हेलिकोप्टरबाट निर्वाचनका कर्मचारी परिचालन

टेक शाही / डोल्पा

माथिल्लो डोल्पामा भौगोलिक रूपमा कठिन भएको र चिसो अत्यधिक बढेका कारण मतदान केन्द्रमा जाने कर्मचारीहरूलाई नेपाली सेनाका हेलिकोप्टरबाट मतदान केन्द्रमा लगिएको छ । सुरक्षाका हिसाबले सो क्षेत्र अति संवेदनशील मानिएकाले कर्मचारी र सुरक्षाकर्मी हेलिकोप्टरबाट पठाउन लागेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए । उच्च हिमाली भेग र पैदल यात्रा कठिन भएकाले नेपाली सेनाको हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

यसैगरी डोल्पाका ६६ वटा मतदान केन्द्रमा खटिने ४ सय ३० जना कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

भौगोलिक रूपमा माथिल्लो डोल्पा, मध्य र तल्लो डोल्पा गरी तीन क्षेत्रमा विभाजन गरिएको यस जिल्लामा मतदान अधिकृतहरू भने निर्वाचन आयोगको निर्देशनअनुसार गोलाप्रथाबाट छनोट गरिएको मुख्य निर्वाचन अधिकृत रमेशकुमार ज्ञवालीले जानकारी दिए । माथिल्लो डोल्पा भौगोलिक हिसाबले कठिन भएको र लेक लाग्ने भएकाले कर्मचारी खटनपटनमा स्थानीयलाई पहिलो प्राथमिकता दिइएको उनले बताए ।

माथिल्लो डोल्पामा स्थानीय पहिलो प्राथमिकतामा परेका छन् । त्यसैगरी माथिल्लो डोल्पा जान चाहने कर्मचारीलाई स्वास्थ्यको अवस्था बुझेर सहमतिमा पठाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार महिला र अन्य स्वास्थ्यमा समस्या भएका कर्मचारीलाई माथिल्लो डोल्पा नपठाएको र ४० वर्षभन्दा माथिका कुनै पनि कर्मचारीहरू माथिल्लो डोल्पामा नराखिएको पनि बताए ।

यस्तै माथिल्लो डोल्पाका तीनवटा गाउँपालिकामा नेपाली सेनाको टोली पुगिसकेको सेनाले जानकारी दिएको छ । त्यसका साथै तल्लो डोल्पाका सबै क्षेत्रमा पनि नेपाली सेना परिचालन भइसकेको जनाइएको छ । ८ मंसिरसम्म भए पनि सबै कर्मचारी मतदान केन्द्रमा प्ुग्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

३३ मतदान केन्द्र अति संवेदनशील
डोल्पा / रास– डोल्पा जिल्लाका ३३ वटा मतदान केन्द्र अति संवेदनशील छन् । त्यसैगरी १८ वटा संवेदनशील र १५ वटा मतदान केन्द्र सामान्य वर्गमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । भौगोलिक र सुरक्षाको हिसाबमा डोल्पाका ३३ वटा मतदान केन्द्र अति संवदेनशील क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृत रमेशकुमार ज्ञवालीले बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान हुन पाँच दिन बाँकी रहँदा डोल्पा जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । मतदान हुने दिन नजिक आएकाले मतदाताले सहज रूपमा मतदान गर्ने वातावरण बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ ।

जिल्लाको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समूहले गर्ने निर्वाचनविरोधी गतिविधिहरूप्रति पूर्वसतर्कता अपनाई जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । प्रजिअ आचार्यका अनुसार जिल्लाका तीनवटा मुख्य नाकाहरू त्रिवेणी, चौरीकोट र होर्तखोलामा विशेष जाँच सुरु गरिएको बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिले सुरक्षामा कुनै पनि कसुर नरहनेगरी सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय अनुसन्धान अधिकृत सुमनकुमार भण्डारीले बताए ।

जिल्लाको तल्लो डोल्पा र काइके गाउँपालिकामा विशेष सुरक्षा व्यवस्था मिलाइएको समेत जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुसार जिल्लाका सबै मतदान केन्द्रमा तीनवटा घेरामा सुरक्षा व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए । आगामी निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!