फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ

तेह्रथुम/ पूर्वको पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आआफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।

पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको वसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यसअघि नै स्तम्भ बनिसकेका छन् । भेडेटारमा शंख, हिलेमा तोङ्वा, लालीगुराँस नगरपालिकाको वसन्तपुर गुराँसको रुख, लसुनेमा लसुनको पोटी र शनिश्चरेमा यलम्बर, आठराई गाउँपालिकाको संक्रान्तिबजारमा फाल्गुनन्दको स्तम्भ बनेको छ । सदरमुकाम म्याङलुङमा पनि पहिचान झल्काउने ‘बिरालो’को स्तम्भ बन्दैछ ।

धनकुटाको सिधुवा बजारमा बन्दागोभीको स्तम्भ बनाउने तयारी छ । विभिन्न अवसरमा यी बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे अनुमान लगाउन सहज होस् र उनीहरुलाई आकर्षण पनि गरोस् भन्ने उद्देश्यले यस्ता स्तम्भ निर्माण भइरहेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीयवासीले यस्तो फरक शैली र जुक्ति अपनाएका हुन् ।

पूर्वी तराईबाट उक्लिदा पहाडको पहिलो गन्तव्यका रुपमा रहेको भेडेटारमा स्थानीयले शंखको आकृति ठड्याएका छन् । कोदोबाट बनाइएको स्वादिलो तोङवाका कारण कहलिएको हिले बजारमा स्थानीय सहयात्रा युवा क्लबले रु नौ लाखभन्दा बढी खर्च गरेर देशकै ठूलो र कलात्मक तोङवाको स्तम्भ निर्माण गरेको छ । यही तोङवाका कारण बाहिरबाट आउनेले हिलेलाई तोङवाको शहरका नामले चिन्न थालेको धनकुटा जिल्ला विकास समितिका पूर्वसभापति धर्म पौडेल बताउनुहुन्छ ।

बसपार्कमा निर्माण गरिएको २२ फिट अग्लो कलात्मक तोङवा हिले बजारमा पहिलोपटक आउनेका लागि आकर्षणको वस्तु बन्छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले पनि यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ । स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर रमाउने गरेका निर्माण समिति सचिव निरोज खड्काले बताउनुभयो ।

स्थानीयवासीले रकम संकलन गरी रु १० लाखमा स्तम्भ बनाएका हुन् । गुराँस भूमि यहीबाट शुरु भएको झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको खड्काको भनाइ छ ।

“वसन्तपुरलाई गुराँसको शहर बनाउने हाम्रो लक्ष्य हो,” लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भन्नुभयो । गुराँस पर्यटक आकर्षित गर्ने यस क्षेत्रको प्रमुख माध्यम भएकाले नगरपालिकाले चालु आवभित्रै वसन्तपुर, चित्रे, डाँडाखर्क, लसुनेलगायतका सडक दायाँबायाँ बिरुवा रोप्ने योजना बनाएको उहाँले बताउनुभयो ।

पर्यटक आकर्षित गर्नकै लागि वसन्तपुरवासीले केही माथिको तीनजुरे पहाड फेदीमा रहेका ढुंगालाई कुँदेर बाघ, कछुवा, गोही, भ्यागुतो, छेपारो, मृग, सर्प, हिमाली याक, चौँरीगाई, हिमाल, सीताले लगाएको साडी, जाँतोलगायत बनाइएको छ । रु २५ लाखभन्दा बढी खर्च गरेर यी वस्तु निर्माण गर्नुको प्रमुख उद्देश्य पर्यटक आकर्षित गर्नुरहेको स्थानीयवासी बताउँछन् ।

लालीगुराँस नगरपालिकाको लसुने बजारको बीच भागमै लसुनको पोटी आकारको आकर्षक स्तम्भ बनाइएको छ । सो बजारमा आइपुग्ने जो कोही पनि लसुनको पोटीसँग तस्वीर खिचाउन लालायित हुन्छन् । स्थानीय किसानले लसुनखेती लगाएर बेच्न प्रयोग गर्ने क्षेत्रमा बजार विस्तार गरिएपछि उक्त बजारको नामनै लसुने राखिएको थियो । त्यही पहिचान झल्काउने र पर्यटक आकर्षित गर्ने ध्येयले स्तम्भ निर्माण गरिएको निर्माण समितिका अध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।

यस्तै कोशी राजमार्गको अन्तिम बिन्दुका रुपमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङमा पनि पहिचान झल्काउन बिरालो स्तम्भ निर्माण गरिँदैछ । ‘म्याङलुङ’ शब्द लिम्बू भाषाबाट आएको र सोको ऐतिहासिक शाब्दिक अर्थ बिरालोसँग जोडिएकाले बिरालो स्तम्भ नै निर्माण गरेर पर्यटक आकर्षित गर्न थालिएको किराँत याक्थुङ चूम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले बताउनुभयो । स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

धनकुटाको सिधुवा बजारमा पनि बन्दागोभी आकारको स्तम्भ निर्माण हुँदैछ । बजारमा बन्दागोभीको खपत बढी हुने र यसको संकलनका साथै निकासी हुने मुख्य बजारको रुपमा पहिचान बनाएकाले स्तम्भ बनाउन लागिएको हो । यस्ता स्तम्भ बनेपछि ती बजारको पहिचान त्यहाँ आइपुग्ने जो कोहीले पनि छर्लङ्ग हुने गरी थाहा पाएर मात्रै फिर्ने र आकर्षित हुने बुझाइ छ । Purbeli news

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!