५० करोड लागतमा खुल्यो कोहलपुरमा तारे होटल

नेपालगन्ज : मध्य तथा सुदूरपश्चिमको ‘ट्रान्जिट प्वाइन्ट’ कोहलपुरमा ५० करोड रुपैयाँ लागतमा चारतारे अत्याधुनिक होटल सञ्चालनमा आएको छ। होटल व्यवसायी देवानन्द अर्यालले चारतारे होटल सेन्ट्रल प्लाजा स्थापना गरी सञ्चालनमा ल्याएका हुन्। निर्माण सुरु भएको २६ महिनामा होटल सञ्चालनमा आएको हो। निर्माण जारी रहे पनि सञ्चालनमा ल्याइएको उनले बताए। कोहलपुरमा पहिलो चारतारे होटल सञ्चालनमा आएको होटलका प्रबन्ध निर्देशकसमेत रहेका अर्यालले बताए। होटलमा पाँचवटा भवनमा ७५ वटा कोठा छन्। यसमा सुइट र डिलक्स गरी चार किसिमका कोठा छन्। होटलमा एकएकवटा प्रेसिडेन्सियल र एक्जुकेटिभ सुइट रुम, दुई सुइट रुम, १९ सुपर डिलक्स तथा ५० वटा डिलक्स रुम छन्। २२ कठ्ठा जग्गामा होटल सञ्चालन गरिएको उनले जानकारी दिए।

होटलले पर्यटकलाई विशेष प्याकेजमा रारा, मानसरोवर, स्वर्गद्वारी, खप्तडलगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम ल्याएको छ।

होटलका सबै कोठामा स्वच्छ हावा र घाम पर्ने अर्यालले बताए। ‘होटलमा आउने ग्राहकलाई नयाँपन दिएका छौँ, होटल वातावरणमैत्री पनि छ’, उनले दाबी गरे। होटलका सबै कोठा, शौचालय, डाइनिङ रुम एवं अपांगमैत्री रहेको उनको भनाइ छ। मानसरोवर, स्वर्गद्वारी, रारा, से-फोक्सुन्डोलगायत पोखरा, काठमाडौँका पर्यटकीयस्थलको भ्रमणका लागि आउने भारतीय र पश्चिमी पर्यटकलाई दृष्टिगत गरी चारतारे होटल सञ्चालनमा ल्याइएको उनले बताए। प्रदेश नं ५, ६ र ७ का २३ जिल्लाको ट्रान्जिट प्वाइन्ट भएको कोहलपुरमा होटलको सम्भावना देखेर सञ्चालन गरिएको हो। ‘कोहलपुर २३ जिल्लाको ट्रान्जिट प्वाइन्ट हो, यहाँ आएर पर्यटकले कम्तीमा एक रात बिताऊन् भन्ने हाम्रो उद्देश्य हो’, अर्यालले भने।

कुल ७५ वटा कोठामध्ये सुरुआतमा ४९ वटा बेडरुम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। उनका अनुसार दुईवटा बेड भएको डिलक्स रुमको प्रतिदिन भाडा पाँच हजार पाँच सय रुपैयाँ तोकिएको छ। पाँच हजार पाँच सय तिरेपछि एक दिनको खाना, स्वीमिङ र जिमको सुविधा प्रदान गरिएको छ। ‘कोठा बुकिङ गर्नेलाई हाल २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, उनले भने।

होटलले विवाह पार्टी, सेमिनार र बैठकका लागि आवश्यक पर्ने हलकोसमेत व्यवस्था गरेको छ। होटलमा सात सय ५० जना अट्ने ब्याङवेट हल, ८० जनाका लागि सेमिनार र ३० जना अट्ने बैठक हल छन्। हरेक कोठा र ब्याङवेट हलमा मध्य र सुदूरपश्चिम क्षेत्रमा नभएको सुविधा रहेको अर्यालले बताए। ‘लाइट, आवाज र पूरै हललाई पुग्ने एसीको व्यवस्था मिलाइएको छ’, अर्यालले भने। उक्त होटलमा एक सय १० जनाले रोजगारी पाउनेछन्।

विदेशी पर्यटकलाई विशेष प्याकेजमा रारा, मानसरोवर, स्वर्गद्वारी, खप्तडलगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको होटल सेन्ट्रल प्लाजाले जानकारी दिएको छ। पर्यटकलाई पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको अवलोकन गराई पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने सञ्चालक सदस्य डोलराज अर्यालले बताए।

पर्यटकलाई र्‍याफ्टिङ, फिसिङ, निकुञ्जमा पैदलयात्रालगायतको सुविधा प्रदान गर्ने उनले जनाए। पश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रको सम्भावना धेरै भए पनि ओझेलमा परेको र प्रचारप्रसार गर्न सके पर्यटक आकर्षित गर्न सकिने उनले बताए। ‘पश्चिम क्षेत्रमा रहेका कर्णाली, भेरी र राप्तीमा र्‍याफ्टिङका साथै फिसिङ गर्ने प्रशस्त ठाउँ छन्। बर्दिया र बाँके निकुञ्जमा पैदलयात्राको सुविधा दिन सके पर्यटक तान्न सकिन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!