक रुपमै न्याय खोज्नका लागि जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हुनुहुन्छ । प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले उहाँलाई न्याय दिलाउने आश्वासन पनि दिएका छन् । अहिले सई रायलाई जिल्ला प्रहरी कार्यालयमै झिकाइएको छ । तर घटनाको चार दिन बितिसक्दा पनि अधिकारीले न्याय पाउनुभएको छैन । डिएसपी ध्रुबकुमार श्रेष्ठले घटनालाई पुष्टि गर्दै पीडित महिला प्रहरीको उजुरीका आधारमा दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमै झिकाएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!